धोनीको बचाउ गर्दै कोहलीले गरे मैदानको आलोचना

विश्वकपमा इंग्ल्याण्डसंग प्रतियोगितामा पहिलो हार बेहोरेपछि भारतीय कप्तान बिराट कोहलीले खेल भएको एजब्यासटन बर्मीन्घम मैदानको आलोचना गरेका छन्।

खेलमा इंग्ल्याण्डले दिएको ३३८ रन लक्ष्य पछ्याउने क्रममा भारतले ३०६ रन मात्र बनाउन सकेपछि ३१ रनले पराजित भएको थियो।

हार पछि प्रतिक्रिया दिंदै कोहलीले मैदानको समेत आलोचना गरेका हुन्। फ्ल्याट ब्याटिंग पिच रहेको एजब्यासटन मैदानको एउटा भाग मात्र ५९ मिटर रहेकोमा कोहलीले आलोचना गर्दै इंग्ल्याण्ड ब्याट्सम्यानहरुले त्यसको फाइदा उठाएको बताए –

टस महत्वपूर्ण थियो भन्ने प्रश्नमा कोहलीले मैदान प्रति व्यंग्य गर्दै यस्तो बताए –

“टस पक्कै महत्वपूर्ण थियो, अझ विशेष गरी यस्तो छोटो बाउन्ड्रीमा।”

“यस्तो फ्ल्याट ब्याटिंग पिचमा यति छोटो बाउन्ड्री अजिबको लाग्यो। हामीले यस्तो अनुभव गरेको पहिलो पटक हो।”

आईसीसीको प्लेयिंग कन्डीसन अनुसार मैदानको बाउन्ड्री निम्नतम ६५ यार्ड ( ५९.४३ मिटर ) हुनु पर्ने हुन्छ। एजब्यासटन मैदानको एउटा भाग मात्र ५९ मिटर हुँदा आफ्नो स्पिनरलाई मुस्किल भएको कोहलीले बताए।

“ब्याट्सम्यानले रिभर्स स्विप गर्दा, ५९ मिटर बाउन्ड्रीमा छक्का हुन्छ भने स्पिनरको रुपमा तपाई बढी गर्न सक्नुहुन्न। छोटो बाउन्ड्रीमा रन जोगाउन मुस्किल थियो तर इंग्ल्याण्ड बलिंग लाइनमा बढी अनुशासित देखिए”

लक्ष्य पछ्याउने क्रममा खेलमा भारतले पहिलो १० ओभरमा मात्र २८ रन बनाएको थियो। त्यसपछि कोहलीले अर्धशतक र रोहितले शतक बनाउदै इनिंग अघि बढाएका थिए। अन्तिम १० ओभरमा १०४ रन आवस्यक हुँदा ४५ औं ओभरमा हार्दिक पान्ड्याको विकेट पछि भारतले सुस्त ब्याटिंग गरेको थियो। धोनी र केदार जाधबले अन्तिमको ओभरमा आक्रमक ब्याटिंग गर्न नसक्दा आलोचना सहनु परेको छ।

“एक समय इंग्ल्याण्डले ३६० रन बनाउला जस्तो लागेको थियो तर हामीले राम्रो गर्यौं र रोक्न सफल भयौं। १०-१५ रन कम भएको भए अझ राम्रो हुन्थ्यो। बेन स्टोक्सले गजबको ब्याटिंग गरे र हामि ३३० मा इंग्ल्याण्डलाइ रोक्दा खुसि नै थियौं”

“पान्ड्या र पन्त ब्याटिंग गर्दा हामिसंग जित्ने राम्रो मौका रहेको थियो। उनीहरु ठुलो सटहरु खेल्न त्यहाँ थिए। हामीले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो जसले ठुलो लक्ष्य पछ्याउन मद्दत गरेन।”

कोहलीले धोनीको बचाउ समेत गरे –

“मलाई लछ धोनी बाउन्ड्री प्रहार गर्न प्रयास गर्दै थिए तर आइरहेको थिएन। उनीहरुले राम्रो ठाउँमा बलिंग गरे र बल पनि रोकिएर आइरहेको थियो।”

इंग्ल्याण्ड कप्तान ओएन मोर्गानले आफ्नो टिमले निकै राम्रो खेलेको प्रतिक्रिया दिए –

“हामीले निकै राम्रो खेल्यौं। जेसन रोयको आगमन र जोन्नीको शतक हेर्न लायक थियो। हाम्रो बलरहरुले र विशेष गरि प्लंकेटले असाधारण प्रदर्शन गरे र बिगत ४ वर्ष देखि गर्दै आएका छन्।”

“प्रतियोगितामा हाम्रो लागि सहज खेल कुनै छैन। सबै खेल एकदमै मुस्किल छ र हामि त्यसको सामना गर्दै जानेछौँ”

विश्वकप सेमीफाइनलमा ८ खेलमा १४ अंक बटुल्दै अस्ट्रेलियाले प्रवेश निश्चित गरिसकेको छ भने समान ११ अंक बटुलेको भारत र न्युजिल्याण्ड पनि सेमीफाइनल पुग्ने निश्चित जस्तो छ।

अंकतालिकामा इंग्ल्याण्डको ८ खेलमा ५ जित सहित १० तथा पाकिस्तानको ८ खेलमा ४ जित सहित ९ अंक रहेको छ। बंगलादेशको ७ खेलमा ३ जित सहित ७ अंक रहेको छ।

इंग्ल्याण्डले जुलाई ३ मा न्युजिल्याण्डसंग खेल्न बाँकी रहेको छ।

इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गरे सेमीफाइनलमा स्थान पक्का गर्नेछ। यदी इंग्ल्याण्ड न्युजिल्याण्डसंग पराजित भएको खण्डमा भने पाकिस्तानले बंगलादेशसंग हार्नुपर्नेछ साथै बंगलादेशले बाँकी रहेको २ खेल मध्ये कम्तिमा एउटा खेलमा हार्नुपर्नेछ।

पाकिस्तानले अब जुन ५ मा बंगलादेशसंग खेल्नेछ।

भारतले इंग्ल्याण्डसंग पराजित भए पछि पाकिस्तानको सेमी फाइनल यात्रा कठिन भए पनि अझै सम्भावना जिवितै छ। अब पाकिस्तानले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेर मात्रै पुग्दैन त्यो संगै अर्को खेलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई समेत पराजित गर्नुपर्नेछ। इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गर्यो भने पाकिस्तानको सम्भावना असम्भव जस्तो छ किनकि न्युजिल्याण्डको नेट रन रेट ( +०.५७२ ) पाकिस्तानको नेट रन रेट ( -०.७९२ ) भन्दा निकै माथि रहेको छ।

भारतले बंगलादेशसंग जुलाई २ र श्रीलंकासंग जुलाई ६ मा खेल्नेछ। भारतले बाँकी २ खेल मध्ये एउटा खेलमा जित हाँसिल गरे सेमीफाइनलमा स्थान पक्का गर्नेछ। यदी बाँकी दुवै खेलमा भारत पराजित भए नेट-रन रेटको हिसाबको आधारमा पनि भारत अघि बढ्न सक्छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy