IPL : राजस्थान बिरुद्ध कोलकाताको विशाल जित, प्लेअफ रेसबाट राजस्थान र पन्जाब बाहिर

२०७८ आश्विन २१, बिहीबार २३:३३

युएईमा जारि आईपीएल अन्तर्गत ५४ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८६ रनको विशाल अन्तरले पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले १६.१ ओभरमा ८५ रनमा सम्पूर्ण विकेट गुमायो।

राजस्थानको लागि राहुल तेवतियाले सर्वाधिक ४४ तथा शिभम दुबेले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। लक्ष्य पछ्याउने क्रममा राजस्थानले ३५ रन बनाउदा ७ विकेट गुमाएको थियो। त्यसपछि राहुल तेवतिया र जयदेव उनदकतले आठौँ विकेटको लागि २७ रनको साझेदारी गरे। कोलकाताको बलिंगमा शिभम माभीले सर्वाधिक ४ विकेट ( ३.१-०-२१-४ ) लिए भने लकी फर्गुसनले ३ ( ४-०-१८-३ ) तथा शकिब अल हसन ( १-०-१-१ ) र वरुन चक्रवर्तीले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १७१ रन बनाएको थियो। उसको लागि शुबमन गिलले सर्वाधिक ५६, भेंकटेस ऐयरले ३८ तथा राहुल त्रिपाठीले २१ रन बनाए। दिनेश कार्तिक र ओएन मोर्गनले अविजित रहँदै क्रमशः १४ र १३ रन बनाए। राजस्थानको बलिंगमा क्रिस मोरिस, चेतन सकरीया, राहुल तेवतिया र ग्लेन फिलिप्सले समान १ विकेट लिए।

जितसंगै कोलकाता लिग अंकतालिकामा १४ खेलमा समान ७ जित र ७ हार बेहोर्दै १४ अंक सहित चौंथो स्थानमा कायमै रहेको छ । कोलकाता लिगको प्लेअफ पुग्ने पनि निश्चित जस्तै भएको छ भने पन्जाब र राजस्थानको प्लेअफ पुग्ने सम्भावना सकिएको छ। लिग चरणमा एक खेल खेल्न बाँकी रहेको अवस्थामा यदी मुम्बईले अन्तिम खेलमा सनराइजर्स हैदरावादलाई विशाल अन्तरले पराजित गरेको खण्डमा मात्र मुम्बईले नेट रन रेटमा कोलकातालाई पछि पार्न सक्नेछ। मुम्बईको हाल १२ अंक रहेको छ र अन्तिम खेलमा जित दर्ता गरे कोलकातासंग समान १४ अंक हुनेछ। तर नेट रन रेटमा कोलकाता निकै माथि छ। यदी मुम्बईले पहिले ब्याटिंग गर्दै २५० माथिको स्कोर बनाउने र हैदरावादलाई १७० माथिको रन अन्तरले पराजित गर्ने हो भने मात्र मुम्बईले कोलकातालाई नेट रन रेटमा पछि पार्न सक्नेछ जुन असम्भव जस्तो देखिन्छ। त्यसैले अब कोलकाता प्लेअफ पुग्ने चौंथो टिम बन्ने निश्चित मानिएको छ। यस अघिनै चेन्नाई सुपर किंग्स, रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy