बिश्वप्रख्यात रन आउट सम्झिदै जोन्टिले भने “त्यो मेरो खराब गल्ति थियो”

  • विकेटनेपाल – कार्तिक २७, मंगलवार

सन् १९९२ को विश्वकप क्रिकेट धेरै कुराका लागि प्रख्यात छ। पहिलो पटक रंगिन जर्सीको प्रयोग देखि लिएर सुरुवाती १५ ओभरको पावर-प्लेको सुरुवात त्यसै विश्वकपबाटनै भयो।

सोहि विश्वकपमा घटेको अर्को प्रख्यात घटना अझै पनि क्रिकेट प्रेमीहरुले याद गरिरहन्छन्। त्यो घटना थियो पाकिस्तानी क्रिकेटर इन्जमाम उल् हकलाई दक्षिण अफ्रिकी खेलाडी जोन्टि रोड्सले गरेको रन आउट। रोड्सले उडेर गरेको त्यो रन आउटले त्योबेला सनसनी मच्चाएको थियो।

अष्ट्रेलियाको ब्रिसबेनमा पाकिस्तान दक्षिण अफ्रिका बिरुद्ध जिततर्फ अघि बढ्दै थियो। बर्षाले प्रभावित खेलमा पाकिस्तानलाई ३६ ओभरमा मात्र १९४ रनको आवश्यकता थियो। खेल ३१ औं ओभरमा पुग्दा पाकिस्तान जितबाट ६० रन टाढा थियो।

त्यसपश्चात क्रिजमा रहेका इन्जमाम उल् हकलाई जोन्टि रोड्सले जुन प्रकारले रन आउट गरे त्यसले सिंगो फिल्डिंगको परिभाषानै बदल्यो। ब्रायन म्याकमिलनको बलमा रन लिने चक्करमा इन्जमाम धेरै अगाडि पुगिसकेका थिए। सोहि समय ब्याकवार्ड पोइन्टको दिशामा रहेका रोड्सले बल लिएर स्टम्पतर्फ दगुरे र अन्तिममा हावामा जिउ फालेर स्टम्प लडाइदिए।

Jonty Rhodes
Jonty Rhodes

तिनै जोन्टि रोड्स यतिबेला नेपाल आइपुगेका छन्। नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडको आयोजनामा संचालन हुने हाई परफर्मेन्स क्याम्पमा प्रशिक्षण गर्न जोन्टि नेपाल आएका हुन्। क्याम्प सुरुहुन अघि सोमबार राजधानीको होटल नयो बुटिकमा सम्पन्न पत्रकार सम्मेलनमा रोड्सले सन् १९९२ को सो रन आउटको कथा सुनाए।

“त्यो मेरो खराब गल्ति थियो। त्यसदिन यता म लगातार पश्चताप गरिरहेको छु।” इन्जमाम उल् हकलाई गरेको रन आउटको कथा सुनाउंदै जिस्कदै जोन्टिले भने-

“त्यसले मेरो करियरलाई उचाईमा पुर्यायो र म त्यसका लागि आलु (इन्जमाम उल् हक) लाई धन्यवाद भन्न चाहन्छु।”

इन्जमामको बिषयमा थप कुरा खोतल्दै रोड्सले भने, “इन्जमाम त्यो बेला मात्र १९ बर्षको थिए तर उनले त्यो बेलानै आफु खराब रनर रहेको प्रभाव छोडीसकेका थिए, त्यसरी रन आउट गर्ने निर्णय मैले त्यही मौकामै गरेको थिएँ जुन मैले त्यस अघि र पछि गरिन।”

हुनपनि इन्जमाम आफ्नो करियर भरिनै खराब रनर रहिरहे। भारतको संगको खेलमा सिधा थ्रोलाई ब्याटले रोक्दा होस् या आफुतर्फ आएको बललाई जान दिंदा होस्, इन्जमाम धेरैपटक हास्यास्पद तरिकाले रन आउटको शिकार भएका छन्। तर रोड्सले गरेको सो रन आउटभने हास्यास्पद नभई चमत्कार भन्दा कम थिएन।

Jonty Rhodes
                                                                                                                                                                               

रोड्सले गरेको रन आउटको तारिफमा भोलि पल्ट एउटा पत्रिकाले “के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टि हो” लेखेको प्रसंग चर्चित मानिन्छ। हावामा उड्दै उनले गरेको रन आउट बिश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो।

यतिसबैका बाबजुद समेत जोन्टि आफ्नो सो रन आउटको घटनाले विश्व क्रिकेटको फिल्डिंगमा केहि परिवर्तन ल्याएको मान्दैनन्। उनी भन्छन्, “त्यो त त्यहि समय घटेको घटना थियो। त्यसयता कसैले त्यो पुन: प्रयास गरेन। तर त्यसपछि खेलमा ब्याटिंग र बलिंग बाहेक तेस्रो महत्वपूर्ण पक्ष फिल्डिंग समेत हुन्छ भनेर चाँही विश्वक्रिकेटले बुझ्यो।”

ब्याटिंग-बलिंगसंगै फिल्डिंगलाई पनि उतिक्कै महत्व दिनुपर्छ भनेर रोड्सले विश्व क्रिकेटलाई उदाहरणनै दिएका छन्।

दक्षिण अफ्रिकाको स्थानीय खेलमा जोन्टि अन्तिम ११ मा नरहेपनि फिल्डिंग गर्न उत्रिएर ७ क्याच समातेपछि उनी प्लेयर अफ द म्याच घोषित भएका थिए।

Jonty-Rhodes-of-South-Africa-catches-Robert-Croft-of-England-during-the-Emirates-Trophy1
Jonty-Rhodes-of-South-Africa-catches-Robert-Croft-of-England-during-the-Emirates-Trophy1

लामो समयसम्म इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्सको फिल्डिंग प्रशिक्षकका रुपमा समय बिताएका जोन्टिले धेरै सुबिधा सम्पन्न मैदान र एकेडेमीको अनुभव लिइसकेका छन्। तर नेपाल आएको दुई दिन भित्रनै उनले नेपाली खेलाडीका लागि सुबिधाको कमि महसुस गरिसकेका छन्। रोड्स भन्छन्, “सुबिधा, लगानी र पूर्वाधारको कमिको कारणले खेलाडीहरु माथि जान नसकेको रहेछ, दक्षिण अफ्रीकाको जस्तो स्कुल सिस्टम, क्लब  सिस्टम, स्टेट टिम, स्टेट एकेडेमी यहाँ छैन।”

पत्रकार सम्मेलनको समय सबै प्रश्नको हांसी हांसी जवाफ दिएका रोड्सले बिचमै रमाइलो समेत गर्न भ्याए। पत्रकार सम्मेलनको क्रममा एक प्रश्नको जवाफ दिंदादिंदै एक संचारकर्मी चिप्लिएर लड्न खोज्दा अर्का संचारकर्मीले समातेको देखेपछि रोड्सले प्रश्नको उत्तरनै रोकेर हाँस्दै तालि बजाएर भने, ” नाईस् क्याच

छोटो समयका लागि भएपनि रोड्स जस्ता महान क्रिकेटर प्रशिक्षणका लागि नेपाल आउनु सिंगो नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हो। रोड्सले दिने प्रशिक्षणको केहि अंश मात्र समेत नेपाली युवा खेलाडीहरुले लिन सके त्यसले उनीहरुको खेल पक्कै निखार्ने छ।

हाई परफर्मेन्स क्याम्पको दौरान खेलमा आउने बिभिन्न परिस्थितिमा कसरि नियन्त्रण गर्ने बारे आफुले सिकाउन आफ्नो जोड रहने रोड्सको योजना रहेको छ।

रोड्ससंगै अफगानिस्थान र वेस्ट इन्डिज टिमको फिल्डिंग प्रशिक्षक रहीसकेका रायन मारुन पनि नेपाल आएका छन्।

हाई परफर्मेन्स क्याम्प अन्तर्गत पहिलो दिन रोड्सले प्रशिक्षकहरुलाई मंगलबार दिउसो टीयु मैदानमा प्रशिक्षण दिनेछन् जसपछि बुधबारबाट क्याम्पको लागि नाम दर्ता गराएका खेलाडीहरुलाई उनले नोभेम्बर २३ सम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]