- विकेटनेपाल, मङ्सिर १८ – मंगलबार
एभरेस्ट प्रिमियर लिग टिम ललितपुर प्याट्रिएट्स मङ्सिर २२ देखि टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सुरु हुने एभरेस्ट प्रिमियर लिग इपिएल टि-२० को तयारीमा जुटेको छ।
इपिएल अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुरले मङ्सिर २२ गते उद्घाटन खेलमा बिराटनगर वारियर्सको तथा २३ गते चितवन टाइगर्ससंग खेल्ने तालिका रहेको छ।
प्रतियोगिता सुरु हुने मिति नजिकिदै गर्दा आइतबार देखि टिमले आफ्नो तयारी थालेको टिमका प्रशिक्षक राजु बस्नेतले विकेटनेपाललाई बताएका छन्। बस्नेतका अनुसार नेपाली खेलाडीहरु केहि बाहेक अन्य सबै अभ्यास गरिरहेको र बाँकी नेपाली खेलाडी र बिदेशी खेलाडीहरु पनि मङ्सिर २० बिहिबारसम्म नेपाल आईपुग्ने छन्।
ललितपुर प्याट्रिएट्समा कप्तान मल्ल सहित सन्दिप लामिछाने, ललित राजबंशी, कुशल भुर्तेल, सन्दिप जोरा, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामांग जस्ता खेलाडीहरु रहेका छन्। प्याट्रिएट्सले बिदेशी खेलाडीको रुपमा सन्नी पटेल, जयकिशन कोल्सावाल र गौरभ तोमरलाई अनुबन्धित गरेको छ।
भर्खरै युएईमा सम्पन्न टि-१० लिग खेलेर प्याट्रिएट्सकै लागि खेल्न स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि काठमाडौँ आईसकेका छन् र प्याट्रिएट्स टिमसंग अभ्यास गरिरहेका छन्। सन्दिप इपिएलको पहिलो २ खेल खेलेर डिसेम्बर १९ ( पुष ४ ) देखि सुरु हुने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास खेल्न प्रस्थान गर्नेछन्।
इपिएल टि-२० को गत बर्षको संस्करणमा प्ले-अफ चरणको यात्रा गरेको प्याट्रिएट्स दोश्रो क्वालिफायरमा भैरहवा ग्ल्याडीएटर्ससंग ३ विकेटले पराजित हुँदै फाइनल पुग्न असफल रहेको थियो। लिग चरणमा भने प्याट्रिएट्सले ५ मध्ये २ खेलमा जित र ३ मा हार बेहोर्दै अंकतालिकामा तेश्रो स्थानमा रहेको थियो।
यो पटक आफ्नो टिम सन्तुलित रहेको र सन्नी पटेल, जयकिशन कोल्सावाला र गौरभ तोमर जस्ता ब्याट्सम्यानहरुको उपस्थितिले टिम उपाधि जित्ने बिश्वास प्रशिक्षक बस्नेतले देखाएका छन्।
फोटोहरुमा हेर्नुस ललितपुर प्याट्रिएट्सको अभ्यास :-
( फोटोहरु – ललितपुर प्याट्रिएट्स , फेसबुक )