हिन्दु अवतरमा जोन्टी रोड्स, शास्वत धाममा ग्रहशान्ति र हवन

  • विकेटनेपाल, मङ्सिर – १२ 

करिब २ साता टियु मैदान किर्तिपुरमा प्रशिक्षण क्याम्पमा सहभागी भएपछि बिश्व प्रख्यात दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोड्सले राजधानी बाहिर भ्रमण गर्ने क्रममा मंगलबार नवलपरासी जल्ला स्थित शास्वत धाममा हिन्दु परम्परा अनुसारको पूजा गरेका छन्।

नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एड द्वारा आयोजित ‘राइज अफ द क्रिकेटिंग स्टार्स विथ जोन्टि रोड्स’ कार्यक्रम अन्तर्गत जोन्टी नोभेम्बर १२ तारिकमा नेपाल आएका थिए। रोड्सले काठमाडौँ बस्ने क्रममा नेपाली यु-१९ टिम र अन्य उमेर समुहका खेलाडीहरु, प्रशिक्षकहरु, महिला राष्ट्रिय क्रिकेटरहरुलाई क्रिकेटको बिभिन्न पाटोमा प्रशिक्षण दिए भने शनिबार एक च्यारिटी खेलमा समेत सहभागिता जनाएका थिए।

प्रशिक्षण सकेर चितवन भ्रमणमा निस्केका रोड्सले सोमबार सौराहा जंगल सफारी गरेका थिए भने त्यसपछि बुधबार पोखरा भ्रमणमा पुगेका छन्।

मंगलबार रोड्सले नवलपरासी शास्वत धाममा ग्रह शान्ति र हवन गरे। कान्तिपुर दैनिकका अनुसार उनले त्यहाँका पुजारीसंग अरु हिन्दु धर्म अनुशरण गरेर पूजा गर्ने इच्छा ब्यक्त गरेपछि चोखो धोतीपाटा र नेपाली ढाका टोपी लगाएर २ घण्टा पूजाआजा गरेका हुन्। पूजा गरेपछि उनले शास्वत धाममै रहेको संग्रहालय समेत भ्रमण गरेका थिए।

करिब १० बर्ष इन्डियन प्रिमियर लिग आइपिएलको फिल्डिंग प्रशिक्षण गरेका रोड्सले यस अघि पनि भारतमा हिन्दु धर्म अनुसारको पूजा गरेको देखिएका थिए। भारतीय संस्कृतिबाट निकै प्रभावित रोड्सले आफ्नो छोरिको नामनै इन्डिया ( इन्डिया जेनी रोड्स )  राखेका छन्। सन् २०१६ मा आफ्नो छोरिको लागि उनले मुम्बईमा पूजा आयोजना गरेका थिए भने त्यसै बर्ष सचिन तेन्दुलकर र  युवराज सिंहसंग गणेश पुजामा समेत सहभागी भएका  थिए।

सन् २०१६ मा पनि मुम्बईमा यस्तै पुजा आयोजना गरेपछि एक मिडियासंगको अन्तर्वार्ताको क्रममा रोड्सले भारतीय संस्कृतिको बिबिधता आफुलाई मन पर्ने जसमध्ये पनि योगा र ध्यान बिशेष मन पर्ने बताएका थिए। यस्तै उनि भारतमा रहंदा हिन्दु मन्दिरको नियमित जसो भ्रमण समेत गर्ने गरेका छन्।

उमेरले ४९ नाघेका रोड्सले दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका थिए। २००३ को एकदिवसीय बिश्वकप पछि सन्यास लिएका दायाँ हाते ब्याट्सम्यानले टेस्टमा ३५.६६ को औशतले २,५३२ रन तथा एकदिवसीयमा ३५.११ को औशतले ५९३५ रन बनाएका छन्।

सन् १९९२ को एकदिवसीय बिश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउटको कारण प्रख्यात रोड्सलाई त्यति बेला एउटा पत्रिकाले “के यो चरा हो ? के यो जहाज हो ? हैन, यो जोन्टि हो” लेखेको प्रसंग चर्चित मानिन्छ। हावामा उड्दै उनले गरेको रन आउट बिश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो।

रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिंग कोच रहेका थिए भने श्रीलंका,दक्षिण अफ्रीका, केन्या जस्ता टिमहरुको प्रशिक्षण गरिसकेका छन्।

( फोटो श्रोत – निसान मिश्र, जिसी सुर्य )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy