एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

२०८२ असार २३, सोमबार २२:१६

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट लिग २०२५ को उपाधि एलपी आरसीबीले जित्न सफल भएको छ ।

काठमाडौं बुढानीलकण्ठ स्थित रोयल स्पोर्ट्स पार्कमा तीन दिनसम्म चलेको यो रोमाञ्चक प्रतियोगिता अन्तर्गत एलपी आरसीबीले आइतबार सम्पन्न फाइनल खेलमा सिड च्यालेन्जर्स लाई पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो । विजेता एलपी आरसीबीले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।उपविजेता सिड च्यालेन्जर्सले ३० हजार नगद, मेडल र ट्रफी हात पार्न सफल भयो ।

फाइनलमा एलपी आरसीबीले दिएको १०६ रनको लक्ष्य पछ्याएको सिड च्यालेन्जर्सले ९.१ ओभरमा ६७ रनमा सबै ६ विकेट गुमायो।

एलपी आरसीबीको जितमा ब्याटिंगतर्फ आश्रय बस्नेतले अविजित रहँदै सर्वाधिक ४२ तथा अब्दुल रशिदले ३९ रन बनाए भने बलिंगतर्फ प्रशान्त मिश्राले ४ विकेट तथा गणेश यादवले २ विकेट लिए।

एलपी आरसीबीका आश्रय बस्नेत प्रतियोगिताकै उत्कृस्ट खेलाडी तथा उत्कृस्ट ब्याटर समेत घोषित भए। उत्कृस्ट बलर सीसीए इलाइट एटका रोशन भट्ट घोषित भए।

१६ टोली सहभागी यस प्रतियोगिता सिड फाइनान्सियल एकेडेमीद्वारा आयोजना गरिएको हो । एसिसिए विश्वव्यापी रूपमा मान्यता प्राप्त चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट योग्यता प्रदान गर्ने एक अन्तर्राष्ट्रिय व्यावसायिक लेखा संस्था हो । यसले विद्यार्थीहरूलाई वित्त, लेखा र व्यवसाय व्यवस्थापन क्षेत्रमा आवश्यक दक्षताहरू प्रदान गरी उत्कृष्ट करिअर बनाउन तयार पार्दछ ।

नेपालसहित विश्वका १८० भन्दा बढी देशहरूमा एसिसिएका सदस्यहरू रहेका छन्, जसले विद्यार्थीहरूलाई विश्वव्यापी रूपमा अवसर प्रदान गर्दछ । यसको उच्च गुणस्तरीय पाठ्यक्रमले सदस्यहरूलाई व्यावसायिक ज्ञान, सीप र नैतिकताको उच्चतम मापदण्डमा सक्षम बनाउँछ ।

एसिसिए अध्ययनरत विद्यार्थी, प्रशिक्षक, र कर्पोरेट संस्थाबीच आपसी सम्पर्क र सहकार्य बढाउने, खेलमार्फत टीम भावना, अनुशासन, नेतृत्व सीप र स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । यस प्रतियोगिताको शीर्ष प्रायोजक युकेमा आधारित प्रतिष्ठित लेखा तथा परामर्शदाता संस्था एजीके पार्टनर्स रहेको थियो ।

जसले नेपालमा पेशागत सीप विकासमा निरन्तर योगदान दिँदै आएको छ । प्रतियोगिता आषाढ २० देखि २२ गतेसम्म रोयल स्पोट्र्स पार्क, बूढानीलकण्ठमा सम्पन्न भएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy