भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीको रेकर्ड तोड्दै दक्षिण अफ्रिकी ओपनर क्विन्टन डीककले नयाँ विश्वकीर्तिमान आफ्नो नाम गरेका छन्।
आयरल्याण्ड बिरुद्ध एकदिवसीय सिरिज अन्तर्गत शुक्रबार जारि दोश्रो खेलमा १२० रन बनाएका डीककले सबैभन्दा कम उमेरमा १० हजार अन्तर्राष्ट्रिय रन पुरा गर्ने विकेटकिपर ब्याट्सम्यानको कीर्तिमान आफ्नो नाम गरेका हुन्। यो कीर्तिमान बनाउने क्रममा उनले भारतीय पूर्व विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीलाई पछि पारेका हुन्।
धोनीले विकेटकिपरको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा ३० वर्ष ९९ दिनको उमेरमा १० हजार रन पुरा गरेका थिए। डीककले २८ वर्ष २११ दिनको उमेरमा यो रेकर्ड बनाएका हुन्। डीकक र धोनी पछि तेश्रो छिटो ३१ वर्ष २८० दिनमा श्रीलंकन पूर्व विकेटकिपर ब्याट्सम्यान कुमार संगाकाराले यो रेकर्ड बनाएका थिए।
विकेटकिपर ब्याट्सम्यानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गर्ने डीकक मात्र सातौँ खेलाडी हुन्। उनि भन्दा अघि कुमार संगकारा, महेन्द्र सिंह धोनी, एडम गिलक्रिस्ट, मुस्फिकुर रहिम, मार्क बाउचर र एन्डी फ्लावरले यो काम गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा विकेटकिपर ब्याट्सम्यानको रुपमा धेरै रन बनाउने ब्याट्सम्यान कुमार संगाकारा हुन् जसले कुल १७ हजार ८ सय ४० रन बनाएका छन्। दोश्रो धेरै धोनीले १७,२६६ रन, तेश्रो धेरै गिलक्रिस्टले १५,२५२ रन, चौथो धेरै रहिमले १०,७७९ रन, पाँचौ धेरै बाउचरले १०,४६३ रन, छैठौं धेरै फ्लावरले १०,२४९ रन बनाएका छन्। आयरल्याण्ड बिरुद्ध १२० रन बनाएका डीककको कुल अन्तर्राष्ट्रिय रन १०,००३८ पुगेको छ।
सन् २०१२ मा दक्षिण अफ्रीकाको लागि टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका देब्रे हाते ब्याट्सम्यान डीककले टेस्टमा ३,२४५ रन, एकदिवसीय अन्तर्राष्ट्रियमा ५,३५५ रन तथा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १,५५८ रन बनाएका छन्। यस क्रममा उनले टेस्टमा ६ वटा, एकदिवसीयमा १६ वटा शतक बनाएका छन्।
