स्वर्गीय क्रिकेटर बिरेन्द्र शाहीको सम्झनामा कंचनजँघा भिजन स्पोर्ट्स क्लबले बाँकेको कोहलपुरमा “स्व. विरेन्द्र शाही मेमोरियल क्रिकेट प्रतियोगिता” आयोजना गर्ने भएको छ। कोहलपुरका स्थानीय क्रिकेटर शाहीको २५ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा गत महिना निधन भएको थियो।
चैत्र २५ गते देखि सुरु हुने प्रतियोगिता बैशाख १ गते सम्म संचालन हुनेछ। नकआउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल १६ टोलि सहभागी रहेका छन्। खेलहरु कोहलपुर-४ स्थित किरणखोला क्रिकेट मैदानमा खेलिनेछ।
प्रतियोगिताको विजेता टोलिले ५१ हजार रुपैयाँ, उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृस्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान ५ हजार रुपैयाँ, उदयमान खेलाडीले ३ हजार रुपैयाँ तथा उत्कृस्ट फिल्डरले २ हजार रुपैयाँ पाउनेछन्।
युभीसीसी ‘ए’ , कर्पोरेट टिम, कोहलपुर क्रिकेट एकेडेमी, धम्बोजी क्रिकेट क्लब, खजुरा क्रिकेट क्लब रनियापुर क्रिकेट क्लब, एनजीएमसी, कोहलपुर स्ट्राइकर्स, च्याम्पियन्स स्पोर्ट्स क्लब हवल्दारपुर, न्यु दर्पण युथ क्लब, नेपालगंज च्याम्प, सम्झना ‘ए’ , बिवाईटि, जगुआर क्रिकेट क्लब, युभीसीसी ‘बि’ र सम्झना ‘बि’ प्रतियोगितामा सहभागी टोलिहरु हुन्।
प्रतियोगिताको मुख्य प्रायोजक बलराम एण्ड पार्वती सप्लायर्स रहेको छ भने सह प्रायोजकमा कोहलपुर डेन्टल, पन्चकोशी देउती टुर्स एण्ड ट्राभल्स, मा पुर्नगिरी ट्रेडिङ रहेका छन्।

