अमेरिका क्रिकेटले देशमा पुनः सिनियर पुरुष र युवा खेलाडीहरुको अभ्यास सुरु गर्नको लागि देशका बिभिन्न ६ वटा क्षेत्रमा रहेका खेलाडीहरुलाई संगठित गर्दै प्रशिक्षण सुरु गर्ने भएको छ।
अमेरिका क्रिकेटद्वारा जारि गरिएको बिज्ञप्ति अनुसार क्षेत्रीय स्तरमा प्रशिक्षण सुरु गर्न समुहहरु पुनर्स्थापना गर्न लागिएको हो। त्यसै अनुरुप सिनियर र युवा खेलाडीहरु तथा राष्ट्रिय क्रिकेटरहरु समेत सम्मिलित प्रशिक्षण गर्ने खेलाडीहरुको समुहहरु घोषणा भएको छ। सिनियर र युवा गरि १२ वटा समुहमा २७५ भन्दा बढी खेलाडीहरु रहेका छन्।
बिगत एक दशक भन्दा लामो समय देखि अमेरिकामा बसिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व क्रिकेटर तथा यु-१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान कनिस्क चौगाईंलाई पनि क्षेत्रीय प्रशिक्षण समुहमा स्थान दिईएको छ।
३५ वर्षीय दायाँ हाते ब्याट्सम्यान चौगाईं पश्चिमी क्षेत्रको समुहमा रहेका छन् जुन समुहमा अमेरिकी राष्ट्रिय क्रिकेटरहरु रस्टि थेरोन, तिमिल पटेल, निसर्ग पटेल, म्रुनल पटेल, सौरभ नेत्रभाल्कर, जोश दासकम्बे, एल्मोर हचकिन्सन, नासिर जमाली, अभिमन्यु राजप, रभी टिम्बावाला पनि रहेका छन्। यो क्षेत्रमा कुल २७ जना खेलाडीहरुलाई अभ्यासको लागि नाम घोषित गरिएको छ। वेस्ट इन्डिजका पूर्व क्रिकेटर नरसिंह देओनारायण पनि सूचीमा रहेका छन्।
ZONAL TRAINING GROUPS🏏
And here are the final four Training Groups, of the 12 announced in total today, with the Men’s Senior & Youth Training Groups for the South West Zone and the West Zone!
More details➡️: https://t.co/S8hKYKHYW2#WeAreUSACricket🇺🇸 pic.twitter.com/0SAW4vu2C5
— USA Cricket (@usacricket) February 9, 2021
घोषित क्षेत्री टोलिमा रहेको खेलाडीहरुलाई अमेरिका क्रिकेटले अभ्यासको अवसर उपलब्ध गराउनेछ। अमेरिकी राष्ट्रिय क्रिकेट टिमको लागि टिम छनोट गर्ने आधार तयार गर्न बोर्डले खेलाडीहरु छनोट गरेर अभ्यासको मौका दिन लागेको हो। अमेरिकाले २०१९ मा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो जसपछि हाल नेपालसंगै विश्व कप लिग-२ को समुहमा रहेको छ।
खेलनेपालले यो बारे कनिस्क चौगाईंसंग सम्पर्क गर्दा उनले आफुलाई यो बारे थाहा नभएको प्रतिक्रिया दिएका छन्। उनले आफ्नो नाम पनि आएको देखेता पनि आफुलाई अहिलेसम्म कसैले पनि सम्पर्क नगरेको र अन्य जानकारी नभएको प्रतिक्रिया दिए –
“मलाई पनि थाहा छैन , नाम मात्रै देखेको हो। अझसम्म मसंग सम्पर्क कसैले गरेको छैन।”
उनले अभ्यासको लागि बोलाएको खण्डमा आफू अभ्यासमा जाने बताएता पनि कोरोनाले गर्दा जुलाईसम्म अभ्यास सुरु नहुने बताए।
“लस एन्जल्स मै हुन्छ ( अभ्यास ) तर कोरोनाले गर्दा जुलाईसम्म अभ्यास सुरु हुँदैन होला।” चौगाईंले छोटो कुराकानीमा बताए।
चौगाईं अमेरिकामा कार्यरत रहेता पनि क्रिकेट भने नियमित रुपमा खेलीरहेका छन्। उनि साउथ क्यालिफोर्निया क्रिकेट एसोसिएसन अन्तर्गत रहेर स्थानीय स्तरमा तथा नेपाली राइनोज क्रिकेट क्लबबाट समेत प्रतियोगिताहरुमा सहभागिता जनाउदै आएका छन्।
साउथ क्यालिफोर्निया क्रिकेट एसोसिएसन ( एससीसीए ) अन्तर्गत चौगाईंले सन् २०१० देखि नियमित रुपमा कस्मोस क्लब देखि स्थानीय क्रिकेट खेल्दै आएका छन्। कुल १५२ खेल खेलेका उनले त्यसक्रममा ३१.३६ को औशतले ४ हजार ३ सय २७ रन बनाएका छन्। अन्तिम पटक २०१९ मा खेलेको साउथ क्यालीफोर्नियाको एकदिवसीय प्रतियोगितामा ११ खेलमा ६१.६ को औशतले ६१६ रन बनाएका थिए जुन क्रममा ५ वटा अर्धशतक र २ वटा शतक प्रहार गरेका थिए। यस क्रममा उनले युएससी क्लब बिरुद्धको खेलमा १२५ बलमा १८६ रन तथा युनिभर्सिटी बिरुद्धको १५१ रन बनाएका थिए। यस्तै साउथ क्यालिफोर्नियाकै २०१९ को टि-२० फर्म्याटको प्रतियोगितामा उनले ७ खेलमा ३३.१७ को औशतले १ अर्धशतक प्रहार गर्दै १९९ रन बनएका थिए।
कनिस्क चौगाईंको बिगत
२१ वर्ष अघि सन् २००० मा नेपालको १७ वर्ष मुनि राष्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका कनिस्कले सन् २००२ मा नेपाल अन्डर-१९ टिमको लागि डेब्यु गरेका थिए। उमेर समुह क्रिकेटमा उत्कृस्ट प्रदर्शन गरेपछि उनले सन् २००३ मा नेपालमा आयोजित एसीसी इमर्जिंग नेसन्स प्रतियोगितामा नेपालको लागि माल्दिभ्स बिरुद्ध डेब्यु गरेका थिए। सन् २००८ को एसीसी ट्रफीमा चौगाईंले नेपाली राष्ट्रिय टिमको अन्तिम पटक प्रतिनिधित्व गरेका थिए।
चौगाईंको कप्तानीमा नेपालले श्रीलंकामा आयोजित सन् २००६ अन्डर-१९ विश्वकपको प्लेट-च्याम्पियनसिपतर्फको उपाधि जितेको थियो। नेपालले त्यसक्रममा फाइनलमा न्युजिल्यान्डलाई १ विकेटले पराजित गरेको थियो। प्रतियोगितामा नेपालले प्लेसेमीफाइनलमा अर्को टेस्ट राष्ट्र दक्षिण अफ्रीकालाई २ रनले पराजित गरेको थियो जुन क्रममा चौगाईंले नेपालकोतर्फबाट सर्वाधिक ५९ रन बनाएका थिए र प्लेयर अफ द म्याच चुनिएका थिए। समुह चरणमा नेपालले अर्को टेस्ट राष्ट्र जिम्बाबेसंग २ रनको हार बेहोरेको थियो जुन खेलमा चौगाईंले ७८ रन बनाएका थिए।
२००६ यु-१९ विश्वकपमा नेपालको लागि सर्वाधिक रन बनएका चौगाईंले ६ खेलमा २ अर्धशतक प्रहार गर्दै २३४ रन बनाएका थिए। उनि प्रतियोगिताकै छैठौं सर्वाधिक रनकर्ता समेत रहेका थिए।
कनिस्कको नाउँमा आईसीसी यु-१९ विश्वकपको ठूलो रेकर्ड पनि रहेको छ। सन् २००२, सन् २००४ र सन् २००६ गरि तिन वटा यु-१९ विश्वकपमा नेपालको प्रनिनिधित्व गरेका चौगाईंले त्यस क्रममा कुल २० खेल खेलेका थिए। २० वटा खेल यु-१९ विश्वकपमा कुनै पनि खेलाडीले खेलेको सर्वाधिक खेल संख्या हो। उनि पछि नामिबियाका स्टेफेन स्वानेपोल र आयरल्याण्डका ग्रेग थोम्पसनले समान १९ खेल खेलेका छन्। नेपालकै पारस खड्काले यु-१९ विश्वकपमा १८ खेल खेलेका छन् जुन संयुक्तरुपमा तेश्रो धेरै हो।
तिनवटा यु-१९ विश्वकप खेल्दा चौगाईंले २० खेलमा बनाएको ५३७ रन यु-१९ विश्वकपमा कुनै पनि खेलाडीले बनाएको छैठौं सर्वाधिक रन हो।
चौगाईंले सन् २००३ मा पाकिस्तानमा सम्पन्न युथ एसिया कपमा माल्दिभ्स बिरुद्ध शतक ( १२५ रन ) बनाएका थिए। यु-१९ राष्ट्रिय टिमको लागि शतक बनाउने चौगाईं दोश्रो क्रिकेटर बनेका थिए। उनि अघि शक्ति गौचनले शतक बनाएका थिए भने उनि पछि फैजलुर रहमान, राजु रिजाल र रित गौतमले मात्र नेपाली यु-१९ टिमको लागि शतक बनाएका छन्।