विराट कोहलीलाई आइसीसीको कारवाही

भारतीय टोलीका कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आइसीसी ) ले कारवाही गरेको छ। जारी विश्वकप क्रिकेट अन्तर्गत शनिवार सम्पन्न अफगानिस्तान बिरुद्धको खेलका क्रममा नियम तोडेको आरोपमा कोहली कार्वाहीमा परेका हुन्।

अफगानिस्तान बिरुद्धको खेलका क्रममा धेरै अपिल गरेको भन्दै कोहलीलाई आइसीसीले कारवाही गरेको हो। आइसीसीको लेभल १ नियम अनुसार कुनै खेलाडीले खेलका दौरान अत्यधिक अपिल गरेमा उसलाई कार्वाही गर्ने गरिन्छ। कोहलीले अब आफ्नो म्याच फि को  २५% रकम जरिवाना स्वरूप आइसीसीलाई बुझाउनु पर्नेछ।

कोहलीलाई खेलको २९ औं ओभरमा जबर्जस्ति एलबिडब्ल्युको अपिल गरेको र अम्पाएर अलिम दारतर्फ औला इंकित गरेको भन्दै कार्वाही गरेको म्याच रेफ्री क्रिस ब्रोडले जनाएका छन्। कोहलीले पनि आफ्नो गल्ति स्वीकारिसकेका छन्।

जरिवानासंगै कोहलीले आफ्नो अनुशासन रेकर्डमा १ डिमेरिट अंक समेत प्राप्त गरेका छन्। यसअघि सन् २०१८ मा दक्षिण अफ्रिकासँगको टेस्ट सिरिजको दौरान समेत १ डिमेरिट अंक प्राप्त गरेका थिए। कुनै खेलाडीले २४ महिना भित्रको समयमा कुल ४ डिमेरिट अंक प्राप्त गरेमा १ टेस्ट वा २ एक दिवसीय अन्तर्राष्ट्रिय वा ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाईन्छ।

अत्यन्त रोमान्चक खेलमा शनिवार अफगानिस्तानलाई ११ रनले पराजित गर्दै भारतले आईसीसी विश्वकपमा चौथो जित दर्ता गरेको थियो।

भारतले पहिले ब्याटिंग गर्दै बनाएको २२४ रनको जवाफमा ब्याटिंग गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाउदा भारतले कठिन जित हाँसिल गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy