- विकेटनेपाल, माघ २३ – बुधबार
यहि माघ २६ गतेदेखि सुरु हुन लागेको तेस्रो संस्करणको धनगढी प्रिमियर लिगका लागि बिदेशी खेलाडीहरुको नाम सार्बजनिक गर्ने क्रम जारि छ। यसै क्रममा काठमाण्डौ गोल्डेन्सले पनि आफ्ना दुई बिदेशी खेलाडीहरु सार्बजनिक गरेको छ।
साबिकको उपविजेता काठमाण्डौ गोल्डेन्समा आबद्द खेलाडीहरु भारतीय खेलाडी गौरभ तोमर र अंकित देबासा रहेका छन्। यस्तै दुवै खेलाडीले पारिश्रमिक स्वरूप ३५०० डलर प्राप्त गर्नेछन। काठमाण्डौको गोल्डेन गेट कलेजमा आयोजित पत्रकार सम्मेलनमा खेलाडीबारे जानकारी गराईएको थियो। साथै टिमको मुख्य प्रायोजक इस्लिंगटन कलेज रहने गरि कलेजका तर्फबाट अध्यक्ष सुलभ श्रेष्ठ र टिमका मालिका रमेश सिलवालले हस्ताक्षर गरेका थिए।
तोमर नेपालको घरेलु क्रिकेटमा परिचित नाम हुन्। उनले यसअघि पोखरा प्रिमियर लिगमा हुलास काठमाण्डौ रोयल्सबाट खेलिसकेका छन् भने केहि समय अगाडी सम्पन्न एभरेष्ट प्रिमियर लिगमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्स बाट खेल्दै प्रतियोगिताको उपाधी समेत उचालेका थिए।
तोमरले ईपिएलमा आयरल्याण्डका खेलाडी केविन ओ’ब्रायनको कप्तानीमा रहेको काठमाडौं किंग्स एघार बिरुद्द मात्र ३५ बलमा विस्फोटक ब्याटिंग गर्दै अविजित ८० रनको सानदार पारि खेलेका थिए भने पोखरा राइनोज बिरुद्दको खेलमा मात्र ४१ बलमा अर्को विस्फोटक ८२ रन बनाएका थिए। तोमर यस्तै विस्फोटक पारीको कारण चिनिने गर्दछन।
ईपिएलको पत्रकार सम्मेलनमा ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ललाई अरु टिमले बाह्य देशका खेलाडी ल्याउँदा तपाईहरु किन भारतीय खेलाडी ल्याउनुभएको भन्ने प्रश्नको जवाफमा मल्लले उनीहरु यसअघि नेपालका घरेलु प्रतियोगिता खेलिसकेको र नेपालको बाताबरणमा छिट्टै घुलमिल हुने बताएका थिए। अन्त्यमा मल्लकै कप्तानीमा ललितपुरले उपाधी जित्यो।
अफस्पिन बलिंग समेत गर्नसक्ने तोमरलाई इपिएलमा बलिंग एक्सनका कारण प्रतिबन्ध गरिएको छ। उनले नेपालको घरेलु क्रिकेटमा बलिंग गर्न पाउने छैनन्।
यसपल्ट पनि मल्लले उनै तोमरलाई भित्राएका छन् जो संग नेपालको धेरै नै अनुभव रहेको छ।
काठमाण्डौको दोश्रो बिदेशी खेलाडीको रुपमा भारतको रन्जीट्रफि क्रिकेटको अनुभव बोकेका खेलाडी अंकित देबासा रहेका छन्। झारखण्डको प्रतिनिधित्व गर्ने उनि माथिल्लोक्रममा ब्याटिंग गर्ने क्षमता राख्दछन। ७ प्रथम श्रेणी क्रिकेटको अनुभव भएका अंकितले ६ पारीमा ७७ रन बनाएका छन् भने ७ विकेट लिएका छन्। अफ स्पिन समेत गर्ने उनले ४ टि२० खेलको २ पारीमा १८ रन बनाएका छन्।
सन् २०१७ मा भएको अल-इन्डिया स्पेरी ओम नाथ सुध क्रिकेट प्रतियोगिता अन्तर्गत उनले प्रि-क्वार्टरफाइनलमा १८० रन प्रहार गरेका थिए। मात्र ११८ बलको सामना गर्दा १२ छक्का र १३ चौका हानेका थिए।
काठमाडौँ गोल्डेन्स ( रणनैतिक खेलाडी: ज्ञानेन्द्र मल्ल )
ललित राजबंशी – २ लाख ५० हजार, अनिल साह – १ लाख ७० हजार , बिक्रम भुसाल – १ लाख ६० हजार , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार , योगेन्द्र कार्की – ७० हजार, नन्दन यादब – ५० हजार , सोनु तामांग – ६५ हजार , सुर्य तामांग – ५० हजार, मेहबुब आलम – ५० हजार , सुधिर चौधरी – ३० हजार , बिक्रम ठगुन्ना – ३० हजार
काठमाण्डौ खेलाडीको रकम सार्बजनिक गर्ने पहिलो टिम:
यस अघि विभिन्न समयमा निजि क्षेत्रहरुले बिदेशी खेलाडीहरु भित्राएर प्रतियोगिता आयोजना गरिरहेपनि काठमाण्डौ गोल्डेन्स खेलाडीहरुको रकम सार्बजनिक गर्ने पहिलो टिम बनेको छ। यस अघि धनगढी प्रिमियर लिगकै अघिल्लो संस्करण, एभरेस्ट प्रिमियर लिग तथा पोखरा प्रिमियर लिगमा समेत बिदेशी खेलाडीहरुको सहभागिता रहेको थियो।
काठमाण्डौ गोल्डेन्सका दुवै बिदेशी खेलाडीहरुले समान ३५०० डलर रकम प्राप्त गर्नेछन्।