पन्त र ठाकुरको शतकीय साझेदारी, भारतद्वारा इंग्ल्यान्डलाई कठिन लक्ष्य

पहिलो इनिंग्समा खराब प्रदर्शन पछि दोश्रो इनिंग्समा शानदार पुनरागमन गर्दै भारतले चौथो टेस्ट जित्न इंग्ल्यान्डलाई ३६८ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ। टेस्ट क्रिकेट इतिहासमा इंग्ल्यान्डले यति ठूलो लक्ष्य पछ्याएर टेस्ट जितेको छैन।

टेस्टको दोश्रो इनिंग्समा भारतले १४८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४६६ रन बनाउदै ३६७ रनको विशाल अग्रता हाँसिल गरेको हो।

चौथो दिनको सुरुवात २७०/३ बाट गरेको भारतले चौथो दिन पहिलो विकेटको रुपमा रभीन्द्रा जडेजालाई गुमाउन पुग्यो। १७ रन बनाएर क्रिस वोक्सबाट एलबिडब्लु भएका जडेजाले कोहलीसंग ५९ रनको साझेदारी गरे। जडेजाको विकेट पछि वोक्सले खाता नखोल्दै अजिंक्ये रहानेलाई पनि एलबिडब्लु पारे। त्यसपछि ४४ रन बनाएका कोहलीलाई मोईन अलिले स्लिपमा क्याच आउट गराए।


३१२/६ को अवस्थाबाट रिशभ पन्त र शार्दुल ठाकुरले शतकीय साझेदारी गर्दै भारतको अग्रता लम्ब्याए। कप्तान जो रुटले ठाकुरलाई आउट गर्दै १०० रनको साझेदारी तोडे। खेलमा दोश्रो अर्धशतक बनाएका ठाकुरले ७२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। त्यसपछि सिरिजमा पहिलो अर्धशतक पुरा गरेकापन्त १०६ बलमा ४ चौका मद्दतले ५० रन बनाएर मोइन अलिबाट कट एण्ड बोल्ड भए। उमेश यादव र जस्प्रित बुम्राहले नवौं विकेटको लागि ३६ रनको साझेदारी गर्दै योगफल ४५० पार गराए। यादव २५ तथा बुम्राह २४ रन बनाएर आउट भए।

यस अघि तेश्रो दिन रोहित शर्माले १२७ रन, चेतेश्वर पुजाराले ६१ रन तथा केएल राहुलले ४६ रन बनाएका थिए।

इंग्ल्यान्डको बलिंगमा क्रिस वोक्सले सर्वाधिक ३ विकेट ( ३२-८-८३-३ ) लिए भने मोईन अलि ( २६-०-११८-२ ) र ओली रोबिन्सनले २ विकेट ( ३२-७-१०५-२ ) लिए। जेम्स एण्डरसन, क्रेग ओभरटन र जो रुटले समान १ विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा भारतले १९१ रन बनाएको थियो भने इंग्ल्यान्डले पहिलो इनिंग्समा २९० रन बनाएको थियो।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोश्रो खेलमा भारतले १५१ रनले जितेको थियो। तेश्रो खेल इंग्ल्यान्डले इनिंग्स र ७६ रनले जित्दै सिरिज बराबरी गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy