एलपीएल : लोटस आई र होलि फेमिली विजयी 

२०७९ माघ २५, बुधबार १८:००

कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत पाँचौ दिन सम्पन्न दुईवटा खेलमालोटस आई स्कुल अत्तरिया र होलि फेमिली स्कुल महेन्द्रनगर विजयी भएका छन्।

दिनको पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले शारदा निकेतन तारानगरलाई ७७ रनले पराजित गर्यो।

लोटस आईले दिएको १८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतनले १८.१ ओभरमा १०५ रनमा सबै विकेट गुमायो।

लोटस आईको बलिंगमा देब्रे हाते स्पिनर नरेन साउदले ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा २ मेडन ओभर राख्दै १७ रन खर्चिए। सन्तोष बिजलीले २ तथा विरेन्द्र नाथ र सुरेश रिजालले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको लोटस आईले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १८१ रन बनायो।

लोटस आईको लागि योगेश भाटले सर्वाधिक ३८ रन बनाए भने आयुब चन्दले ३४, लकी कडायत र नरेन साउदले समान २६ अठा प्रदिप चन्दले २२ रन बनाए। पाँचौ विकेटको लागि योगेश र नरेनले ६ ओभरमा ७४ रनको साझेदारी गरे। शारदा निकेतनका बलर नागराज सिंह, अशोक धामी, दिपक रोकाया र राजेन्द्र साउदले १/१ विकेट लिए।

दिनको दोश्रो खेलमा होलि फेमिली स्कुल महेन्द्रनगरले नव बल बाटिका स्कुल कैलालीलाई ३ विकेटले पराजित गर्यो।

नव बल बाटिकाले दिएको ११६ रनको लक्ष्य होलि फेमिलीले ७ विकेट गुमाएर १८.३ ओभरमा भेटायो।

होलि फेमिलीको ब्याटिंगमा राहुल भण्डारीले सर्वाधिक २६ रन बनाए भने बिरेन बम र अरुण रानाले समान २३ रन बनाए। यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका नव बल बाटिका स्कुलका बलर प्रकाश जैसीले ४ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन।

यस अघि टस जितेर ब्याटिंग गरेको नव बाल बाटिकाले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ११५ रन बनायो। उसको लागि रौनक श्रीवास्तवले सर्व्धिक २९ रन बनाए। यस्तै बिराट सिंह भण्डारीले २१, रिजन थापाले १३ तथा गजेन्द्र बोहराले १२ रन बनाए।

होलि फेमिलीका बलर प्रेम ठकुराठीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए। नेहाल दमाई, बिरेन बम, राहुल भण्डारी र सन्तोष बिस्टले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत बिहिबार दुई खेल हुने छन्। दिनको पहिलो खेलमा विहान ९ बजे भुवनेश्वरी विद्या मन्दिर र सैनिक आवासीय महाविद्यालय कैलाली तथा दोश्रो खेल दिउँसो १ बजे लिटल फ्लावर स्कुल र वेस्टर्न क्रिस्टल बीच हुनेछ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy