करियरको मात्र तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने क्रममा नेपाली ओपनर कुशल भुर्तेल अमेरिका बिरुद्ध खेलको प्लेयर अफ द म्याच चुनिएका छन्।
अमेरिकाले दिइएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ८४ रन बनाउदै जितमा अहम योगदान दिएका थिए। पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। यस क्रममा उनले अर्का ओपनर आसिफ शेखसंग ६६ रनको साझेदारी गरे जुन पहिलो विकेटको लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रियको सर्वाधिक ओपनिंग साझेदारी हो।
यस्तै कुशल नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउने ओपनिंग ब्याट्सम्यान समेत बनेका छन्। यस अघि यो कीर्तिमान ज्ञानेन्द्र मल्लको नाममा रहेको थियो जसले गत वर्ष ओमान बिरुद्ध ओपनिंग गर्दै ५६ रन बनाएका थिए। यस्तै कुशल नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेश्रो सर्वाधिक व्यक्तिगत स्कोर बनाउने ब्याट्सम्यान समेत बनेका छन्। कुशल भन्दा बढी रोहित पौडेलले ८६ तथा पारस खड्काले ११५ रन बनाएका छन्।
खेलमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर ४९ ओभरमा भेटाएको थियो।
