काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि नेपाली खेलकुदका शीर्षस्त ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ ।
क्रिकेटमा युवालाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको गोर्खाजले जनाएको छ ।
करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र तेक्वान्दोकी सीता तामाङलाई ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ ।
गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र प्रमुख कार्यकारी अधिकृत (सिइओ ) सुरजसिंह ठकुरीले ‘गुडविल एम्बासडर’ हरूलाई स्वागत गरेका थिए ।
सिइओ ठकुरीले खेलकुदमा युवालाई प्रेरित गर्न क्रिकेटबाहेक अन्य खेलहरू पनि आवश्यक रहेको हुनाले ‘गुडविल एम्बासडर’ मा फरक खेलका खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरिएको जनाए । उनले काठमान्डु गोर्खाज उपत्यकाको टोली भएकाले त्यसै अनुसार खेलाडी चयन गरिएको जानकारी गराए ।
एनपिएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म ( मंसिर १ देखि २७ गते) आयोजना हुँदैछ । करण केसीको कप्तानीमा रहेको गोर्खाजमा भीम सार्की, शाहब आलम, आदिल आलम अन्सारी, रशिद खान, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापामगर छन् ।
मन्डेकाजीले सन् २०१९ मा नेपालमै आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितेका थिए । उनी अहिले नेपाली राष्ट्रिय कराते टोलीको काता प्रशिक्षक हुन् ।
विकेश सन् २०१२ यता नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक हुन् । हाल त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलिरहेका विकेशले सरस्वती, जावलाखेल युथ र मध्यपुर युथ एसोसिएसनबाट खेलिसकेका छन् । विकेशले नेपाल सुपर लिगको पहिलो संस्करणमा काठमाडौं रेजर्सबाट उपाधि जितेका थिए ।
सन्तोषीले पनि १३ औं सागको १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । सागमा एथलेटिक्सबाट स्वर्ण जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी हुन् । सन्तोषीले २०२४ मा भएको पेरिस ओलम्पिकमा खेलेकी थिइन् ।
भलिबलकी पुनम २०१९ यता राष्ट्रिय भलिबल टोलीकी सदस्य हुन् । नेपाल पुलिस क्लबकी पुनम अहिले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) का लागि पोखरा निन्जाजसँग आबद्ध छिन् । भलिबल लिग भदौ २० मा पोखरामै सुरु हुनेछ । इडब्लुभीको तयारीले गर्दा पुनम कार्यक्रममा सहभागी हुन नपाएको बताइएको छ।
सीताले अघिल्लो महिना दक्षिण कोरियामा भएको एम्बेसी ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् । उनले छैटौं, सातौं र नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । सीताले आउट ल र दानभी फिल्ममा समेत अभिनय गरेकी छन् ।
