“जतिसक्दो चांडो राष्ट्रिय टिमबाट खेल्ने इच्छा छ” ललित भण्डारी

२०७८ भाद्र १८, शुक्रबार १७:०८

Lalit Singh Bhandari

गत वर्ष भदौमा कन्चनपुरमा भएको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेट टिमका देब्रे हाते फास्ट बलर ललित सिंह भण्डारीले राष्ट्रिय टिममा जतिसक्दो फर्कने इच्छा व्यक्त गरेका छन्।

मिनी ट्रकले ललितले चलाएको मोटरसाइकललाई ठक्कर दिंदा भण्डारीको दायाँ हातमा १ भन्दा बढी तथा दायाँ खुट्टामा समेत फ्र्याक्चर भएको थियो। गत वर्ष पुषमा इनरुवामा सम्पन्न एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पछिल्लो पटक मैदानमा देखिएका २५ वर्षीय भण्डारी पुनः मैदान प्रवेश गर्न आतुर रहेको विकेटनेपालसंगको अन्तर्वार्तामा बताएका छन्।

“मेरो चोट निको भैसकेको छ र मैले फिटनेस गर्न सुरुवात गरिसकेको छु। अभ्यास सुरु गरेको २ हफ्ता जति भयो, हल्का बलिंग गर्न समेत सुरुवात गरिसकेको छु।” भण्डारीले बताए। सेप्टेम्बर २५ तारिखमा सुरु हुने ईपीएलमा चितवन टाइगर्स टिममा रहेका भण्डारी त्यतिबेलासम्म आफू तयार भएर मैदान फर्कने आत्मविश्वास व्यक्त गरे – “ईपीएल आउन अझै समय छ, मलाई लाग्छ त्यति बेलासम्म मैले लय पाउनेछु र खेल्न सक्नेछु।”

अन्तिम पटक २०१८ अक्टोबरमा मलेसियामा आयोजित टि-२० विश्वकप छनौट एसिया ‘बि’ प्रतियोगिता खेलेका देब्रे हाते पेस बलरले दुर्घटना पछिको अवधिमा मैदान उत्रन पाएको भए राष्ट्रिय टिममा पुनरागमन गर्न सक्छु जस्तो महसुस भएको बताए।

“दुर्घटना अघि एक वर्ष टिमबाट बाहिर हुँदा मैले आफुलाई प्रमाणित गर्ने मौका पाएको थिईन। यो अवधिमा पिचहरुले फास्ट बलरहरुलाई मद्दत गरिरहेको वातावरण देख्दा कम्ब्याक गर्न सक्थे जस्तो लाग्छ। मलाई घरेलु क्रिकेट मात्रै हैन मुख्यतः जतिसक्दो चांडो राष्ट्रिय टिमबाट खेल्ने इच्छा छ, जति सक्दो चांडो राष्ट्रिय टिममा फर्किउ भन्ने सोच छ।” उनले बताए।

नेपाली राष्ट्रिय टिमको लागि ८ खेल खेल्ने क्रममा बायाँ हाते फास्ट बलरले कुल ४ विकेट लिएका थिए। यस क्रममा उनले नेपालले २०१८ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हात पार्दा २ विकेट ( ९-०-४३-२ ) लिएका थिए।

ललितको अन्तर्वार्ता हेर्नुस्

https://youtu.be/NI01zk1y6Dc

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy