नेपाल टी-२० लिग : काठमाडौँको विजयी सुरुवात

२०७९ पुष ९, शनिबार १४:२४

काठमाडौँ । अज्मतुल्लाह ओमारजाईको आक्रमक ब्याटिङप्रेरित काठमाडौँ नाइट्सले शनिबारदेखि सुरु भएको नेपाल टी-२० लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाएर एक सय ६२ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराले १९ ओभरमा सात विकेट गुमाएर एक सय ३६ मात्रै बनाउन सक्यो।

पोखराका लागि ओपनर उपुल थरङ्गाले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४४ रनको योगदान गरे। यस्तै, आरिफ शेखले २०, अमीर हम्जा र अभिमन्यु मिथुनले १८–१८ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

काठमाडौंका लागि अभिनाष बोहराले चार ओभरमा तीन विकेट लिए। यस्तै बासिर अहमदले दुई तथा अनिल खरेलले एक विकेट लिए।


पहिलो इनिङमा खराब सुरुआत गरेको काठमाडौंले ४८ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। तर, पाँचौं र छैटौं नम्बरमा क्रिजमा उत्रिएका सुनम गौतम र ओमारजाईले एक सय १४ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ डोर्याएका थिए।

सुनमले २८ बलमा दुई चौकासहित २७ रन जोड्दा ओमारजाईले ४२ बलमा तीन चौका र सात छक्कासहित ८५ रनको योगदान गरे। पोखराका लागि प्रतिश जिसी र जहिर खानले दुई–दुई तथा मौसम ढकालले एक विकेट लिए।

उद्घाटन समारोहका कारण ढिलो सुरु भएको खेलको एक ओभर घटाइएको थियो। आजदेखि सुरु भएको नेपाल टी २० लिगमा ६ टिम सहभागी छन्। आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फारवेस्ट युनाइटेड भिड्दै छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy