विवेक यादवले अलराउण्ड प्रदर्शन गर्दा चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग अन्तर्गत सोमबारको दोश्रो खेलमा बिनोद भण्डारी कप्तानीको पोखरा राइनोजले सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ लाई १४ रनले ( डीएल मेथड ) पराजित गरेको छ।
टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा काठमाडौँले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा राइनोजले १५ ओभरमा ५ विकेट क्षेतीमा १४२ रन बनाउदा वर्षाले खेल रोकिएको थियो। उक्त अवस्थाबाट खेल सुचारु हुन नसकेपछि डीएल मेथडमा पोखरा विजयी भयो।
लक्ष्य पछ्याउने क्रममा पोखराले सुरुवाती ४ विकेट ३६ रनमै गुमाएको थियो। त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका सहान अराचिगेले छैठौं नम्बरमा ब्याटिंग गर्न आएका विवेक यादवसंग ७७ रनको साझेदारी गरे। १३ औं ओभरमा अरचिगेलाई सन्दिप लामिछानेले क्याच आउट गरेपछि पाँचौ विकेटको लागि यादवले लोकेश बमसंग २९ रनको साझेदारी गरे।
सहान अरचिगेले पोखराको लागि सर्वाधिक ४३ रन बनाए जुन क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै विवेक यादवले २८ बलमा ४ चौका र २ छक्का मद्दतले अविजित ४१ रन बनाए। लोकेश बमले ८ बलमा ३ चौका मद्दतले १८ तथा रिचर्ड लेभीले १३ बलमा २ चौका र १ छक्का मद्दतले १७ रन बनाए। काठमाडौँ किंग्स-११ को बलिंगमा जितेन्द्र मुखिया ( ४-०-३७-२ ) र गुल्सन झा ( ३-०-२९-२ ) ले समान २ विकेट लिए भने सन्दिप लामिछानेले ( ३-१-१७-१ ) ले १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट खेतिमा १८२ रन बनाएको थियो।
काठमाडौँको ब्याटिंगमा अमित श्रेष्ठले सर्वाधिक ५६ रन तथा रायन बर्लले ५० रन बनाए। अमितले ४१ बलमा ६ चौका र २ छक्का तथा बर्लले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान सन्दिप लामिछानेले मात्र ११ बलमा २ चौका र ३ छक्का मद्दतले ३१ रन बनाए। ओपनर रहमनुल्लाह गुर्बज र सुबाश खकुरेल छिट्टै पेभेलियन फर्किएपछि तेश्रो विकेटको लागि अमित श्रेष्ठ र रायन बर्लले १०६ रनको साझेदारी गरेका थिए। अन्तिममा सन्दिप लामिछानेले आक्रामक ब्याटिंग गरे।
पोखराको बलिंगमा विवेक यादवले सर्वाधिक ३ विकेट ( १-०-७-३ ) लिए भने बिक्रम सोब, नन्दन यादव, किशोर महतो र सहान अरचिगेले समान १ विकेट लिए।
जितपछि पोखरा लिग अंकतालिकाको दोश्रो स्थानमा पुगेको छ। ५ खेलमा पोखराको ३ जित पछि ७ अंक रहेको छ। काठमाडौँ भने ४ खेलमा तेश्रो हार पछि पाँचौ स्थानमा रहेको छ। लिग अन्तर्गत मंगलबार काठमाण्डौ किंग्स-११ र भैरहवा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गर्नेछन्। भोलि काठमाडौँ पराजित भएको खण्डमा काठमाडौँ लिग चरणबाट बाहिरिनेछ भने ललितपुर प्लेअफ प्रवेश गर्नेछ। ललितपुरको ५ खेल खेल्दा ३ अंक रहेको छ भने काठमाडौँको ४ खेलमा मात्र २ अंक रहेको छ। बिराटनगर यस अघिनै पहिलो चरणबाट बाहिर भैसकेको छ। भोलिको खेलपछि लिगको प्लेअफ समीकरण तय हुनेछ।