करणको कीर्तिमानी प्रदर्शन, ५० औं ट्वान्टी २० अन्तराष्ट्रियमा नेपाल विजयी

तीव्र गतिका बलर करण केसीले कीर्तिमानी प्रदर्शन गर्दा बिहिबार सम्पन्न खेलमा घरेलु टोलि नेपालले पपुवा न्यु गिनीलाई ३७ रनले पाखा लगाउदै जारि त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा प्रवेश गरेको छ । शृंखला अन्तर्गत यो नेपालको लगातार तेस्रो जित हो । यसअघि नेपालले पपुवा न्यु गिनीलाई नै १५ रनले तथा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

यो ट्वान्टी २० अन्तराष्ट्रियमा नेपालको ५० औं खेल समेत हो । यसबीच नेपालले २८ खेलमा जित निकालेको छ भने २१ खेलमा पराजित हुँदा १ खेल नतिजाविहिन टुंगिएको छ ।

करण ट्वान्टी २० अन्तराष्ट्रियमा ह्याट्रिक तथा एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । ह्याट्रिक लिने क्रममा उनले २० औं ओभरको दोस्रो, तेस्रो र चौथौं बलमा पपुवा न्यु गिनीका तल्लो क्रमका ब्याटरको विकेट लिएका थिए ।

यस्तै, करण ट्वान्टी २० अन्तराष्ट्रियमा ५० विकेट हात पार्ने दोस्रो नेपाली खेलाडी समेत बनेका छन् । यसअघि नेपालबाट ट्वान्टी २० अन्तराष्ट्रियमा कप्तान सन्दिप लामिछानेले मात्र ५० विकेट लिएका छन् । उनले हालसम्म ३६ खेलमा सर्वाधिक ६८ विकेट लिएका छन् । करणको नाममा भने समान ३६ खेलमा ५४ विकेट छ ।

नेपाल फाइनलमा

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले ३७ रनको जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । खेलमा २०४ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्यु गिनी २ बल बाँकी रहँदै १६६ खेलमा समेटियो ।

पपुवा न्यु गिनीको ब्याटिंगतर्फ चार्ल्स अमिनीले ४७ बलमा ९ चौकाको मद्धतमा सर्वाधिक ६२ रन बनाए । यस्तै, टोनी उराले ४३, सेसे बाउले २५ तथा नोर्मान भानुवाले १७ रन जोडे ।

नेपालको बलिंगतर्फ कीर्तिमान रचेका करण केसीले ३.४ ओभरमा ह्याट्रिकसहित २१ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै, सोमपाल कामी र अविनास बोहोराले समान २ तथा कप्तान सन्दिप लामिछानेले १ विकेट हात पारे ।

यसअघि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनाएको थियो । नेपालको ब्याटिंगतर्फ दिपेन्द्र सिंह ऐरीले ३३ बलमा ३ चौका र ४ छक्काको मद्धतमा सर्वाधिक ६६ रन बनाए । यस्तै, रोहित पौडेलले ४१ तथा ओपनर आशिफ शेखले ३८ रनको योगदान दिए ।

खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मोहम्मद आदील आलमले विस्फोटक ब्याटिंग गर्दै ११ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोडे । आलमले नोसैना पोकैनाले गरेको १९ औं ओभरमा ४ छक्का र १ चौकासहित ३२ रन बटुलेका थिए ।

पपुवा न्यु गिनीको बलिंगतर्फ काबुवा मोरेले ४ ओभरमा २९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । रिले हेकुरेले २ तथा नोसैना पोकैना र नोर्मान भानुवाले समान १ विकेट हात पारे ।

Follow author on twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy