मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

२०८० मंसिर ५, मंगलवार २०:०८

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ ।

मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोटर्स एकेडेमीका दुई टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिएको छ ।

पोखरा रङ्गशालामा हुने प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद पाउनेछन् । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट व्याटर र बलरले जनही २० हजार तथा म्यान अफ द म्याचले नगद पाँच हजार रुपियाँ पाउने बताउनुभयो ।

यो प्रतियोगितालाई निरन्तरता दिइने अध्यक्ष आचार्यको भनाइ छ । “प्रत्येक वर्ष वा हरेक दुई वर्षमा फरक–फरक ठाउँमा योजना बनाएका छौँ । पुरस्कार राशि पनि बढाउँदै जानेछौँ” उहाँले भन्नुभयो ।

प्रतियोगिता हेर्न क्रिकेट रङ्गशालामा अस्थायी प्यारापिट बनाइएको छ । साढे पाँचसय दर्शक अट्ने प्यारापिटमा दर्शकलले निःशुल्क प्रवेश पाउनेछन् । प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक शक्ति गौचनले पोखरा रङ्गशालामा क्रिकेटको स्थायी पूर्वाधार बनाउन एकेडेमीले पहलकदमी लिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेता र उपविजेतलाई दिइने ट्रफीसमेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ बिच हुने भएको छ ।

शुक्रबारदेखि हरेक दिन दुई खेल हुने तालिका छ । प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेस प्रदेश र सुदूरपश्चिम छन् ।

समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘नीलो’ छन् । प्रतियोगिताको फाइनल मङ्सिर १५ गते हुनेछ । प्रतियोगिता गर्न ७७ लाख खर्च हुने अनुमान छ ।

( साभार – गोरखापत्र )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy