काठमाडौं । श्रीलंकामा आईतबार सम्पन्न पाँचौ संस्करणको लंका प्रिमियर लिग (एलपीएल) मा गाल मार्भसलाई हराउँदै जाफ्ना किंग्स चौथो पटक च्याम्पियन भएको छ ।
कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा रिली रोसोउको शतक प्रेरित जाफ्नाले गाललाई ९ विकेटले पराजित गरेको हो ।
गालले दिएको १ सय ८५ रनको लक्ष्य जाफ्नाले १५ दशमलब ४ ओभरमा १ विकेट गसमाएर पूरा गर्यो ।
जाफ्नाका लागि रिली रोसोउले ५३ बलमा ९ चौका र ७ छक्काको सहयोगमा अविजित १ सय ६ रनको शतकीय ईनिङ खेले । कुशल मेन्डिसले ४० बलमा ८ चौका र २ छक्काको सहयोगमा अविजित ७२ रनको अर्धशतकीय ईनिङ खेले ।
पहिलो बलमा विकेट गुमाएर केही दबाबमा आएको जाफ्नाको लागि रोसोउ र मेन्डिसले दोस्रो विकेटका लागि सानदार विजयी साझेदारी गरेका थिए ।
गालेका लागि डिवान प्रिटोरियसले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गालेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
गालेका लागि भानुका राजापाक्षेले ३४ बलमा ८ चौका र ६ छक्काको सहयोगमा ८२ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । टिम साइफर्टले ३७ बलमा ४७ रन बनाए ।
जाफ्नाका लागि आसिथा फर्नान्डोले तीन तथा जेसन बेहरानडर्फले दुई विकेट लिए ।
चौथो संस्करणमा चौथो नै भएको जाफ्ना त्यस बाहेकका हरेक संस्करणमा च्याम्पियन हुदै आएको छ ।