भ्रमण टोलि भारत बिरुद्ध तेश्रो टेस्टको पहिलो दिन समाप्तिमा घरेलु टोलि इंग्ल्यान्डले उत्कृस्ट सुरुवात गरेको छ।
हेडिंगलेमा टस जितेर ब्याटिंग रोजेको भारत ७८ रनमै समेटिन पुगेपछि पहिलो इनिंग्स ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले दिनको समाप्तिमा ४२ ओभर ब्याटिंग गर्दा विकेट नगुमाई १२० रन बनाएको छ।
पहिलो इनिंग्समा इंग्ल्यान्डले ४२ रनको अग्रता हाँसिल गरेको छ। दिनको समाप्तिमा क्रिजमा रोरी बर्न्स ५२ तथा हसिब हमिद ६० रन बनाएर अविजित छन्। बर्न्सले १२५ बलमा ५ चौका र १ छक्का तथा हमिदले १३० बलमा ११ चौका प्रहार गरेका छन्।

यस अघि पहिलो इनिंग्समा लज्जास्पद ब्याटिंग गरेको भारतले ४०.४ ओभरमा ७८ रनमै सबै विकेट गुमाउन पुगेको थियो। टेस्ट क्रिकेट इतिहासमै टस जितेर पहिले ब्याटिंग गर्दा भारतले बनाएको यो इंग्ल्यान्ड बिरुद्ध इतिहासकै कम तथा तेश्रो सबैभन्दा कम योगफल हो। यो भन्दा पनि कम योगफल भारतले सन् १९८७/८८ मा वेस्टइन्डिजसंग ७५ रन तथा २००७/८ मा दक्षिण अफ्रीकासंग ७६ रन बनाएको थियो।
भारतको लागि ओपनर रोहित शर्माले सर्वाधिक १९ तथा अजिंके रहानेले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। इंग्ल्यान्ड पेसर जेम्स एण्डरसनले भारतीय शिर्ष ३ ब्याट्सम्यान केएल राहुल, चेतेश्वर पुजारा र बिराट कोहलीको विकेट लिंदै इंग्ल्यान्डलाई उत्कृस्ट सुरुवात दिलाएका थिए। राहुल खाता नखोली आउट भए भएन पुजाराले १ तथा कोहलीले ७ रन बनाए। तिनजना ब्याट्सम्यान विकेट पछाडी जोस बटलरबाट समातिन पुगे।
त्यसपछि रोहित शर्मा र अजिंके रहाने बीच चौथो विकेटको लागि २५ रनको साझेदारी भयो। रहानेलाई ओली रोबिन्सले बटलरबाट क्याच आउट गराएर साझेदारी तोडे। लगत्तै २ रन मात्र बनाएर रिशभ पन्त पनि बटलरबाट समातिन पुगे। रोहित शर्मालाई क्रेग ओभरटनले क्याच आउट गराउदै इंग्ल्यान्डलाई पूर्णत हावी गराए। रभीन्द्र जडेजा पनि मात्र ४ रन बनाएर स्याम करनबाट एलबिडब्लु भए। त्यसपछि भारतीय तल्लो क्रम धरासायी बन्दा ५६ रनमा ३ विकेट गुमाएको भारतले योगफलमा थप २२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसन ( ८-५-६-३ ) र क्रेग ओभरटनले ( १०.४-५-१४-३ ) समान ३ विकेट लिए भने ओली रोबिन्सन ( १०-३-१६-२ ) र स्याम करन ( १०-२-२७-२ ) ले समान २ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो भने दोश्रो टेस्ट भारतले १५१ रनले जितेको थियो।
