कुशल भएनन् आईसीसी प्लेयर अफ द मन्थ

२०७८ बैशाख २७, सोमबार १४:२२

पाकिस्तानकै फखर जमान र नेपाली क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान कुशल भुर्तेललाई पछि पार्दै बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ( आईसीसी ) अप्रिल महिनाको ‘प्लेयर अफ द मन्थ’ घोषित भएका छन्।

नेपाली क्रिकेटर आईसीसीको ‘प्लेयर अफ द मन्थ’ मा छनोट भएको यो पहिलो अवसर थियो।

बाबरले अप्रिल महिनामा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा ७६ को औशतले २२८ रन, ७ वटा टि-२० अन्तर्राष्ट्रियमा ४३.५७ को औशतले ३०५ रन बनाएका थिए भने एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको पहिलो नम्बरमा उक्लेका थिए।

आईसीसीले प्लेयर अफ द मन्थको मनोनयनमा परेका खेलाडीहरुलाई भोटिंग खुला गरेको थियो। त्यसपछि कुशल भुर्तेललाई भोट गर्न नेपाली समर्थकहरुले अभियाननै चलाएता पनि भुर्तेललाई जिताउन भने असफल रहे।

आईसीसीले समर्थकहरुले वेवसाइटमा गर्ने भोटलाई १० प्रतिशत मात्र गन्ने गर्छ। बाँकी ९० प्रतिशत प्लेयर अफ द मन्थलाई भोट गर्ने अवसर आईसीसीले चुनेको वरिस्ठ पत्रकार, पूर्व खेलाडी, प्रशारक तथा ‘आईसीसी हाल अफ फेम’ रहेको स्वतन्त्र आईसीसी भोटिंग एकेडेमीमा रहेको हुन्छ।

नेपालमा गत महिना अप्रिलमा सम्पन्न नेदरल्याण्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालको ओपनिंग ब्याटिंग सम्हालेका भुर्तेल प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए।

उक्त सिरिजमा दायाँ हाते ब्याट्सम्यानले ६९.५ को औशतले ४ अर्धशतक प्रहार गर्दै २७८ रन बनाएका थिए। त्यस क्रममा उनले १४०.४ को स्ट्राइक रेटमा रन बनाएका थिए भने कुल २४ चौका र १६ छक्का प्रहार गरेका थिए।

२४ वर्षीय खेलाडीले सिरिजको पहिलो खेल तथा नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत डेब्यु गर्ने क्रममा ६२ रन बनाएका थिए। त्यसपछि दोश्रो खेलमा मलेसिया बिरुद्ध अविजित ६१ रन, तेश्रो खेलमा ६२ रन, चौथो खेलमा मलेसिया बिरुद्ध १६ रन तथा फाइनलमा नेदरल्याण्ड बिरुद्ध ७७ रन बनाएका थिए।

सोहि प्रदर्शनको बलमा कुशल आईसीसी टि-२० अन्तर्राष्ट्रिय वरियतामा ६१ औं स्थानमा रहेका छन् र स्टिभ स्मिथ, रिशभ पन्त जस्ता ब्याट्सम्यानलाई समेत पछि छाडेका छन्।

कुशलको नाममा रहेको विश्वकीर्तिमान

१. लगातार दुई शतकीय साझेदारीको विश्वकीर्तिमान

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै डेब्यु गरेपछि लगातार दुई खेलमा शतकीय साझेदारीको रेकर्ड कुशल भुर्तेलले आसिफ शेखसंग मिलेर बनाए हुन्। कुशल र आसिफले पहिलो खेलमा नेदरल्याण्ड बिरुद्ध ११६ रनको तथा दोश्रो खेलमा मलेसियासंग १०२ रनको साझेदारी गरेका थिए।

२. लगातार ३ अर्धशतकको विश्वकीर्तिमान

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेल पछि लगातार ३ वटा अर्धशतक बनाउने कुशल विश्वकै पहिलो क्रिकेटर हुन्। कुशलले त्रिकोणात्मक सिरिजको डेब्युमा नेदरल्याण्ड बिरुद्ध डेब्युमा ६२ रन, मलेसिया बिरुद्ध दोश्रो खेलमा अविजित ६१ रन, तेश्रो खेलमा नेदरल्याण्ड बिरुद्ध ६२ रन बनाउदै उक्त किर्तिमान बनाएका थिए।

३. एकै प्रतियोगितामा सर्वाधिक रनकर्ता 

कुशल एकै टि-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन्। नेदरल्याण्ड र मलेसियासंग त्रिकोणात्मक सिरिजमा कुशलले कुल २७८ रन बनाउदै उनले यो किर्तिमान बनाएका थिए। यस अघि यो रेकर्ड ज्ञानेन्द्र मल्लको नाममा थियो जसले २०१९ साग क्रिकेटमा ३ खेलमा १४८ रन बनाएका थिए।

सम्बन्धित 

https://wicketnepal.com/ind-team-for-wtc-wn21/

https://wicketnepal.com/ipl-2021-sthagit-wn21/

https://wicketnepal.com/hanchu-bhaneko-thiye-ramro-ball-paryo/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy