एनपीएल : गुर्खाजले भित्र्यायो इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेट

२०८१ कार्तिक २३, शुक्रबार १७:२३

काठमाडौँ, नेपाल – काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको प्रमुख क्रिकेट फ्रेन्चाइज काठमाडौँ गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि इंग्ल्यान्डका अलराउण्डर ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ।  उनि दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते तिब्र गति बलर हुन्।

विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित डौथवेटसंग इंग्ल्यान्डको द हन्ड्रेड र भाइटालिटि टि-ट्वान्टी ब्लास्ट जस्ता ठूला प्रतियोगिता खेलीसकेको अनुभव छ। उनले भाइटालिटि ब्लास्टको ५९ खेलमा १३७. २८ को स्ट्राइक रेटमा ५९ खेलमा ६२६ रन बनाएका छन् भने बलिंगमा १७. ३ को स्ट्राइक रेटमा ५६ विकेट लिईसकेका छन्। उनले ३८ प्रथम श्रेणी र २२ लिस्ट ए खेल समेत खेलीसकेका छन्।

ड्यान डौथवेटले ६ वर्ष अघि सन् २०१८ मा नेपाल र नेदरल्याण्ड विरुद्ध मेरीलेबोन क्रिकेट क्लबले ( एमसीसी ) खेलेको त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा एमसीसीबाट खेल्दै नेदरल्याण्ड विरुद्ध टि-ट्वान्टी डेब्यु गरेका थिए। सो सिरिजको नेपाल विरुद्धको खेलमा उनले एमसीसीको लागि एक मात्र विकेट लिएका थिए जुन क्रममा ओपनर अनिल शाहलाई क्याच आउट गरेका थिए। उक्त खेलमा उनले ब्याटिंगमा भने मौका पाएका थिएनन्। खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो। उक्त खेलको स्कोरकार्ड  २०१८ मानै उनले वेस्ट इन्डिजको ‘ए’ टिम विरुद्ध अभ्यास खेलमा वार्विकशायरबाट लिस्ट ए डेब्यु गरेका थिए।

काठमाडौँ गुर्खाजका प्रमुख कार्यकारी अधिकृत (CEO) सन्देश कटवालले डौथवेटको आगमनमा आफ्नो हर्ष व्यक्त गरेका छन्, “ड्यान डौथवेट एक असाधारण प्रतिभा हुन् जसको अलराउन्डर क्षमताले एनपीएलमा हाम्रो टोलीलाई रणनीतिक फाइदा दिनेछ। उनको आक्रामक खेल शैली र बहुमुखीपन हाम्रो लक्ष्यसँग मेल खान्छ र उहाँले मैदानमा ठूलो प्रभाव पार्नेमा म पूर्ण विश्वास राख्दछु।”

गुर्खाजमा अनुबन्ध पछि ड्यान डौथवेटले पनि आफ्नो उत्साह व्यक्त गरेका छन्, “काठमाडौँ गोर्खालीमा सामेल हुन पाउँदा म धेरै गर्व महसुस गरिरहेको छु। म टोली र प्रशंसकहरूको लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध छु, र नेपालमा हुने यस रोमाञ्चक यात्रा आरम्भ गर्न आतुर छु। यो सिजनलाई अविस्मरणीय बनाऔं!”

डौथवेटको आगमनसँगै, काठमाडौँ गोर्खालीले प्रशंसकहरूलाई यस सिजन रोमाञ्चक खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। विदेशी खेलाडीका रूपमा डौथवेट चौथो खेलाडी हुन्, जसले यसअघि नै डच ओपनर माइकल लेविट, नामिबियन कप्तान गेर्हार्ड इरास्मस र इंग्ल्यान्ड घरेलु क्रिकेट स्टार तथा बीबीएल अनुभवित स्टीभी सीन एस्किनाजीलाई अनुबन्ध गरिसकेको छ। काठमाडौँ गोर्खालीको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन्, जसले अन्य खेलाडीहरूसँगै टिमको नेतृत्व गर्नेछन्।

एनपीएल २०२४ को अक्सनबाट गोर्खालीले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको छ।

काठमाडौँ गुर्खाज टिम : करन केसी ( मार्की खेलाडी ) , शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी, प्रतिक श्रेष्ठ, माइकल लेविट, गेर्हार्ड इरास्मस, स्टीभी सीन एस्किनाजी, ड्यान डौथवेट

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy