काठमाडौँ मेयर कप क्रिकेट आयोजना हुने

काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघले ‘काठमाण्डौ मेयर कप-२०७७’ पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

चैत मसान्तभित्र प्रतियोगिता आयोजना सम्पन्न गर्ने गरि नेपाल क्रिकेट संघ ( क्यान ) र काठमाडौँ महानगरपालिका बीच मंगलबार सम्झौता भएको छ। काठमाडौंको सभागृहमा भएको कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको रोहबरमा सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार आयोजक क्यानलाई महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गर्नेछ। सम्झौता पछि बोल्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्दले महानगरपालिकाको सहयोग सुरुआत भएको र यस्ता प्रतियोगिताले खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउन अभ्यास हुने बताए ।

सम्झौता अनुसार महानगरपालिकाले क्यानलाई पहिलो किस्ता अनुसार ६० प्रतिशत रकम उपलब्ध गराउनेछ भने प्रतियोगिता सम्पन्न भए पछि ४० प्रतिशत उपलब्ध गराउनेछ । एक दिवसीय संरचनामा हुने प्रतियोगिता कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ ।

प्रतियोगितामा कुन कुन टोलि सहभागी हुने, कस्तो फर्म्याटमा हुने र कति दिनको हुने बारे क्यानले अधिकारिक जानकारी गराएको छैन।

नेपाली राष्ट्रिय क्रिकेट टिमले चैत ६ गते देखि १५ गतेसम्म ( १९ मार्च देखि २८ मार्च सम्म ) ओमानमा आयोजक ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज खेल्नेछ। कोरोनाका कारण उक्त सिरिज मार्चको अन्तिममा हुने सम्भावना हुँदा ‘काठमाण्डौ मेयर कप’ प्रतियोगिता नेपाली टिम ओमान जानु अघि आयोजना गर्ने योजनामा क्यान रहेको छ। नेपाल क्रिकेट संघले छिट्टै ‘काठमाडौँ मेयर कप’ बारे जानकारी गराउने बताएको छ।

बजेट अभावका कारण नेपाल क्रिकेट संघ पुनर्गठन भएपछि आफ्नै बजेटमा प्रतियोगिता आयोजना गर्न सकेको छैन। आईसीसीले बजेट निकासा नगर्दा क्यानमा आर्थिक संकट छ। भर्खरै सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता पनि राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत भएको हो।

सम्बन्धित :-

कतार सिरिज नहुने भएपछि सुरु भएन राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण

टि-१० लिग : सोमपालले लिए पहिलो विकेट, मराठाको तेश्रो हार

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy