काठमाडौं जिल्ला क्रिकेट संघले ग्रासरुट क्रिकेटको विकासलाई निरन्तरता दिँदै यस वर्ष बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रा.लि. ‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष तथा नेपाली क्रिकेटका भिष्मपितामहको उपनामले परिचित स्वर्गीय जयकुमारनाथ शाहको सम्झनामा २०८१ सालदेखि सुरु गरिएको यो स्कुलस्तरीय प्रतियोगिता यस वर्ष वैशाख २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको पहिलो दिनका खेलहरु काठमाडौंको तल्लो मुलपानी, माथिल्लो मुलपानी र त्रिवि मैदानमा हुनेछन् भने त्यसपछिका खेलहरु त्रिवि मैदान र तल्लो मुलपानीमा सञ्चालन हुने जानकारी संघले गराएको छ।
प्रतियोगिताको अनुमानित खर्च रु. १६,३५,००० रहेको छ। प्रतियोगिताको मुख्य प्रायोजक बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रा.लि. रहेको छ भने सह–प्रायोजकमा आयुष इन्टरनेसनल ओभरसिज सर्भिस रहेका छन्। अन्य प्रायोजकहरूमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, टिम ११, नेपाल बैंक ली, लुम्बिनी डेभलपमेन्ट बैंक, सुजुकी (सीजी मोटो), हिमाल रेमिट, केएफसी, जी स्पोर्ट्स, मेघा हस्पिटल र एभरेष्ट अस्पताल रहेका छन्।
यस वर्षको प्रतियोगितालाई विशेष महत्व दिँदै एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोट प्रतियोगिताको रूपमा लिइएको छ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई काठमाडौं जिल्लाको टोलीमा समावेश गरी नेपालको राष्ट्रिय यू-१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिनेछ। स्कुलस्तरीय प्रतियोगिता भएकाले यू-१६ टोलीका लागि उमेर परीक्षण पनि सही तरिकाले हुने विश्वास संघले व्यक्त गरेको छ। यसैगरी, काठमाडौं जिल्लाको छनोट प्रक्रिया खेलाडीहरूका लागि न्यायोचित हुने अपेक्षा गरिएको छ।
गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयले उपाधि जितेको थियो भने मोक्षदा स्कुल उपविजेता बनेको थियो। पहिलो संस्करणमा १६ वटा विद्यालयको सहभागिता रहेकोमा यस वर्ष २१ वटा विद्यालयको सहभागिता रहने भएको छ, जुन काठमाडौं जिल्ला क्रिकेट संघका लागि गर्वको विषय हो।
सहभागी विद्यालयहरूलाई ७ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहका विजेता टोली र उत्कृष्ट दोस्रो टोली गरी कुल ८ टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा कुल २८ खेल सञ्चालन हुनेछन्, जसमध्ये सेमिफाइनल र फाइनल खेल काष्टमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
सहभागी विद्यालयहरू: रेडियन्ट रिडर्स एकेडेमी, मोक्षदा स्कुल, रत्न राज्य स्कुल, विसडम इंग्लिस एकेडेमी, भ्याली पब्लिक हायर सेकेन्डरि स्कुल, एन्जल हर्ट्स सेकेनडरी स्कुल, ग्यालेक्सी पब्लिक स्कुल, अपी स्कुल, अक्षरा स्कुल, पिक प्वाइन्ट एजुकेसन नेटवोर्क एकेडेमी, नेपाल पुलिस स्कुल, त्रियोग हाइस्कुल, क्रिएटिभ एकेडेमी, गेटवे एकेडेमी, संस्कृति इन्टरनेसनल स्कुल, सैनिक आवासीय महाविद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, जेम्स स्कुल, डिएभी शुसिल केडीया विश्व भारती स्कुल (A) र बीएलआरआई स्कुल।
पुरस्कार विवरण:
विजेता टोली: रु. १,५०,०००
उपविजेता टोली: रु. ७५,०००
उत्कृष्ट खेलाडी: रु. १०,०००
उत्कृष्ट बलर, ब्याटर, इमर्जिङ खेलाडी: जनही रु. ५,०००
प्लेयर अफ द म्याच: रु. १,०००
(विजेता र उपविजेता बाहेक अन्य व्यक्तिगत पुरस्कार टेक्सास इन्टरनेसनल कलेजद्वारा प्रायोजित)
अन्तमा, काठमाडौं जिल्ला क्रिकेट संघले प्रतियोगितालाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।
