धनगढी प्रिमिएर लिग २ अन्तर्गत पहिलो क्वालीफायरमा काठमाडौँ गोल्ड़ेंसले ९ विकेट गुमाउदै १२७ रन बनाएको छ। जितका लागि टिम चौराहा धनगढीले निर्धारित २० ओभर्समा १२८ रन बनाउनु पर्ने छ ।
टस जिती टिम चौराहाका कप्तान सोमपाल कामीले काठमाडौँ गोल्ड़ेंसलाई ब्याटिंग गर्न निमन्त्रण गरेका थिए। काठमाडौँको सुरुवात राम्रो हुन सकेन । प्रारम्भिक ब्याट्सम्यान सुबोथ भाटी खाता नखोली ललित भण्डारीको सिकार हुदै प्याभीलियन फर्किए । २७ रनको स्कोरमा काठमाडौँले भुपेन्द्र थापाको रुपमा आफ्नो दोश्रो विकेट गुमायो। धमलाको बलमा बोल्ड हुनु अघि भूपेन्द्रले १७ बलमा १० रन बनाए ।
त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र अमित श्रेष्ठले पारीलाई अघि बढाए । ज्ञानेन्द्र मल्ल आज निकै नै राम्रो लयमा देखिएका थिए । हरेक ओभरको सुरुवातमै प्रहार गर्दा बलरमाथि दबाव बनाउन सकिन्छ भन्ने सिद्धान्तमा देखिएका मल्लले पहिलो या दोश्रो बलमै सफलता पुर्वक चौका, छक्का प्रहार गरेका थिए । उता अमित श्रेष्ठले साझेदारीमा राम्रो साथ दिइरहे ।
१२.१ ओभरमा जब रोहन मुस्तफाको बलमा ज्ञानेन्द्र मल्ल लेग बिफोर विकेट हुन पुगे, तब काठमाडौँले आफ्नो लय गुमायो । नरेश बुढाऐर, सन्नी पटेल, रशिद खान र किशोर महतोले खास्सै केही गर्न सकेनन्। फर्ममा रहेका अमित श्रेष्ठ ३६ रनको व्यकतिगत स्कोरमा दुर्भाग्यवस रन आउट हुन पुगे । ज्ञानेन्द्र मल्लले भने आकार्शक पारी खेल्ने क्रममा ३ चौका र २ छक्काको मद्दतले २३ बलमा ३८ रन बनाएका थिए ।
टिम चौराहा धनगढीले निकै नै राम्रो बलिंग र फिल्डिंगको प्रदर्शन गर्यो । चौराहाका लागि सोमपाल कामी र ललित भण्डारीले २-२ विकेट लिए भने सुनिल धमला, संसद सेख र रोहन मुस्ताफाले १-१ विकेट हात पारे ।
काठमाडौँले यो खेल जित्न अब उत्कृस्ट बलिंग गर्नुको बिकल्प छैन । यो खेलको विजेताले धनगढी प्रिमिएर लिग २ को फाइनलमा स्थान बनाउने छ ।