ईपीएलमा करनको कप्तानी अनुभव “गार्हो नै हुने रैछ “

२०७८ आश्विन १०, आईतवार २०:४३

Karan KC

एभरेस्ट प्रिमीयर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न लिगको दोश्रो खेलमा चितवन टाइगर्ससंग पराजित भएपछि बिराटनगर वारियर्सका कप्तान करन केसीले आज आफ्नो टिम राम्रो भएता पनि दिन आफ्नो नभएको बताएका छन्। खेलमा बिराटनगरले दिएको १५१ रनको लक्ष्य चितवनले ८ विकेट क्षेतीमा अन्तिम ओभरमा भेताउदै विजयी सुरुवात गर्यो।

“हाम्रो पहिलो ३ विकेट छिटो गैसकेको थियो तर त्यसपछि सिकन्दर रजाले राम्रो खेल्यो। बलिंग पनि राम्रो भयो तर बीच बीचमा लुज ओभर र क्याच मिस हुनु प्रमुख कारण हो। हाम्रो खेलाडीहरु राम्रो छ तर आज दिन लागेन, हाम्रो टिम राम्रो छ ब्याटिंग डेप्थ छ। पहिलो खेल भएकोले पनि हो त्यसैले आशा गर्छु अर्को खेलमा राम्रो हुनेछ।” करनले बताए।

ईपीएलमा पहिलो पटक पारस खड्काको स्थानमा कप्तानी गरेका केसीले आफ्नो अनुभव सुनाए – “(पारस नहुँदा) ठूलो असर हुन्छ किनकि मैले कप्तानी गरेको मात्र दोश्रो पटक हो। तर एउटा कप्तानको रुपमा अनुभव भयो। गार्हो नै हुने रैछ किनकि आफु पनि खेल्नु पर्छ र अरुलाई पनि साथ दिएर खेल्नु पर्छ। सिक्दै छु एउटा लिडरको रुपमा कसरि आफुलाई लैजाने।”

लिगमा विजयी सुरुवात गरेपछि चितवन टाइगर्सका कप्तान सोमपाल कामिले विदेशी खेलाडीबाट सोचे जस्तो प्रदर्शन नभएता पनि नेपाली खेलाडीको प्रदर्शनमा सन्तुस्टि व्यक्त गरे – “पहिलो खेल थियो र विदेशी खेलाडीबाट जस्तो सोचिएको थियो त्यो भएन। हाम्रो नेपाली खेलाडीहरुले सबैले राम्रो प्रदर्शन गरेको छ।” उनले युवा खेलाडीहरुले सुरुवातलाई ठूलो स्कोरमा बदल्न नसकेको बताए – “धेरै युवा खेलाडी हुँदा केहि मिस हुन्छ तर अर्को खेलमा कमजोरी सुधारेर आउने छौँ। राम्रो सुरुवातबाट अन्त्य गर्न सकेनौं र ३०-३५ रनलाई ५० मा बदल्न सकेनौं। अर्को खेलमा यो कुरालाई सुधार्नु पर्छ।”

खेलमा महत्वपूर्ण दुई विकेट लिंदै प्लेयर अफ द म्याच चुनिएका कमल सिंह ऐरीले राष्ट्रिय टिमबाट बाहिर रहंदा पनि आफु सकारात्मक रहेको बताए – “सुरुवात राम्रो भयो प्रतियोगितामा , रोलको कुरा हो नयाँ बलले फाल्नु पर्छ भन्ने थाहा थियो र सुरुमै २ विकेट गएपछि झनै सजिलो भयो। अनिल शाह र सिकन्दर रजा मध्ये एउटाको विकेट लिएपछि दबाबमा आउने थिए। अनिल शाहको विकेट लिएपछि खेल टर्न भयो। टिम बाहिर हुँदा पनि सकरात्मक थिएँ त्यसैले गार्हो भएन। अरुको बलियो पक्ष भन्दा आफ्नो बलियो पक्षमा ध्यान दिंदा राम्रो हुन्छ।”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy