EPL : भैरहवाका बलर धम्मिकालाई कारवाही

काठमाण्डौमा जारी एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) अन्तर्गत सोमबारको खेलमा चितवन टाइगर्सका ब्याटर दिलिप नाथप्रति आक्रामक व्यवहार देखाएका भैरहवा ग्ल्याडीएटर्सका दायाँ हाते फास्ट बलर धम्मिका प्रशादलाई कारवाही गरिएको छ।

खेलको १९ औं ओभरको अन्तिम बलमा धम्मीकालाई दिलिपले विशाल छक्का प्रहार गरेपछि श्रीलंकन पूर्व क्रिकेटर समेत रहेका धम्मिका आक्रोशित देखिएका थिए। दिलिपले छक्का हिर्काएपछि धम्मिकालाई केहि भनेका थिए जसपछि धम्मिका तातीएका थिए। उक्त ओभरमा तेश्रो बलमा धम्मिकाले गरेको बाउन्सर दिलिपले खेल्न नसकेपछि धम्मिकाले दिलिपलाई जिस्क्याएको जसरि दुई हातले इशारा गरेका थिए। त्यसलगत्तै बलमा दिलिपले उनलाई चौका प्रहार गरेका थिए।

धम्मिका र दिलिप बीच केहि बेर भनाभननै भएको थियो जसपछि भैरहवा कप्तान कप्तान शरद भेसावकर र बंगलादेश क्रिकेटर समेत रहेका तमिम इक्बालले धम्मिकालाई छुटाएका थिए। त्यसपछि पनि दुईजना बीच भनाभन जारि रहेपछि अनफिल्ड अम्पायर विनय कुमार झा र संजय गुरुङले धम्मिकालाई हटाएका थिए।

खेलपछि ३८ वर्षीय धम्मिका प्रशादलाई खेलाडी आचारसंहिताको धारा २.५ अनुसार उनले पाउने म्याच फिसको २० प्रतिशत जरिवाना गरिएको छ। यस्तै उनले एउटा डी-मेरिट अंक समेत दिईएको छ।

सोमबारकै खेलमा भैरहवाका कप्तान शरद भेसावकरलाई ढिलो ओभर रेटका कारण म्याच फिसको १० प्रतिशत तथा टिमका अन्य खेलाडीहरुलाई म्याच फिसको २ प्रतिशत जरिवाना गरिएको छ। यस्तै दिनको दोश्रो खेलमा पोखरा राइनोजका कप्तानलाई पनि ढिला ओभर रेटकै कारण सोहि कारवाही म्याच रेफ्री मोहम्मद शफिकले गरेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy