नमुना ब्लास्टर्स सुनसरीको भोक्राहमा जारि कोशी प्रिमियर लिग प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
बुधबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा नमुना ब्लास्टर्सले बलान बिहुल सप्तरी टाइगरलाई ४१ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। ७ टिम सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोबिन फर्म्याटमा भइरहेको छ। ब्लास्टर्सले ६ खेलमा ४ जित र १ हार बेहोरेको छ भने १ खेल नतिजाविहिन रहेको थियो।
डक्टर खलिल आजाद क्रिकेट मैदानमा सम्पन्न खेलमा नमुना ब्लास्टर्सले दिएको १६४ रनको लक्ष्य पछ्याएको बलान बिहुल सप्तरी टाइगरले १९. ३ ओभरमा १२२ रनमा सबै विकेट गुमायो।
सप्तरी टाइगरको ब्याटिंगमा रुपेश सिंहले आक्रामक अर्धशतक बनाउदै ५३ रन बनाएता पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्। सिंहले २८ बलमा ५ चौका र ४ छक्का मद्दतले ५३ रन बनाए। यस्तै अमित श्रेष्ठले २९ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
ब्लास्टर्सको बलिंगमा कुशल मल्लले ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २ मेडन ओभर गर्दै ३ रन मात्र खर्चिए। प्रकाश कार्कीले ३ विकेट ( ४-१-११-३ ) लिए भने दुर्गेश गुप्ता र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको ब्लास्टर्सले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनायो।
ब्लास्टर्सको लागि मनिष थापाले सर्वाधिक ५१ रन बनाए जुन क्रममा उनले अविजित रहँदै २९ बलमा २ चौका र ४ छक्का प्रहार गरे। दिपक डुम्रेले ३८ रन बनाए। पहिलो खेल खेलेका दिपेन्द्र सिंह ऐरीले १८ रन बनाए जुन क्रममा ८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कुशल भुर्तेलले १७, रुपक बरालले अविजित १६, कुशल मल्लले १४ रन बनाए।
सप्तरी टाइगरको बलिंगमा रुपेश सिंह र अभिषेस गौतमले २/२ तथा बिशाल पटेल र बिशाल सुश्लिंगले १/१ विकेट लिए।
आज सम्पन्न दोश्रो खेलमा इटहरी आदर्श जायन्ट्सले एमबिएससी लायन्सलाई ५ विकेटले पराजित गर्यो। १०८ रनको लक्ष्य जायन्ट्सले ९. २ ओभरमा भेटायो।
जायन्ट्सको जितमा ब्याटिंगतर्फ भिम शार्कीले सर्वाधिक ५२ रन योगदान दिए जुन क्रममा उनले अविजित रहँदै २१ बलमा ८ चौका र २ छक्का प्रहार गरे। आसिफ शेखले ११ बलमा ३ चौका र १ छक्का मद्दतले २३ रन बनाए। यस्तै बलिंगतर्फ दिपेश कंडेल र भुपाल लुइँटेल २/२ विकेट लिए भने बिपिन खत्री, गुल्सन झा र फिर्दोश अन्सारीले १/१ विकेट लिए।
एनबिएससीको लागि कृतिक कामतले ४०, कपिल मण्डलले २५ तथा बलिंगमा कृतिक कामतले २ विकेट लिएता पनि जितको लागि पर्याप्त रहन सकेन।
अंकतालिका