इंग्ल्याण्डमा जारि आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिज र भारत बीच जारि खेलमा भारतीय कप्तान बिराट कोहलीले अर्को ठुलो विश्वकिर्तिमान कायम गरेका छन्। खेलमा भारतले टस जितेर ब्याटिंग गरिरहेको छ।
वेस्ट इन्डिजसंग कोहलीले ३७ रन पुरा गर्ने वितिकै कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पुरा गरेका छन्।
टेस्ट, एकदिवसीय र टि-२० गरि २० हजार रन पुरा गर्ने कोहली विश्वकै सबैभन्दा छिटो क्रिकेटर बनेका हुन्। यस क्रममा कोहलीले विश्व क्रिकेटमा २ ठुला क्रिकेटर सचिन तेन्दुलकर र ब्रायन लाराको रेकर्ड तोडेका छन्।
कोहलीले ३७५ खेलको ४१७ औं इनिंगमा २० हजार रन पुरा गरेका हुन्। यस क्रममा कोहलीले कुल ६६ शतक र ९२ अर्धशतक प्रहार गरेका छन्।
सचिन र लारा दुवैले २० हजार अन्तर्राष्ट्रिय रन पुरा गर्न ४५३ इनिंग लगाएका थिए। कोहलीले ३६ इनिंगले सचिन र लारालाई उछिनेका हुन्। यो रेकर्ड छिटो बनाउने सुचीमा तेश्रो स्थानमा रहेका अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोंटिंग रहेका छन् जसले ४६८ खेलमा यो सफलता हाँसिल गरेका थिए।
कोहलीले टेस्टमा १३१, एकदिवसीय २२४ तथा टि-२० मा ६२ इनिंग खेलेका छन्। यस क्रममा टेस्टमा ६,६१३ रन, एकदिवसीयमा ११,९४० ( खेल जारि ) तथा टि-२० मा २२६३ रन बनाएका छन्। टेस्टमा उनले २५ शतक र २० अर्धशतक, एकदिवसीयमा ४१ शतक र ५२ अर्धशतक तथा टि-२० मा २० अर्धशतक बनाएका छन्।
टेस्टमा कोहलीले ५३.७६, एकदिवसीयमा ५९.६० तथा टि-२० मा ५०.२८ को औशतले उनले रन बनाएका छन्। टेस्टमा उनको सर्वाधिक व्यक्तिगत स्कोर २४३, एकदिवसीयमा १८३ तथा टि-२० मा ९०* रहेको छ।
२० हजार माथि अन्तर्राष्ट्रिय रन बनाउने अन्य क्रिकेटरहरु :- सचिन तेन्दुलकर ( ३४,३५७ ) , कुमार साँगाकारा ( २८,०१६ ) , रिकी पोंटिंग २७४८३, महेला जयवर्धने २५९५७, ज्याक कालिस ( २५५३४ ) , राहुल द्रविड ( २४२०८ ) , ब्रायन लारा ( २२३५८ ) , सनथ जयसूर्या ( २१०३२ ) , शिभनारायण चन्द्रपाल ( २०९८८ ) , इन्जमाम उल हक ( २०५८० ) , एबि डी भिल्लीयर्स ( २००१४ )
सबैभन्दा धेरै अन्तर्राष्ट्रिय रन बनाउने क्रिकेटर सचिन तेन्दुलकर हुन् जसले ६६४ खेलको ७८२ इनिंगमा ३४,३५७ रन बनाएका छन् जुन क्रममा ४८.५२ को औशतले रन बनाउदै १०० शतक र १६४ अर्धशतक बनाएका छन्। दोश्रो स्थानमा रहेका कुमार संगाकाराले ५९४ खेलको ६६६ इनिंगमा २८,०१६ रन बनाएका छन् जसले ४६.७७ को औशतले रन बनाउदै ६३ शतक र १५३ अर्धशतक बनाएका छन्।
कोहलीले गत वर्ष अक्टोबरमा वेस्ट इन्डिजसंग एकदिवसीय अन्तर्राष्ट्रियमा १०,००० रन पुरा गरेका थिए। सो क्रममा पनि उनले सचिन सबै भन्दा छिटो १०,००० रन बनाउने ब्याट्सम्यानको रेकर्ड तोड्दै २०५ इनिंगमा उक्त रन बनाएका थिए।
सचिन तेन्दुलकर पछि एकदिवसीयमा धेरै शतक बनाउने रेकर्ड पनि कोहलीकै नाममा रहेको छ। सचिनले ४९ शतक बनाएका थिए भने कोहली उनको रेकर्ड तोड्न अब मात्र ९ शतक टाढा रहेका छन्। ५० शतक बनाउने पहिलो ब्याट्सम्यान बन्ने समेत कोहलीको सम्भावना रहेको छ। कोहली पछि धेरै शतक बनाउनेमा तेश्रो नम्बरमा रहेका रिकी पोंटिंगको ३० शतक रहेको छ।
जारि विश्वकपमा फर्ममा रहेका कोहलीले दक्षिण अफ्रीकासंग १८, अस्ट्रेलियासंग ८२, पाकिस्तानसंग ७७ तथा अफगानिस्तानसंग ६७ रन बनाएका थिए।
३१ वर्षीय कोहलीले सन् २००८ मा श्रीलंका बिरुद्ध भारतको लागि एकदिवसीयमा डेब्यु गरेका थिए।