टेस्ट राष्ट्र जिम्बाब्वेका स्टार क्रिकेटर सिकन्दर राजाले बिराटनगर वारियर्सबाट यो सिजन एभरेस्ट प्रिमीयर लिग ( ईपीएल ) खेल्ने भएका छन्।
बिराटनगरले टिमको पहिलो विदेशी खेलाडीको रुपमा राजालाई घोषणा गरेको हो। गत सिजन ईपीएलमा पनि सिकन्दर राजा काठमाडौँ किंग्स एघारको लागि खेल्ने पक्का भएको थियो तर पछि उनले व्यक्तिगत कारण देखाउदै लिगबाट नाम फिर्ता लिएका थिए।
असोज ९ गते ( सेप्टेम्बर २५ तारिख ) देखि सुरु हुने चौथो संस्करणको ईपीएलमा अनुबन्धित हुने राजा टेस्ट रास्ट्रको प्रतिनिधित्व गरिसकेका छैठौं खेलाडी हुन्। यस अघि काठमाडौँ किंग्स एघारले पाकिस्तानी स्टार खेलाडी शाहिद अफ्रिदी, भैरहवा ग्ल्याडीएटर्सले पूर्व श्रीलंकन कप्तान दिनेश चण्डीमाल, चितवन टाइगर्सले अफगानीस्तानका मोहम्मद शाहजाद, पाकिस्तानका डानिश अजिज र श्रीलंकाका सेक्कुगे प्रशन्नालाई टिममा अनुबन्ध गरिसकेको छ। चितवनले मलेसियाका भिरनदिप सिंह तथा ललितपुर पेट्रिएट्सले इंग्ल्यान्डका काउन्टी क्रिकेटर एलेक्स ब्लेकलाई अनुबन्ध गरेको छ।
राजाले जिम्बाब्वेमा आयोजित २०१८ को एकदिवसीय विश्वकप छनोटमा नेपाल बिरुद्ध मात्र ६६ बलमा १२३ रन बनाउनु बाहेक खेलमा ३ विकेट समेत लिएका थिए। उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो।
पाकिस्तानमा जन्मिएका राजाको परिवार सन् २००२ देखि जिम्बाबेमा बसाइँ सरेको थियो। ३५ वर्षीय अलराउण्डरले २०१३ मा जिम्बाबेको लागि तिन वटै फर्म्याटमा डेब्यु गरेका थिए। हालसम्म राजाले १७ टेस्ट, १०५ एकदिवसीय अन्तर्राष्ट्रिय र ४२ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा जिम्बाब्वेको प्रतिनिधित्व गरेका छन्। यस क्रममा उनले टेस्टमा १ शतक र ८ अर्धशतक मद्दतले १,१८७ रन, एकदिवसीयमा ३ शतक र १७ अर्धशतक मद्दतले २,९४३ रन तथा टि-ट्वान्टीमा १ अर्धशतक मद्दतले ५२४ रन बनाएका छन्। यस्तै अफस्पिन बलिंग गर्ने उनले टेस्टमा ३४, एकदिवसीयमा ६२ तथा टि-२०मा १३ विकेट आफ्नो नाम गरेका छन्।
राजाले आफ्नो डेब्यु टेस्टमै पाकिस्तान बिरुद्ध ६० रन बनाएका थिए। करीयरको चौथो एकदिवसीयमा उनले भारत बिरुद्ध ८२ रन बनाउदै आफुलाई सुरुवात देखि टिममा पक्का गरेका थिए। २०१३ मा बंगलादेश बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्युमा १७ वर्षको उमेरमा अर्धशतक बनाउदै उनि तत्कालिन समयमा अर्धशतक बनाउने कान्छा ब्याट्सम्यान बनेका थिए।
सिकन्दर राजाको नाममा एकदिवसीय अन्तर्राष्ट्रियको अनौठो रेकर्ड पनि रहेको छ। उनि इतिहासमै ५० भन्दा बढी इनिंग्समा ब्याटिंग गर्दा मात्र एक पटक सुन्यमा आउट भएका छन् जुन विश्वमै दोश्रो कम हो। यो रेकर्डमा सबैभन्दा अघि अस्ट्रेलिया र दक्षिण अफ्रीकाको लागि खेलेका केप्लर वेलेल्स रहेका छन् जसले १०५ इनिंग्समा ब्याटिंग गर्दा एक पटक पनि सुन्यमा आउट भएका थिएनन्। पुरा सुची हेर्नुहोस्
बिराटनगरको गत सिजन कप्तानी पारस खड्काले गरेका थिए जसले हालसम्म पनि ईपीएल खेल्ने या नखेल्ने बारे अधिकारिक रुपमा बताएका छैनन्।
२०१७ ईपीएलको विजेता टिम बिराटनगर वारियर्सको ईपीएलको गत सिजन खराब रहेको थियो जसले ५ खेल मध्ये २ खेलमा जित ३ खेलमा हार बेहोर्दै अंकतालिकाको पाँचौ स्थानमा रहँदै प्लेअफ पुग्न असफल रहेको थियो।
बिराटनगर वारियर्स टिम : पारस खड्का ( कप्तान ), करन केसी, बसन्त रेग्मी , आसिफ शेख, अनिल शाह, सुमित महर्जन, रामनरेश गिरि, हरि बहादुर चौहान, अनिल खरेल, बिक्रम भुसाल, सौरभ खनाल, सिकन्दर राजा ( ✈ )