- विकेटनेपाल, मङ्सिर-५
तिलोत्तमा क्रिकेट बिकास समिति रुपन्देहीको आयोजनामा शनिबार देखि जारी तिलोत्तमा प्रिमियर लिग क्रिकेट अन्तर्गत चौथो दिन सम्पन्न खेलहरुमा रोयल च्यालेन्जर्स भैरहवा र एनसीएसए टाइगर्स बिजयी भएका छन्।
लिग चरणको बिहिबार हुने अन्तिम २ खेल बाँकी रहंदा समुह ‘ए’ बाट शंकरनगर र लुम्बिनी कासाईले सेमीफाइनलमा स्थान पक्का गरिसकेका छन्। समुह ‘बि’ बाट २ खेलमा दुवै जितको साथ् मणिग्राम किंग्सले सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ भने नुसी वारियर्स, एनएससीए टाइगर्स र बुटवल डाईनामाइट्सले समान १ जित हात पारेका छन्। बिहिबार हुने खेलमा मणिग्रामलाई बुटवलले पराजित गरेको खण्डमा मणिग्राम सेमीफाइनल प्रवेश गर्नेछ भने बुटवल पराजित भएमा नुसी वारियर्स सेमीफाइनल प्रवेश गर्नेछ।
पहिलो खेल
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लवको खेल मैदानमा बुधबार सम्पन्न पहिलो खेलमा रोयल च्यालेन्जर्स भैरहवाले ज्ञानोदय गोल्ड्सलाई ३४ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिंग गर्दै रोयल च्यालेन्जर्सले २० ओभरमा ८ विकेट गुमाएर १२८ रनको योगफल तयार गरेको थियो। उसको लागि इख्लाख एहमदले सर्वाधिक २७, गणेस गौडेलले २३ रन योगदान दिए भने ज्ञानोदयका बलर रोशन क्षेत्रीले ३ विकेट ( ४-०-२९-३ ) हात पारे।

१२९ रनको लक्ष्य पछ्याउने क्रममा ज्ञानोदयले २० ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो। ओपनिङ्ग ब्याटिंग गरेका राष्ट्रिय क्रिकेटर सुनिल धमलाले ३९ रन तथा देबेन्द्र सोमारेले २१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले कास योगदान दिन नसक्दा टिम पराजित हुन पुग्यो।
पहिलो विकेटको लागि धमला र मानिस पौडेल ( ११ ) ले ४७ रनको साझेदारी गरे पनि त्यसपछि ज्ञानोदयले लगातार विकेट गुमाउन पुगेको थियो। प्लेयर अफ द म्याच चुनिएका रोयल च्यालेन्जर्सका बलर इखलाख एहमदले सर्वाधिक ४ विकेट ( ४-१-१२-४ ) तथा अहमद हुसेनले ३ विकेट लिए।
दोश्रो खेल
बुधबारनै सम्पन्न दोश्रो खेलमा एनएससीए टाइगर्सले नुसी वारियर्सलाई ५ रनले पराजित गर्यो।
टस जितेर ब्याटिंग गरेको टाइगर्सले २० ओभरमा ५ विकेट गुमाएर १६४ रनको योगफल तयार गरेको थियो।उसको लागि बिक्रम भुसालले आक्रामक इनिंग खेल्दै ४५ रन बनाउन मात्र २२ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। यस्तै पुष्प थापाले अविजित ४९ रन बनाउन ५० बलमा ३ चौका र २ छक्का हिर्काए भने ओपनर मानिस थापाले ३४ रन बनाए।

१६५ रनको लक्ष्य पछ्याउने क्रममा नुसी वारियर्सले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो।
कप्तान कुशल भुर्तेलले वारियर्सको लागि सर्वाधिक ८४ रन बनाउन विस्फोटक ब्याटिंग गर्दै ४५ बलमा ७ चौका र ७ वटै छक्का प्रहार गरे पनि टिमलाइ जित दिलाउन सकेनन्। दिपेन्द्र ऐरि मात्र ५ रन बनाएर आउट भए भने अर्जुन रायमाझीले २० तथा यम क्षेत्रीले १३ रन योगदान दिए।
एनएससीए टाइगर्सको बलिङ्गमा प्लेयर अफ द म्याच पुष्प थापा र अनिल खरेलले समान २/२ विकेट लिए।
प्रतियोगिताको बिजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजारसहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
नुसी वारियर्स, बुटवल डाइनामाइट, मणिग्राम किंग्स, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स, लुम्बिनी कसाई ग्ल्याडीएटर्स, रोयल शंकरनगर र एसआर एनएससीए टाइगर्स लिगमा सहभागी हुने टोलिहरु हुन्।
सहभागी ८ टिमहरुलाई दुई समुहमा बिभाजन गिरएको छ जसअन्तर्गत समुह ‘ए’ मा रोयल शंकरनगर, रोयल च्यालेंजर्स भैरहवा, ज्ञानोदय गोल्ड्स र लुम्बिनी कसाई ग्ल्याडीएटर्स रहेका छन् भने समुह ‘बि’ मा नुसी वारियार्स, मणिग्राम किंग्स, एसआर एनएससीए टाइगर्स र बुटवल डाइनामाइट रहेका छन्।
दुवै समुहमा एकअर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।