“इमान्दार भएर भन्छु, केहि खेलाडीहरुको लागि यो अन्तिम अवसर हो” – पारस

  • विकेटनेपाल, १४ मङ्सिर 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौँ चरणको युएईसंग खेलको लागि बुधबार प्रस्थान गर्नेक्रममा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले लामो समय देखि फर्म बाहिर रहेका खेलाडीको लागि यो टुर प्रमाणित गर्ने अन्तिम मौका भएको बताएका छन्।

नेपालले च्याम्पियनसिपको अन्तिम चरणको खेलमा युएईसंग ६ र ८ डिसेम्बरमा २ खेल खेल्दैछ। त्यसभन्दा अघि केन्या र अमेरिकासंग त्रिदिवसीय अभ्यास खेल खेल्ने क्रममा १ डिसेम्बरमा अमेरिका तथा ३ डिसेम्बरमा केन्यासंग खेल्नेछ।

लामो समय फर्म बाहिर रहेपनि बिनोद भण्डारी र सागर पुनलाई पुनः मौका दिईएपछि सामाजिक संजालमा टिम छनौटको कडा आलोचना भइरहेको छ । युएई प्रस्थान गर्नेक्रममा विकेटनेपालसंग कुरा गर्दै पारसले टिम छनौटबारे आलोचनाको जवाफ दिएका हुन्-

“एउटा दुइवटा खेलाडी लिएर त्यसलाई ठुलो बनाउनु हुँदैन। त्यो २-३ जना खेलाडीहरुले मलाई थाहा छ क्षमता अनुसार प्रदर्शन गरेका छैनन्। सेलेक्सन कमिटिमा म पनि छु र आलोचना हुनु स्वाभाविक हो। मलाई लाग्दैन कि संसारको कुनै पनि टिम छनौट गर्दा आलोचना हुँदैन, तैपनि केहि खेलाडीहरुलाई यो गर या मरको स्थिति छ”

उनले छनौटबारे आलोचनालाई स्वीकार्दै, टिम छनौट गर्दा टिमको सन्तुलनलाई समेत ख्याल गर्नुपर्ने र एकै पटक सबैलाई अवसर दिन मुस्किल रहेको बताए-

“टिम फर्मेसन गर्दा एकै चोटी सबैलाई अवसर दिन पनि सजिलो हुँदैन, बाहिरको खेलाडीहरु छन् टिममा पर्न लायक तर टिमको तालमेल र फर्म हेर्दा यो बेला धेरै परिवर्तन पनि गर्न सक्दैनौ।”

फर्ममा नरहेका केहि खेलाडीको लागि युएई टुरमा गर या मरको अवस्था रहेको पारसले चेतावनी दिएका छन्-

“यो प्राकृतिक हो, टिमको तथ्यांक हेर्ने हो भने केहि खेलाडी टिममा पर्न लायक छैनन् तर दुर्भाग्यबस त्यहाँ अरु कुरा पनि हुन्छ टिम भित्रको जसले टिमलाई एउटा ठाउँमा ल्याउने, तालमेल मिलाउने गर्छ-

“सधै तथ्यांकले तथ्य बोल्दैन तर हामीले पनि समर्थन गर्ने एउटा निश्चित समयको लागि मात्रै हो अब चै सबै खेलाडी जसलाई हामिले साथ दिएका छौ उनीहरुले प्रदर्शन गरेर देखाउने बेला आएको छ। उनीहरुलाई पनि थाहा छ आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकिरहेका छैनन्, युवा खेलाडीहरुले उनीहरुलाई उछिन्दै छन्”

“इमान्दार भएर भन्छु, केहि खेलाडीहरुको लागि यो अन्तिम अवसर हो आफुलाई प्रमाणित गर्ने र उनीहरुले मैदानमा रन, विकेट बनाउदै प्रमाणित गर्नुपर्नेछ”

बिनोद भण्डारी लामो समय देखि खराब फर्ममा देखिएका छन्

युएई भ्रमणमा नेपालले ४ वटा खेल खेल्नेछ जसमा टिमले नयाँ प्रयोग गर्ने योजना बनाएको उनले खुलाए। भ्रमणमा २ जना अतिरिक्त खेलाडी कुशल भुर्तेल र अनिल शाहलाई समेत समाबेश गरिएको जसलाई अभ्यास खेलमा मौका दिने उनले बताए-

“अवसर छ टिममा प्रयोग गर्ने त्यसैले १६ खेलाडी लागिरहेका छौँ। हामी अवस्य पनि २ वटा खेल सबैलाई खेलाउनेछौ, ब्याटिंग अर्डर र अरु कुरामा बिभिन्न कुरा प्रयोग गर्नेछौ”

गत महिना हंगकंगसंग च्याम्पियनसिपको छैठौ चरणको खेलमा पराजय बेहोरेको नेपाल डिभिजन-२ मा रेलिगेट भएको थियो। हंगकंगले दिएको १९५ रनको लक्ष पछ्याउने क्रममा १११ रनमै सबै विकेट गुमाई ८३ रनले पराजित हुने क्रममा ब्याटिंगको आलोचना भएको थियो।

पछिल्लो समय नेपालको खराब नतिजाको कारण आलोचना भएको र जितेर त्यसलाई ठिक पार्ने विश्वास पारसले ब्यक्त गरे –

“टिमको आलोचना तब हुन्छ जब टिम हार्छ, जित्दा सबै राम्रो देखिन्छ। जित्दा पनि धेरै कुराहरु थियो हामीले राम्रो गरिरहेका थिएनौ। अहिले रिजल्ट राम्रो नभएको भएर प्रश्न आएको हो जुन स्वीकार गर्नेपर्छ-

“मलाई आशा छ, आगामी दिनमा सबैलाई खुसि पार्नेछौं र यदी आलोचना गर्नुहुन्छ भने वहाँहरुलाई पनि महसुस गराउछौं, जब जित्छौ सबै ठिक हुन्छ”

च्याम्पियनसिपको अन्तिम चरणको खेलमा युएईलाई पराजित गर्दै जति सक्दो अंक धेरै बटुली तालिकाको माथि रहने प्रयास गर्ने टिमको लक्ष रहेको पारस बताउछन्। नामिबियामा फेब्रुअरीमा आयोजना हुने डिभिजन-२ मा राम्रो गर्ने पर्ने दबाब रहेको उनले ब्यक्त गरे-

“डिभिजन-२ मा राम्रो नगरे नेपाली टिमको लागि ठुलो क्षति हुनेछ, हामी छनौट हुनैपर्छ। जति खेलाडीहरु छन् सिनियर जुनियर सबैले प्रदर्शन गर्नुपर्छ। राम्रो गरेनौ बने ४-५ बर्ष पछि धकेलिनेछौ”

“हाम्रो लागि ठुलो अवसर हो ४ वटा अन्तर्राष्ट्रिय खेल पाएका छौ डिभिजन-२ अगाडी। राम्रो खेल्नै पर्छ, जित्नैपर्छ, राम्रो क्रिकेट खेल्ने च्यालेन्ज छ, सबै खेलाडीले बुझेका छन्”

नेपाली टिमको नेतृत्व युवा खेलाडीले गर्ने बेला आएको जसले पुराना खेलाडीहरुलाई प्रतिस्थापन गर्नुपर्ने धराणा पारसले ब्यक्त गरे-

“जति पनि ५-६ जना सिनियर खेलाडीहरु छौ धेरै खेलीसकेका छौ र अब युवा खेलाडीहरुले उछिन्ने पालो आएको छ, जिम्मेवारीको हिसाबले , ब्यक्तित्वको हिसाबले काम गरिरहेका छौ”

जगत टमाटा

प्रशिक्षक जगत टमाटाले पनि कप्तान पारसको भनाइमा सहमति जनाउदै केहि खेलाडीको लागि यो प्रमाणित गर्ने अन्तिम मौका रहेको प्रतिक्रिया दिएका छन्-

“हामीले अनुहार हेर्नेवाला छैनौ, प्रदर्शन महत्वपूर्ण छ, जसले राम्रो प्रदर्शन गर्छ उसले मौका पाउनु पर्छ”

हंगकंग जानु अघि बिनोद भण्डारीमा जुवा खेलेको प्रतिक्रिया दिएका टमाटाले आफ्नो बिश्वासमा भण्डारीले न्याय गर्न नसकेको स्वीकारे-

“हो बिनोद भण्डारीले गर्न सक्छ कि भन्ने बिश्वास थियो, १९० को लक्ष ठुलो थिएन उनले ( बिनोदले ) आफ्नै नम्बरमा ब्याटिंग गरेका थिए, उसले आफ्नो जिम्मेवारी लिएर खेल्नुपर्ने हो त्यहाँनेर उसले प्रदर्शन गर्न सकेनन्। अबचै कसैले प्रदर्शन गर्न सकेन भने टिममा अवस्य परिवर्तन हुनेछ।”

बिनोदतर्फ इंगित गर्दै टमाटाले उनिमाथि बिश्वास भएका कारण मौका दिईरहेको बताए-

“कुनै खेलाडी माथि विश्वास हुन्छ जस्तोकि पारस, पारस अझै ८-१० बर्ष खेल्न सक्छन् तर उनले कुनै बेला प्रदर्शन गर्दैनन् भने उनलाई टिमबाट कसैले पनि निकाल्दैनन्। विश्वास भइरहेको हुन्छ कि उसले फिनिस राम्रो गर्छ भनेर जस्तो कि शरद। तर अब चै गाह्रो छ”

तपाईले विश्वास गर्नु भएको खेलाडीको लागि यो प्रतियोगिता प्रमाणित गर्ने अन्तिम मौका हो त भन्ने प्रश्नमा प्रशिक्षक टमाटाले त्यसमा कुनै पनि दुईमत नरहेको प्रतिक्रिया दिए।

युएईसंग खेल्ने नेपाली टिम –

पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, सागर पुन, बिनोद भण्डारी, करन केसी, शक्ति गौचन, ललितसिंह भण्डारी, आरिफ शेख, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ

नोट – अमेरिका र केन्यासंग कुशल भुर्तेल र अनिल शाह टिमसंगै युएई प्रस्थान

बैल्पिक खेलाडी – सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, अनिल शाह

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]