T20WC : कोहलीद्वारा पाकिस्तान टिमको तारिफ “पाकिस्तान निकै बलियो टिम हो”

पाकिस्तानसंग आईतबार पहिलो खेल खेल्दै टि-ट्वान्टी विश्वकपको सुरुवात गर्नु अघि भारतीय कप्तान बिराट कोहलीले इतिहास भारतको पक्षमा रहेता पनि वर्तमान पाकिस्तान टिम बलियो भएको बताएका छन्। भारतले विश्वकप इतिहासमा टि-ट्वान्टी र एकदिवसीय फर्म्याटमा खेलेको सबै १२ खेलमा पाकिस्तानलाई पराजित गरेको छ।

“रेकर्ड र बिगतको प्रदर्शन बारे हामीले कहिले चर्चा गरेका छैनौँ।” बहुप्रतिक्षित प्रतिस्पर्धा अघि कोहलीले दुबईमा मिडिया कुराकानीमा बताए।

“यस्तो कुराहरुले ध्यान भंग गर्छ। महत्वपूर्ण कुरा हामीले कस्तो तयारी गरेका छौँ र खेलको दिन प्रतिद्वन्द्वी बिरुद्ध प्रदर्शन कस्तो हुन्छ भन्ने हो।”

कोहलीले बिगतको प्रदर्शन जस्तो भएता पनि पाकिस्तान टिम प्रतिभावान खेलाडीहरुले भरिएको बताए – “मेरो हिसाबले पाकिस्तान निकै बलियो टिम हो र सधैं बलियो रहँदै आएको छ। तपाईले उनीहरुसंग उत्कृस्ट क्रिकेट खेल्नुपर्छ किनकि उनीहरुसंग खेल परिवर्तन गर्न सक्ने खेलाडीहरु छन्।”

बाबर आजम कप्तानीको पाकिस्तान टिमले भारत बिरुद्ध टि-ट्वान्टी विश्वकपको पछिल्लो ५ खेलको हार भुलाउने प्रयास गर्नेछ। टिमको ब्याटिंग आक्रमणमा बाबर, मोहम्मद रिजवान र फखर जमान तथा बलिंगमा शाहिन अफ्रिदी र हसन अलि जस्ता क्षमतावान खेलाडीहरु छन्।

कोहलीले पछिल्लो समय बलिंग गर्न संघर्ष गरिरहेका अलराउण्डर हार्दिक पान्ड्याले बलिंग गर्न सक्ने बताए – “उनि कम्तिमा २ ओभर बलिंग गर्नको लागि तयार हुँदैछन्। उनको उपस्थितिले छैठौं नम्बर बलियो हुन्छ जो ब्याटबाट मात्रै खेल बिपक्षीबाट खोस्न सक्षम छन्”  दुई वर्ष अघि ढाडको सर्जरी पछि पान्ड्या बलिंग गर्न संघर्ष गरिरहेका छन्। आईपीएलको दोश्रो फेजमा पान्ड्या बलिंग गर्दै गरेको देखिएका थिएनन्।

जारी टि-२० विश्वकप बिराट कोहलीको कप्तानीमा भारतको अन्तिम टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता हो। कोहलीले यस बारे भने बोल्न चाहेनन्- “हाम्रो फोकस विश्वकप हो र टिमको रुपमा उत्कृस्ट के गर्न सक्छौं गर्नेछौँ।”

विश्वकपमा भारत रहेको समुह ‘२’ मा स्कटल्याण्ड, नामिबिया,पाकिस्तान,न्युजिल्यान्ड र अफगानिस्तान छन्। सबै ६ टिमले एक अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट हुने दुई टिम सेमीफाइनल प्रवेश गर्नेछ। यस्तै समुह ‘१’ मा श्रीलंका र बंगलादेश सहित अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र इंग्ल्यान्ड छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy