एनपीएल : जनकपुर बोल्ट्सको लगातार दोश्रो जित, धवनको टिम कर्णाली पराजित

कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। बोल्ट्सले आफ्नो पहिलो खेलमा बिराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा पनि समान नतिजा हात पार्यो।

अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।

अनिलले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे । दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।

जेम्स निशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो।

कर्णालीको लागि गुल्सन झाले सर्वाधिक ३६ रन बनाए जुन क्रममा २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। यस्तै अर्जुन घर्तिले २२ बलमा २ चौका र २ छक्का मद्दतले ३३ रन बनाए। कप्तान सोमपाल कामिले १३ बलमा ३ चौका र १ छक्का मद्दतले २९ रन बनाए। भारतीय स्टार ब्याट्सम्यान शिखर धवनले १४ रन मात्र बनाउन सके जुन क्रममा उनले १४ बलमा ३ चौका प्रहार गरे। धवनलाई क्यानडाका खेलाडी हर्ष थाकरले बोल्ड गरे। सुस्त ब्याटिंग गरेका बाबर हायातले २५ बलमा १२ रन मात्र बनाए। ७९ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौँ विकेटको लागि ५६ रनको साझेदारी गरे।

जनकपुर बोल्ट्सको बलिंगमा लेग स्पिनर मोहम्मद मोहसिनले २ विकेट लिए जुन क्रममा ४ ओभरमा १४ रन खर्चिए। किशोर महतो, ललित राजवंशी, हर्ष थाकर र जेम्स निशमले १/१ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy