को हुन् राष्ट्रिय टिमका नयाँ फास्ट बलर गुल्सन झा ?

Gulsan Jha

आईसीसी विश्व क्रिप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र त्यस अघि पपुवा न्यु गिनीसंग सेप्टेम्बर ५ र ८ तारिखमा खेलिने दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियको लागि नेपाल क्रिकेट संघले शनिवार घोषणा गरेको १७ सदस्यीय टिममा गुल्सन झाले पनि स्थान बनाएका छन्। विश्वकप लिग-२ को बन्दप्रशिक्षणको लागि घोषित १९ सदस्यीय टिमबाट २ जना खेलाडीलाई मात्र बाहिर राख्दै क्यानले १७ जना खेलाडीलाई ओमान लैजानेछ जसमा झाले पहिलो पटक समुन्द्रपार यात्रा गर्नेछन्। नेपाली क्रिकेटमा उदयमान पेस बलरको रुपमा चर्चा बटुलेका गुल्सनको राष्ट्रिय टिमसम्मको यात्रा कसरि भयो यो लेखमा प्रस्तुत गरेका छौँ।

नेपाली क्रिकेटमा गुल्सनको नाम चर्चामा आएको लामो समय भएको छैन। पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा मौका पाएका गुल्सन दायाँ हाते तीव्र गति बलर हुन् जो आफ्नो गति र बाउन्सरको लागि परिचित छन्। सर्लाही मलंगवा घर भएका झासंग फास्ट बलरको लागि आवस्यक ६ फिट १ इन्च अग्लो र गठीलो शरीर तथा राम्रो गति रहेको छ। त्यसैकारण उनलाई सम्भावना बोकेको फास्ट बलरको रुपमा लिन थालिएको छ।

डेब्युमै उत्कृस्ट प्रदर्शन : गत वर्ष फाल्गुन अन्तिममा सम्पन्न काठमाडौँ मेयर्स कपको उपाधि नेपाल पुलिस क्लबले जित्दा फाइनलमा शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गरेको थियो। उक्त खेलमा पुलिस क्लबको लागि मात्र दोश्रो खेल खेलेका गुल्सन प्लेयर अफ द म्याच चुनिएका थिए। पुलिसले राष्ट्रिय टिमको लागि खेलीसकेका फास्ट बलर राशिद खानलाई बाहिर राख्दै गुल्सानलाई एक मात्र मुख्य फास्ट बलरको रुपमा मौका दिएको थियो।

युवा ओपनिंग बलरले फाइनलमा ७ ओभर बलिंग गर्दै ३६ रन खर्चेर ४ विकेट लिए। अघिल्लो खेलमा पुलिसको लागि काठमाडौँ मेयर्स-११ बिरुद्ध डेब्यु गरेका झाले दोश्रो खेलमै शानदार बलिंग गरे। खेलमा उनले एपीएफका स्टार ब्याट्सम्यान शरद भेसावकरलाई खाता नखोल्दै बाउन्सरमा विकेटकिपर दिलिप नाथबाट क्याच आउट गराए। शरद सहित उनले ४ रन बनाएका शंकर राना,  १४ रन बनाएका भुवन कार्की र १ रन बनाएका कमल सिंह ऐरीको विकेट लिए। भुवन बाहेक शंकर, शरद र कमललाई उनले बाउन्सर बलबाटै विकेट लिंदै पेभेलियन फर्काएका थिए। सुरुवातमै शंकर र शरदको विकेटपछि एपीएफ खेलमा फर्कन सकेन जसपछि मात्र १०५ रनमै समेटिन पुग्यो। पुलिसले ८ विकेटले खेल जित्दै उपाधि आफ्नो पक्षमा पर्यो। अघिल्लो खेलमा पनि गुल्सनले विकेट प्राप्त नगरेता पनि गति र बाउन्सरले बिपक्षी ब्याट्सम्यानहरुलाई अफ्टेरो बनाएका थिए। उक्त खेलमा उनले ६ ओभरमा २ मेडन ओभर गर्दै २२ रन खर्चेका थिए। प्रतियोगिताको दौरान उनले टियु क्रिकेट मैदानमा नेपाली फास्ट बलरहरुबाट बिरलै देखिने लगातार बाउन्सर गर्दै प्रतिभा देखाएका थिए।

पुलिस क्लबको यात्रा : पुलिसबाट खेल्नु अघि गुल्सनले प्रधानमन्त्री कपको लागि छनोट प्रतियोगिता आफ्नो प्रदेश-२ बाट खेलेका थिए। प्रदेशले उनलाई वैकल्पिक खेलाडीमा राख्दै मुख्य टिममा मौका दिएको थिएन। नेपाल पुलिस क्लबका फास्ट बलर ललित भण्डारी घाइते भएपछि पुलिसमा फास्ट बलरको अभाव रहेको थियो। पुलिसमा राशिद खान पनि अर्को राम्रो पेस बलरको अभाव रहँदै आएको थियो। त्यसैबेला पुलिसले उनको बारेमा सुनेपछि उनलाई ट्रायलको लागि बोलाएको थियो। त्यस अघि गुल्सनले काठमाडौँको नेक्सन क्रिकेट एकेडेमीमा केहि दिन अभ्यास गरेका थिए जहाँ उनलाई एकेडेमीले छात्रवृत्ति दिएको थियो। ट्रायलमा प्रशिक्षक मनोज कटवाललाई प्रभावित बनाएपछि उनलाई पुलिसले टिममा समाबेश गरेर अभ्यास गराएको थियो। काठमाडौँ मेयर्स कपको सुरुवाती खेलमा ढाडको समस्याको कारण खेल्न नपाएका उनले अन्तिम २ खेलमा मौका पाउदा आफुलाई उत्कृस्ट सावित गरे जसको बलमा विश्वकप लिग-२ अन्तर्गत ओमान भ्रमणको लागि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा मौका पाए।

“देख्ने बित्तिकै टिममा समाबेश गरेका थियौं” पुलिस कप्तान मन्जित श्रेष्ठ : एपीएफलाई पराजित गर्दै काठमाडौँ मेयर्स कपको उपाधि जितेपछि गुल्सनको तारिफ गर्दै पुलिस कप्तान मन्जित श्रेष्ठले पहिलो पटक देख्ने बित्तिकै पुलिस टिममा बोलाएको बताएका थिए। “हामीले उसलाई हेर्ने बित्तिकै पुलिस टिममा राख्यौं। नत्र ऊ प्रदेश नम्बर-२ को खेलाडी हो जहाँ उसलाई मैले सुने अनुसार प्रदेश नम्बर-२ ले टिममा समाबेश गरिएन। काठमाडौँ आउदा राम्रो छ भन्ने सुनेपछि ट्रायल लिएका थियौं जसमा एक पटक हेर्ने बित्तिकै उनको क्षमता थाहा पायौं र त्यही अनुरुप राम्रो देखेपछि पुलिसले मौका दिएका थियौं। एउटा प्रतिभा यसै गुम्न सक्थ्यो जसलाई हामीले मौका दिएका हौँ।”

श्रेष्ठले त्यस बेला गुल्सनको पेस राम्रो भएको तर फिटनेसमा मेहनत गर्नुपर्ने र त्यसो गरेको खण्डमा राष्ट्रिय टिमको फास्ट बलरको दाबेदार हुने बताएका थिए – “उसको गति राम्रो छ तर उसले फिटनेस बढाएको खण्डमा नेपालको लागि बेस्ट पेस बलरको दाबेदारी दिन सक्छ।

भारतमा सिकेको अनुभव : गुल्सन प्रधानमन्त्री कपमा गत वर्ष ट्रायल दिनु अघि २०१७ देखि भारतमा क्रिकेट सिक्दै आएका थिए। भारतको राँचीमा रहेको अरुणोदय क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै आएका उनको क्रिकेट मोह बुझेर उनका पिताले भारत पठाएका थिए। उनका पिता मलंगवामा इँटाभट्टा संचालन गर्छन् जसले छोराको इच्छा पुरा गर्न हरसभव प्रयास गरेका थिए। भारतमा रन्जी खेलीसकेका खेलाडीहरुसंग उनले क्रिकेट सिक्ने र खेल्ने अनुभव बटुलेका थिए। भारतमा क्रिकेट सिक्न जानको लागि उनले पढाइनै त्याग गरेका थिए। प्रधानमन्त्री कपको छनोट खेल्न नेपाल आएपछि उनि भारत भने फर्किएका छैनन्।

राष्ट्रिय टिमको लागि डेब्यु गर्ने इच्छा र सम्भावना : पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका झाको उद्देश्य राष्ट्रिय टिमको लागि डेब्यु गर्ने रहेको बताउदै आएका छन्। तर हालसम्म टिमको समीकरण हेर्दा झाको डेब्यु सहज भने छैन टिममा करन केसी, सोमपाल कामि, अविनाश बोहरा र बिक्रम सोब जस्ता अनुभवी खेलाडीहरुको उपस्थितिले डेब्युको लागि उनले प्रतिक्षा गर्नुपर्ने हुनसक्छ। यस अघि सामान्य १४/१५ सदस्यीय टोलिको घोषणा हुने भएता पनि खेलाडीहरुमा कोरोना देखिएमा प्रतिस्थापन ध्यानमा राख्दै टिमले अतिरिक्त खेलाडी ओमान लाने भएको हो जसकारण गुल्सनले टिममा मौका पाएका हुन्। घरेलु क्रिकेटमा प्रभावित बनाएका झाले ओमान टुरमा राष्ट्रिय टिमसम्मको यात्रा गर्न सक्नेछन् या छैनन् हेर्न लायक हुनेछ। पपुवा न्यु गिनीसंग दुई वटा खेल विश्वकप लिग-२ अन्तर्गत नरहेकोले टिमले उनलाई उक्त खेलमा डेब्यु गराउने थोरै सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय अनुभव नभएका उनले गति र बाउन्सर बाहेक बलिंगको अन्य बिबिधता तथा फिटनेस प्रमाणित गरेमा राष्ट्रिय टिमका नियमित पेसरको स्थानलाई गुल्सनले चुनौती दिन सक्नेछन्।

गुल्सनको बलिंग कस्तो छ हेर्नुस भिडियो 





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]