आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको प्लेयर अफ द म्याच न्युजिल्यान्डका फास्ट बलर कायल जेमीसन चुनिएका छन्।
भारतलाई ८ विकेटले पराजित गर्दै केन विलियमसन कप्तानीको न्युजिल्यान्डले पहिलो आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप जित्न सफल भएको हो।
प्लेयर अफ द म्याच चुनिएका जेमीसनले टेस्टको पहिलो इनिंग्समा ५ विकेट तथा दोश्रो इनिंग्समा २ विकेट गरि कुल ७ विकेट लिंदै जितमा अहम योगदान दिए।
भारतलाई पहिलो इनिंग्समा २१७ रनमा समेट्ने क्रममा दायाँ हाते पेसरले २२ ओभर बलिंग गर्दै १२ मेडन ओभर सहित ३१ रन खर्चेर ५ विकेट लिएका थिए। त्यस क्रममा उनले रोहित शर्मा, बिराट कोहली, रिशभ पन्तको विकेट लिएका थिए। यस्तै दोस्रो इनिंग्समा उनले चेतेश्वर पुजारा र बिराट कोहलीको महत्वपूर्ण विकेट लिन सफल रहे त्यस क्रममा उनले २४ ओभरमा १० मेडन ओभर गर्दै ३० रन खर्चेर २ विकेट लिए।
प्लेयर अफ द म्याच चुनिएपछि प्रतिक्रिया दिने क्रममा जेमीसनले बिराट कोहलीको दुई पटक विकेट लिंदा निकै खुसि महसुस भएको प्रतिक्रिया दिए –
“बिराट विश्वस्तरीय खेलाडी हुन् जसको बिरुद्ध रोयल च्यालेन्जर्स बैंगलोरमा अनुभव बटुलेको थिए। दुई पटक टेस्टमा उनको विकेट लिनु गजबको कुरा हो।”
“निकै खुसि महसुस गरिरहेको छु यो ठूलो पल हो। हामीलाई थाहा थियो दिनको पहिलो घण्टाको खेल महत्वपूर्ण हुनेछ भन्ने। हामीले बलहरु राम्रो ठाउँमा फाल्यौं। मैले राम्रो गर्नुको पछाडी अन्य बलरहरुको समेत हात थियो। टिमको लागि राम्रो गर्न पाउनु खुसिको कुरा हो।” जेमीसनले बताए।
