भारत र वेस्टइन्डिज बीच जारि एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा भारतीय कप्तान बिराट कोहलीले नयाँ किर्तिमान आफ्नो नाम लेखाएका छन्।
ट्रिनिडाडमा जारि खेलमा भारतले टस जितेर ब्याटिंग गरिरहेको छ। यो समाचार तयार पार्दा भारतले ३९ औं ओभरमा ३ विकेट गुमाएर २०२ रन बनाएको छ।
खेलमा कोहलीले करियरको ४२ औं शतक पुरा गर्ने क्रममा भारतीय पुर्व कप्तान सौरभ गांगुलीको किर्तिमान तोडेका हुन्। कोहली अब भारतको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने सुचीमा गांगुलीलाई पछि छाड्दै दोश्रो स्थानमा उक्लेका छन्।
गांगुलीले कुल ३११ खेल खेल्दा ११ हजार ३ सय ६३ रन बनाएका थिए। १९९२ देखि २००७ सम्म गांगुलीले भारतको लागि खेल्ने क्रममा २२ शतक र ७२ अर्धशतक बनाएका थिए।
कोहलीले २३८ औं खेल खेल्ने क्रममा गांगुलीको रेकर्ड तोडेका हुन्। २२९ इनिंगमा ब्याटिंग गर्दै कोहलीले ४२ शतक र ५५ अर्धशतक प्रहार गरिसकेका छन्।
यस्तै कोहली वेस्टइन्डिज बिरुद्ध एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान समेत बनेका छन्। जाभेद मियायादले वेस्टइन्डिज बिरुद्ध १ हजार ९ सय ३० बनाएका थिए जसलाई आज कोहलीले उछिनेका हुन्।
एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको लागि र विश्वकै धेरै रन बनाउने ब्याट्सम्यान सचिन तेन्दुलकर हुन्। सचिनले १९८९ देखि २०१२ सम्म भारतको लागि एकदिवसीय खेल्ने क्रममा ४६३ खेलमा १८ हजार ४ सय २६ रन बनाएका थिए जुन क्रममा ४९ शतक र ९६ अर्धशतक प्रहार गरेका थिए।
एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने सुचीमा कोहली आठौँ स्थानमा रहेका छन्। सचिन पछि दोश्रो स्थानमा १४ हजार २ सय ३४ रन बनाएका श्रीलंकन ब्याट्सम्यान कुमार साँगाकारा रहेका छन्। रिकी पोंटिंग ( १३,७०४ ) तेश्रो, सनथ जयसूर्या ( १३,४३० ) चौथो, महेला जयवर्दने ( १२,६५० ) पाँचौ स्थानमा रहेका छन्। इन्जमाम उल हक ( ११,७३९ ) छैठौं, ज्याक कालिस ( ११,५७९) सातौँ स्थानमा छन्।
एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान – सचिन तेन्दुलकर – १८,४२६ , कुमार साँगाकारा – १४,२३४ , रिकी पोंटिंग – १३,७०४ , सनथ जयसूर्या – १३,४३० , महेला जयवर्दने – १२,६५० , इन्जमाम उल हक – ११,७३९ , ज्याक कालिस – ११,५७९ , बिराट कोहली – ११,३६४+ ( ब्याटिंग जारी ) , सौरभ गांगुली – ११,३६३
कोहली एकदिवसीयमा धेरै शतक बनाउने ब्याट्सम्यानको सुचीमा पनि दोश्रो स्थानमा रहेका छन्। कोहलीले ४१ शतक र ५५ अर्धशतक बनाएका छन्। टपमा रहेका तेन्दुलकरको ४९ शतक रहेको छ। तेश्रो नम्बरमा रहेका पोंटिंगको ३० शतक रहेको छ। रोहित शर्माले २७ शतक बनाएका छन्।
एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने ब्याट्सम्यान :- सचिन तेन्दुलकर – ४९ शतक , बिराट कोहली – ४२ शतक , रिकी पोंटिंग – ३० शतक , सनथ जयसूर्या – २८ शतक , हसिम अमला र रोहित शर्मा – २७ शतक , एबी डी भिल्लियर्स, क्रिस गेल, कुमार साँगाकारा – २५ शतक
टेस्ट क्रिकेटमा कोहलीले ७७ खेलमा ६ हजार ६ सय १३ रन बनाएका छन् जुन क्रममा २५ शतक र ५० अर्धशतक बनाएका छन्। टि-२० मा शतक प्रहार गर्न नसकेका कोहलीले ७० खेलमा २ हजार ३ सय ६९ रन बनाएका छन्।
टेस्टमा करिब ५३.७६ , एकदिवसीयमा ५९.४० र टि-२० मा ४९.३५ को औशतले कोहली रन बनाईरहेका छन्।