बिराट कोहली गोल्डेन डक

२०७८ श्रावण २१, बिहीबार १९:१८

इंग्ल्यान्ड र भारत बीच जारि पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको पहिलो इनिंग्समा भारतीय कप्तान बिराट कोहली गोल्डेन डक भएका छन्।

चेतेश्वर पुजारा आउट भएपछि ब्याटिंग गर्न आएका कोहलीलाई इंग्ल्यान्डका दायाँ हाते पेसर जेम्स एण्डरसनले पहिलो बलमै विकेटकिपर जोस बटलरबाट क्याच आउट गरेका हुन्। एण्डरसनले गरेको गुड लेन्थ बल हल्का बाहिर गैरहेको थियो जसलाई कोहलीले रक्षात्मक ढंगले ब्लक गर्ने प्रयास गरेका थिए तर ब्याटको बाहिरि किनारा लाग्दा किपरको ग्लब्समा बल पुगेको थियो।

टेस्ट क्रिकेट इतिहासमा कोहली पाँचौ पटक गोल्डेन डक भएका हुन्। जस अघि २०११/१२ मा अस्ट्रेलियाका बेन हिल्फेनहाउसले, २०१४ मा इंग्ल्यान्डका लियाम प्लंकेटले, २०१८ मा स्टुवार्ट ब्रोडले तथा २०१९ मा वेस्टइन्डिजका केमार रोचले उनलाई गोल्डेन डक बनाएका थिए।

इंग्ल्यान्डले पहिलो इनिंग्समा १८३ रन बनाएपछि आफ्नो पहिलो इनिंग्स ब्याटिंग गरेको भारतले दोश्रो दिन कप्तान कोहली सहित, रोहित शर्मा, चेतेश्वर पुजारा र अजिंके रहानेको विकेट गुमाएको छ। रोहितले ३६ रन, पुजाराले ४ रन तथा अजिंके रहानेले ५ रन बनाए। यो समाचार तयार पार्दा भारतले ४६ ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको छ। क्रिजमा ओपनर केएल राहुल ५७ रनमा तथा रिशभ पन्त ७ रनमा अविजित रहेका छन्। इंग्ल्यान्डको पहिलो इनिंग्सको योगफल भन्दा भारत अझै ५८ रनले पछि रहेको छ।

टेस्टमा टस जितेर ब्याटिंग रोजेको इंग्ल्यान्डले पहिलो इनिंग्समा १८३ रन मात्र बनाउन सकेको थियो। उसको लागि कप्तान जो रुटले सर्वाधिक ६४ रन बनाएका थिए। भारतको बलिंगमा जस्प्रित बुम्राहले ४, मोहम्मद शामीले ३ , शार्दुल ठाकुरले २ तथा मोहम्मद सिराजले १ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy