नयाँ कीर्तिमान बनाउदै विश्वकै एक मात्र खेलाडी बने कोहली

२०७८ असार ६, आईतवार ०८:५८

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्ड बिरुद्ध कप्तानी गरिरहेका भारतीय खेलाडी बिराट कोहलीले ठूलो कीर्तिमान आफ्नो नाम गरेका छन्।

कोहली विश्वकै एक मात्र खेलाडी बन्न पुगेका हुन् जसले आईसीसीले आयोजना गर्ने सबै ठूलो प्रतियोगिताको फाइनल खेलेका छन्।

सन् २०११ मा भारतले श्रीलंकालाई पराजित गर्दै एकदिवसीय विश्वकपको उपाधि जित्दा कोहली पहिलो पटक महेन्द्र सिंह धोनीको कप्तानीमा भारतीय टिमको हिस्सा रहेका थिए। उक्त खेलमा कोहलीले ४९ बलमा ३५ रन बनाएका थिए।

दुई वर्ष पछि सन् २०१३ मा धोनीकै कप्तानीमा भारतले इंग्ल्यान्डलाई पराजित गर्दै आईसीसी च्याम्पियन्स ट्रफी जित्दा कोहलीले भारतको लागि सर्वाधिक योगदान दिने क्रममा ३४ बलमा ४३ रन बनाएका थिए।

कोहलीले हालसम्म पाँच वटा आईसीसीको ठूलो इभेन्टको फाइनल खेलीसकेका छन्

२००७ टि-२० विश्वकपमा हिस्सा नरहेका कोहलीले ७ वर्ष पछि धोनीको कप्तानीमा २०१४ को टि-ट्वान्टी विश्वकपको फाइनल खेल्न पुगे। उक्त खेलमा भारत श्रीलंकासंग पराजित हुँदा कोहली भारतको लागि सर्वाधिक रनकर्ता रहेका थिए। भारतले १३१ रन मात्र बनाउदा कोहलीले ५८ बलमा ७७ रन बनाएका थिए।

धोनीले कप्तानी छोडेपछि सन् २०१७ को च्याम्पियन्स ट्रफीमा कोहलीले भारतको कप्तानी सम्हालेका थिए। भारत फाइनलमा चिर प्रतिद्वन्द्वी पाकिस्तानसंग पराजित भएको थियो जुन क्रममा सरफराज एहमद कप्तानीको टिमले कोहलीको कप्तानीमा पहिलो उपाधि जित्न रोकेको थियो।

कोहलीले सन् २००८ को आईसीसी अन्डर-१९ विश्वकपमा समेत भारतको नेतृत्व गर्दै उपाधिनै दिलाएका थिए। उक्त विश्वकप जोड्ने हो भने कोहलीले ५ वटा ठूलो आईसीसी प्रतियोगिताको फाइनल खेल्ने सौभाग्य पाएका छन्।

टेस्ट च्याम्पियनसिपको अघि सम्म धोनी र कोहली सबै आईसीसीको ठूलो इभेन्टको फाइनल खेल्ने खेलाडी थिए। तर धोनीले २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि कोहली दुर्लभ कीर्तिमान बनाउने एक मात्र सक्रिय खेलाडी बनेका छन्। आफ्नै नेतृत्वमा भारतलाई ऐतिहासिक पहिलो वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि दिलाउने अवसर समेत कोहलीसंग रहेको छ।

सम्बन्धित –

WTC FINAL : लगातार विकेट पछि भारत सम्हालियो, अर्धशतक नजिक कोहली

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy