पहिलो इनिंग्समा लज्जास्पद ब्याटिंग गर्दै ७८ रनमै समेटिन पुगेको भारतले दोश्रो इनिंग्समा उत्कृस्ट पुनरागमन गरेको छ।
हेडिंगलेमा जारी टेस्टको तेश्रो दिन समाप्तिमा दोश्रो इनिंग्समा भारतले ८० ओभर ब्याटिंग गर्दा २ विकेट गुमाएर २१५ रन बनाएको छ। इंग्ल्यान्डको पहिलो इनिंग्सको योगफल भन्दा भारत अझै १३९ रनले पछि रहेको छ।
ओपनर केएल राहुल ८ रन बनाएर ओभरटनबाट क्याच आउट भएपछि अर्का ओपनर रोहित शर्माले चेतेश्वर पुजारासंग ८२ रनको साझेदारी गरे। रोहितलाई ओली रोबिन्सनले एलबिडब्लु आउट गरे जस अघि उनले १५६ बलमा ७ चौका र १ छक्का मद्दतले ५९ रन बनाए। तेश्रो विकेटको लागि पुजाराले कप्तान बिराट कोहलीसंग ९९ रनको साझेदारी गर्दा दिनको समाप्ति भएको थियो। सिरिजमा पहिलो अर्धशतक बनाएका पुजारा ९१ रनमा अविजित छन् जुन क्रममा १८० बलमा १५ चौका प्रहार गरेका छन्। कप्तान कोहली पनि सिरिजको सर्वाधिक स्कोर बनाउने क्रममा ४५ रनमा अविजित छन् जुन क्रममा ९४ बलमा ६ चौका प्रहार गरेका छन्।
इंग्ल्यान्डको बलिंगमा ओली रोबिन्सन ( १८-४-४०-१ ) र क्रेग ओभरटनले समान १ विकेट लिएका छन्।
तेश्रो दिनको सुरुवात ४२३/८ को योगफलबाट गरेको इंग्ल्यान्डले योगफलमा थप ९ रन जोड्दा बाँकी २ विकेट गुमाउन पुग्यो। ३२ रन बनाएका ओभरटनलाई मोहम्मद शामीले तथा खाता नखोल्दै ओली रोबिन्सनलाई जस्प्रित बुम्राहले बोल्ड गरे। इंग्ल्यान्डको इनिंग्समा कप्तान जो रुटले सर्वाधिक १२१ रन बनाएका थिए।
टेस्टको पहिलो इनिंग्समा भारतले ७८ रन बनाएको थियो भने इंग्ल्यान्डले ४३२ रन बनाउदै ३५४ रनको विशाल अग्रता हाँसिल गरेको थियो।
पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट बर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो भने दोश्रो टेस्टमा भारत १५१ रनले विजयी भएको थियो।