दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा हुने भएको छ । भण्डारीलाई बेलुका ४ बजे बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्राण्डी ल्याइएको हो ।
धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ । भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौं ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किदा दुर्घटनामा परेका हुन् । उनको पछाडि सवार करन ठगुन्ना भने सामान्य घाइते भएका छन् ।
https://www.facebook.com/WicketNepal/posts/1959540347516091
दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो ।
उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको थियो । ठक्कर दिने मिनीट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक घटना लगत्तै फरार रहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।
भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुनुहुन्छ । पछिल्लो समय उहाँ नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन् ।
भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन् । उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।
यो पनि पढ्नुस :-
“४५ डिग्रीमा तापक्रममा खेल्नु चुनौतीपूर्ण” बोल्ट
फिक्सिंग आरोपमा दुइ युएई क्रिकेटर आईसीसीद्वारा निलम्बित
आईपीएलमा यी ४ वटा रेकर्ड नजिक छन् रोहित
श्रीसांतको ७ वर्षे प्रतिबन्ध सकियो, क्रिकेटमा फर्कने घोषणा