T20WC : पहिलो जितपछि भारतीय कप्तान कोहलीले के भने

२०७८ कार्तिक १८, बिहीबार ००:२८

पाकिस्तान र न्युजिल्यान्डसंग विशाल अन्तरको हारपछि तेश्रो खेलमा अफगानिस्तानलाई  ६६ रनले पराजित गर्दै भारतले टि-२० विश्वकप २०२१ मा शानदार पुनरागमन गर्दै सेमीफाइनल सम्भावना जीवित राखेको छ। अफगानिस्तानसंगको हारले दुई खेल बाँकी रहँदै भारत दोश्रो चरण प्रवेश गर्ने सबै ढोका बन्द हुन्थ्यो। शेख जायद स्टेडियम, अबुधाबीमा भारतले दिएको २११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १४४ रन मात्र बनाउन सक्यो। ठूलो अन्तरको जितले भारतको नेट रन रेट -१.६०९ बाट +०.८१६ पुगेको छ।

जितपछि प्रतिक्रिया दिने क्रममा भारतीय कप्तान बिराट कोहलीले टस हारेर ब्याटिंग गरेता पनि विकेट राम्रो हुँदा ब्याट्सम्यानले रन बनाएको बताए। खेलमा भारतीय ओपनर केएल राहुल र रोहित शर्माले १४० रनको कीर्तिमानी ओपनिंग साझेदारी गरे भने अन्तिममा हार्दिक पान्ड्या र रिशभ पन्तले विस्फोटक ब्याटिंग गरे जसकारण भारतले जारि प्रतियोगिताकै सर्वाधिक योगफल बनायो।

“आज विकेट निकै राम्रो थियो जसको हामीले फाइदा उठायौं र ब्याट्सम्यानहरुले रन बनाए। यो खेलको लागि सकारात्मक यो रह्यो कि रोहित शर्मा र केएल राहुल लयमा देखिए भने आश्विनले शानदार पुनरागमन गरे।”कोहलीले बताए।

कोहलीले आफू ब्याटिंगमा नजानुको कारण पनि बताए – “धेरै यस्तो निर्णय हुन्छ जुन हामीले अचानक लिने गर्छौं त्यसैले आज म ब्याटिंग गर्न गईन। जब तपाईको टप-२ ब्याट्सम्यानले १४/१५ ओभर ब्याटिंग गर्छन् तब तपाईको पावर-हिटरको लागि सहि समय हुन्छ नत्र हाम्रो टप-३ निश्चित छ।  उनीहरुले आफ्नो कामलाई पूर्णता दिए।”

“नेट रन रेट हाम्रो दिमागमा थियो। हामीले टिम मिटिंगमा कुरा गरका थियौं कि हामिले कसरि छनोट हुन सक्छौं भन्ने कुरामा ध्यान दिनुपर्छ र सकारात्मक रही मौकाको सदुपयोग गर्नुपर्छ।” उनले थपे।

कोहलीले प्रतियोगितामा पहिलो पटक मौका पाएका स्पिनर रभीचन्द्रन आश्विनको तारिफ गरे। आश्विनले खेलमा ४ ओभर बलिंग गर्दै मात्र १४ रन खर्चेर महत्वपूर्ण २ विकेट लिए। “आश्विनको पुनरागमन निकै सकारात्मक छ जसको लागि उनले कठिन मेहनत गरेका थिए। उनले यस्तै नियन्त्रण र लय आईपीएलमा पनि देखाएका थिए। उनि विकेटकर्ता हुन् र चलाख बलर पनि।”

हारपछि अफगानिस्तान कप्तान मोहम्मद नाबीले भारतको तारिफ गरे – “हामी प्राय पहिले ब्याटिंग गर्ने गर्छौ आज शित आउने अनुमान गर्दै लक्ष्य पछ्याउने निर्णय गर्यौं। विकेट पनि निकै राम्रो थियो। हो मैदानमा शित धेरै थिएन तर विकेटले निकै राम्रो खेल्यो। भारतले निकै राम्रो ब्याटिंग गर्यो र हामीलाई दबाबमा राख्यो। आज हामीले सुरुवाती विकेट गुमाउन पुग्यौं जसले गर्दा दबाबमा भयौं। आशा छ हामीले अन्तिम खेल जित्ने छौँ।” नाबीले बताए।

भारतले आगामी खेल नोभेम्बर ५ तारिख शुक्रबार स्कटल्याण्डसंग तथा नोभेम्बर ८ तारिखमा नामिबियासंग खेल्नेछ। अफगानिस्तानले नोभेम्बर ७ तारिखमा न्युजिल्यान्डसंग खेल्नेछ।

जितपछि भारत समुह ‘२’ अंकतालिकाको चौंथो स्थानमा उक्लेको छ भने नेट रन रेटमा सुधार गरेको छ। खेल अघि -१.६०९ रहेको भारतको नेट रन रेट अब +०.८१६ पुगेको छ। समान २ अंक रहेको नामिबिया नेट रन रेटमा पछि रहँदै पाँचौ तथा जितविहिन स्कटल्याण्ड छैठौं स्थानमा छ। ४ वटै खेलमा जित दर्ता गरेको पाकिस्तान सेमीफाइनल प्रवेश गरिसकेको छ। अफगानिस्तान ४ खेलमा २ जित र २ हार पछि ४ अंक सहित दोश्रो स्थानमा छ भने ३ खेलमा ४ अंकनै रहेता पनि न्युजिल्यान्ड नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ।

भारत सेमीफाइनल पुग्न बाँकी दुवै खेलमा स्कटल्याण्ड र नामिबियालाई ठूलो अन्तर पराजित गर्नुपर्नेछ र त्यसको साथै न्युजिल्यान्डले बाँकी दुई खेल मध्ये एउटामा हार बेहोर्नुपर्नेछ। त्यसो भए समान ६ अंक रहेता पनि नेट रन रेटमा भारत अघि जान सक्नेछ। न्युजिल्यान्डले बाँकी दुई खेलमा अफगानिस्तान र नामिबियालाई पराजित गरेको खण्डमा भारत र अफगानिस्तानको सेमीफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ। अफगानिस्तान सेमीफाइनल पुग्न अन्तिम खेलमा न्युजिल्यान्डलाई पराजित गर्नुपर्नेछ भने भारत र न्युजिल्यान्डको समान ६ अंकनै भएता पनि नेट रन रेटमा पछि हुनुपर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy