कास्की जिल्ला क्रिकेट संघले ड्रिम प्रोजेक्टको रुपमा क्रिकेट एकेडेमी संचालन गर्ने

पोखरा । पछिल्लो समय पोखरा क्रिकेट खेलको उर्वर थलो बन्दै गएको छ । पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल)ले समेत युवा पुस्तामा क्रिकेटको क्रेज बढ्दै गएको हो ।

पोखरामा क्रिकेटका लागि युवा पुस्ताका खेलाडीहरु मैदानमा ब्याट र बलसंग रमाउँदै गरेको देखिन थाले पछि कास्की जिल्ला क्रिकेट संघले यसलाई व्यवस्थित बनाउँदै एकेडेमी सञ्चालन गर्न अघि सरेको छ । संघले क्रिकेट एकेडमीको लागि कार्यविधीनै बनाएर अघि बढेपछि यसले मुर्तरुप पाउने भएको छ ।

हुनत २०५८ नेपाली राष्ट्रि टिमका प्रशिक्षक जगत टमटा २०५८ सालमा कास्कीमा सहायक प्रशिक्षक रुपमा कास्कीमा रहँदा कास्की जिल्ला क्रिकेट संघले प्रशिक्षण दिन थालेको थियो । तर एकेडेमी सञ्चालन भने पहिलो पटक हो-

“यो मोडलको मुख्य उद्धेश्यनै पुर्व खेलाडीलाई रोजगारसंगै शिपको हस्तान्तरण हो” अध्यक्ष सञ्जयकान्त सिग्देल भन्छन–“सम्भवत यो मोडेल पहिलो पटक नेपालमा लागु गर्दैछौ ।”

कास्की जिल्ला क्रिकेट संघले ‘सेन्ट्रल क्रिकेट एकेडेमी कास्की’को नाम दिएर कार्यविधी सहित क्रिकेट विकासका लागि अघि सरेको बताउँछन् अध्यक्ष सिग्देल-

“हुन त यो कार्यविधी हामीले एक वर्ष अघिनै तयार गरेका थियौं तर यसको कार्यान्वयन यहि २०७७ भदौ १ गतेबाट गर्दैछौं”, उनले भने । “एकेडेमी सञ्चालन गर्न चुनौती छ तर अवका दिनमा व्यवस्थित रुपमा अघि नवढ्ने हो भने कास्कीको क्रिकेट पछि पर्नेछ”, उनी भन्छन-“यो कास्कीको क्रिकेट विकासका लागि ‘ड्रिम प्रोजेक्ट’ नै हो ।”

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजय सिग्देल

यो एकेडेमीको मुख्य उद्धेश्य भनेको पुर्व क्रिकेटरहरुलाई जोड्ने रहेको बताउँछन अध्यक्ष सिग्देल । उनले भने–“उनीहरुले क्रिकेटका लागि जुन योगदान दिए उनीहरुलाई रोजगार संगै उनीहरुको शिपलाई युवा पुस्तामा हस्तान्तरण गर्दै नयाँ खेलाडी उत्पादन गर्नुनै हो ।” “यसले उनीहरुलाई रोजगार संगै क्रिकेट खेलको विकासमा सहयोग पुग्नेछ,”उनले भने ।

क्रिकेट एकेडेमीबाट भएको आम्दानीलाई क्रिकेट खेलकै विकासमा लगाउने यो योजना महत्वपुर्ण रहेको बताउँछन कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’ । उनले भने–“एकेडेमीमा आउनेहरुले क्रिकेट खेल संगै व्यवहारिक ज्ञान पनि लिनेछन”उनले थपे–“उनीहरुलाई आत्मवल बलियो बनाउन शिविर सञ्चालन देखि विभिन्न जिल्लाहरुमा मेत्रीपुर्ण क्रिकेट खेलका लागि भ्रमण गराउने तथा खेल मार्फत सम्वन्धलाई बलियो बनाउने छ ।”

कार्यविधीमा कास्कीको क्रिकेटलाई चार श्रेणीमा वर्गिकरण गर्दै हरेक वर्गिकरणमा रहेका खेलाडीलाई प्रर्दशनको आधारमा छुट्टा–छुट्टै प्रशिक्षण गराइने छ । उनीहरुलाई सोही श्रेणी अनुसार सुविधा उपलव्ध गराउने जिल्ला स्तरिय सिनियर (महिला, पुरुष) टोलीमा स्थान वनाउन सफल खेलाडीलाई क्रमशः क,ख,ग श्रेणी र बाँकी सबै खेलाडीलाई ‘घ’ श्रेणीमा वर्गिकरण गर्ने गरि कार्यविधी तय गरिएको छ ।

कास्की जिल्ला क्रिकेट संघले एकेडेमी सञ्चालनको मुख्य जिम्मेवारी लिनेछ भने ब्यवस्थापक र प्रशिक्षकको नियुक्ती दिनेछ । कार्यविधीको मुख्य अवधारणानै जिल्ला स्तरिय सिनियर खेलाडीहरुलाई अनिवार्य एकेडेमीमा सहभागी गराउने लक्ष्य रहेको बताउँछन अध्यक्ष सिग्देल । उत्कृष्ट खेलाडीलाई छात्रवृती सुविधा सहित परिकल्पना गरिएको कार्यविधीमा सम्पुर्ण खेलाडीहरुको अभिलेख समेत राखिनेछ ।

Pokhara Cricket Ground

प्रशिक्षकको सहयोगमा खेलाडीहरुको प्रर्दशनको आधारमा वर्गिकरण गर्ने र श्रेणी अनुसार एकेडेमीमा सुविधा उपलब्ध गराउनेछ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरुको प्रशिक्षणका लागि संघले पहल गर्नेछ । संघले सञ्चलन गर्न लागेको एकेडेमीमा चार जना प्रशिक्षकलाई अघि सारेको छ । जसमा रिजन प्रजु, दिपेश खत्री, गोविन्द प्रधान र विधान श्रेष्ठ छन । उनीहरु राष्ट्रिय खेलाडी संगै प्रशिक्षकहरु समेत हुन् ।

पोखरा रंगशाला क्रिकेट मैदान खेलाडीका लागि मुख्य आर्कषणको थलो बने पनि गण्डकी प्रदेश सरकारले पोखरा ३३ स्थित पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको मैदान निर्माणका लागि २ करोड विनियोजन समेत गरेको छ । यसले पनि भविष्यमा पोखरा क्रिकेटको मुख्य केन्द्रको रुपमा विकास हुने विश्वास लिइएको छ ।

( साभार – पोखरास्पोर्ट्स, फोटो – सुदर्शन रन्जित )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy