T20WC : कुन टिम कसरि पुग्नेछ सेमीफाइनल, इंग्ल्यान्ड अझै यसरी हुनसक्छ बाहिर

लगातार ४ जित दर्ता गर्ने क्रममा नामिबियालाई पराजित गर्दै पाकिस्तान एक खेल अगावै टि-ट्वान्टी विश्वकप २०२१ को सेमीफाइनल पुग्ने पहिलो टिम बन्न पुग्यो। मंगलबारनै लगातार चौंथो हारपछि बंगलादेश समुह ‘१’ बाट प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्यो। अन्य सबै टिमहरुको प्लेअफ पुग्ने समीकरण यहाँ प्रस्तुत गरेका छौं –

सुपर-१२ चरणको अंकतालिका 

इंग्ल्यान्ड ( समुह १ ) , बाँकी खेल – दक्षिण अफ्रीकासंग ( नोभेम्बर ६) :  खेलेको ४ वटै खेलमा जित पछि इंग्ल्यान्डको रन रेट ( +३.१८३ ) निकै राम्रो छ। एउटा खेल बाँकी रहंदा इंग्ल्यान्डले सेमीफाइनलमा स्थान लगभग सुनिश्चित गरिसकेको छ। यदी अस्ट्रेलियाले आफ्नो बाँकी २ खेल मध्ये एउटामा हार बेहोरेको खण्डमा इंग्ल्यान्ड बाँकि खेल नखेल्दै सेमीफाइनल पुग्नेछ। इंग्ल्यान्ड बाहिरिने एक मात्र परिस्थिति भनेको यदी दक्षिण अफ्रीकासंग ८० रनको अन्तरले पराजित भयो र अस्ट्रेलियाले बाँकी दुई खेलको जोड १६५ रनको वरपरको अन्तरले जित्ने हो। त्यसो भएको खण्डमा इंग्ल्यान्ड, दक्षिण अफ्रीका र अस्ट्रेलिया तिन वटै टिमको ४ वटा जित हुनेछ र नेट रन रेटमा इंग्ल्यान्ड बाहिर हुनेछ।

दक्षिण अफ्रीका ( समुह १ ), बाँकी खेल – इंग्ल्यान्डसंग ( नोभेम्बर ६ ) : पहिलो खेलमा अस्ट्रेलियासंग हार पछि लगातार तिन जित दर्ता गरेको दक्षिण अफ्रीकाले अन्तिम खेलमा इंग्ल्यान्डलाई पराजित गरेको खण्डमा सेमीफाइनल पुग्ने सम्भावना प्रवल छ। दक्षिण अफ्रीकाको नेट रन रेट ( ०.७४२ ) अस्ट्रेलियाको भन्दा ( -०.६२७ ) निकै राम्रो छ। यदी दक्षिण अफ्रीका इंग्ल्यान्डसंग पराजित हुनेछ र संगै अस्ट्रेलियाले बाँकी २ खेल जित्ने हो भने दक्षिण अफ्रीका बाहिर हुनेछ। यदी दक्षिण अफ्रीका इंग्ल्यान्डसंग पराजित हुनेछ र अस्ट्रेलियाले दुई मध्ये एउटा मात्र खेल जित्ने हो भने दुवैको र सम्भवतः वेस्टइन्डिजको पनि समान ६ अंक हुन सक्छ। ( यदी अस्ट्रेलियाले बंगलादेशलाई तथा वेस्टइन्डिजले अस्ट्रेलिया र श्रीलंकालाई पराजित गरे ) त्यसो भएको खण्डमा पनि नेट रन रेट राम्रो भएकोले दक्षिण अफ्रीका अगाडी बढ्ने सम्भावना हुन्छ।

अस्ट्रेलिया ( समुह १ ) , बाँकी खेल – बंगलादेशसंग नोभेम्बर-४, वेस्टइन्डिजसंग नोभेम्बर-६ : पहिलो दुई खेलमा जितपछि इंग्ल्यान्ड चिर प्रतिद्वन्द्वी इंग्ल्यान्डसंग पराजित हुँदा नेट रन रेट -०.६२७ रहेको छ। बाँकी दुई खेलमा बंगलादेश र वेस्टइन्डिजलाई पराजित गर्ने हो र संगै इंग्ल्यान्डसंग दक्षिण अफ्रीका पराजित भयो भने अस्ट्रेलिया स्वतः छनोट हुनेछ। यदी दक्षिण अफ्रीकाले इंग्ल्यान्डलाई पराजित गरको खण्डमा अस्ट्रेलियाले बाँकी दुई खेल जितेको खण्डमा पनि नेट रन रेटमा दक्षिण अफ्रीकालाई पछि पार्न निकैनै कठिन छ। अर्को परिस्थितिमा यदी अस्ट्रेलिया, दक्षिण अफ्रीका र वेस्टइन्डिज तिन वटै टिम ६ अंकमा समित भयो भने पनि नेट रन रेटले अघिल्लो चरण पुग्ने टिमको निर्धारण हुनेछ।

वेस्टइन्डिज ( समुह १ ) , बाँकी खेल – श्रीलंकासंग नोभेम्बर-४, अस्ट्रेलियासंग नोभेम्बर-६ : प्रतियोगिता अघि उपाधि दावेदार मानिएता पनि वेस्टइन्डिज खराब लयमा छ। वेस्टइन्डिजको नेट रन रेट सबैभन्दा कमजोर -१.५९८ छ। वेस्टइन्डिज सेमीफाइनल पुग्न एक मात्र तरिका भनो बाँकी दुवै खेल समग्रमा ९५ रनको अन्तरले जित्ने र त्यसको साथै इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई करिब ५० रनको अन्तरले र अस्ट्रेलियाले बंगलादेशलाई ४० रन भन्दा कमले पराजित गरेको खण्डमा हो। यदी वेस्टइन्डिजले एउटा मात्र खेलमा हार बेहोर्ने हो र दक्षिण अफ्रीकाले इंग्ल्यान्डलाई पराजित गर्यो भने डिफेन्डिङ च्याम्पियन टिम घर फर्कनेछ।

न्युजिल्यान्ड ( समुह २ ) , बाँकी खेल – स्कटल्याण्डसंग, नोभेम्बर-३ , नामिबियासंग नोभेम्बर-५ र अफगानिस्तानसंग नोभेम्बर-७ : पाकिस्तान पछि समुह ‘२’ बाट सेमीफाइनल पुग्ने बढी सम्भावना न्युजिल्यान्डको देखिन्छ। स्कटल्याण्ड, नामिबिया र अफगानिस्तानलाई तिन वटै खेलमा पराजित गरेको खण्डमा न्युजिल्यान्ड स्वतः सेमीफाइनल पुग्नेछ। यदी न्युजिल्यान्डसंग अफगानिस्तान पराजित भयो र स्कटल्याण्ड र नामिबियालाई पराजित गर्यो भने र भारतले बाँकी तिन वटा खेल जित्यो भने भारत र न्युजिल्यान्डको समान ६ अंक हुनेछ न रेट रनको आधारमा अघि बढ्ने टिमको निर्णय हुनेछ। हाल अफगानिस्तानको नेट रन रेट ( +३.०९७ ) भारतको ( -१.६०९ ) र न्युजिल्यान्डको ( ०.७६५ ) भन्दा राम्रो छ।

अफगानिस्तान ( समुह २ ) : बाँकी खेल – भारतसंग, नोभेम्बर-३, न्युजिल्यान्डसंग नोभेम्बर-७ : अफगानिस्तानले स्कटल्याण्ड र नामिबियालाई विशाल अन्तरले पराजित गर्दा नेट रन रेटमा उसलाई निकै फाइदा पुगेको छ। अफगानिस्तानको सबैभन्दा महत्वपूर्ण खेल न्युजिल्यान्डसंग नोभेम्बर ७ मा हुनेछ। भारतसंग पराजित भएको खण्डमा पनि न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा नेट रन रेट निकै राम्रो ( +३.०९७ ) रहेकोले अफगानिस्तान अघि बढ्ने सम्भावना बढी छ। अफगानिस्तानको लागि सेमीफाइनल पुग्न सबैभन्दा सहज बाटो न्युजिल्यान्ड र भारत दुवैलाई पराजित गर्नु हो। त्यसो भएको खण्डमा नेट रन रेट अफगानिस्तानको अबरोध बन्नेछैन।

भारत ( समुह २ ) : पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भ्याएपछि भारत अघिल्लो चरण प्रवेश गर्न भाग्यले साथ दिनुपर्नेछ। भारतले बाँकी तिन वटै खेलमा जित दर्ता गरेको खण्डमा पनि यदी न्युजिल्यान्डले बाँकी सबै खेल जितेको खण्डमा भारत बाहिरिनेछ। भारतको लागि सबैभन्दा उत्कृस्ट बाटो सबै तिन वटा खेल जित्ने र त्यसको साथै अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गर्ने र तिन वटै टिम समान ६ अंकमा रोकिनु हो जसपछि नेट रन रेटको आधारमा अघि बढ्ने टिमको फैसला हुनेछ। त्यसो भन्दा भन्दै भारतको नेट रन रेट -१.६०९ छ जुन अफगानिस्तानको ( ३.०९७ ) र न्युजिल्यान्डको ( ०.७६५ ) भन्दा निकै कम हो त्यसैले बाँकी खेलमा भारतले नेट रनरेटमा फड्को मार्नुपर्नेछ। भारतको लागि राम्रो पक्ष भारतले समुहको अन्तिम खेल खेल्नु हो,त्यसैले छनोट हुन आवस्यक समीकरण थाहा हुनेछ तर त्यसको लागि अन्तिम खेलसम्म छनोटको सम्भावना भने जीवित हुनुपर्नेछ।

नामिबिया र स्कटल्याण्ड ( समुह २ ) : दुवै टिम आफ्नो दुवै खेलमा हार बेहोरेपछि दुवैले बाँकी रहेको तिन वटै खेल जितेको खण्डमा ६ अंक भए नेट रन रेटको आधारमा छनोट हुन सक्छ। तर स्कटल्याण्डको नेट रन रेट -३.५६२ तथा नामिबियाको -१.५९९ भएको हुँदा बाँकी खेल भने ठूलो अन्तरले जित्नुपर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy