एलपीएल : फर्नान्डोले शानदार ब्याटिंग गर्दा जाफ्नाको जित

२०७७ मंसिर १३, शनिबार ०७:३६

अभिस्का फर्नान्डोले शानदार ब्याटिंग गर्दा लंका प्रिमियर लिगको दोश्रो खेलमा थिसारा परेरा कप्तानीको जाफ्ना स्टालिएन्सले विजयी सुरुवात गर्ने क्रममा शहिद अफ्रिदी कप्तानीको गाले ग्ल्याडीएटर्सलाई पराजित गरेको छ।

महिन्दा राजापाक्षे स्टेडियम, हम्बनटोटामा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको गालेले दिएको १७६ रनको लक्ष्य जाफ्नाले १९.३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्दै ८ विकेटको जित दर्ता गरेको हो।

जाफ्नाको जितमा ओपनर अभिस्का फर्नान्डोले अविजित ९२ रनको शानदार इनिंग खेले। उनले ६३ बलमा ५ चौका र ७ छक्का हिर्काए।

मिनोद भानुका र टम मुर्स समान १८ रन बनाएर आउट भएपछि फर्नान्डोले तेश्रो विकेटको लागि शोयब मलिकसंग अविजित ११० रनको साझेदारी गरेका थिए। मालिकले ३१ बलमा २७ रन बनाए।

यस अघि गालेले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो। कप्तान शाहिद अफ्रिदीले मात्र २३ बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै सर्वाधिक ५८ रन बनाएका थिए। दनुस्का गुनथिलाकाले ३८, भानुका राजापाक्षेले २१, एजम खानले २० रन योगदान दिए।

जाफ्नाको बलिंगमा दक्षिण अफ्रिकी फास्ट बलर डुएन ओलिभरले ४४ रन खर्चेर ४ विकेट लिएका थिए। वानिन्दु हसरंगाले २ तथा थिसारा परेराले १ विकेट लिए।

लिग अन्तर्गत शनिवार २ वटा खेल हुँदैछन्। ३:४५ बजे दिउसो हुने खेलमा क्यान्डी टस्कर्स र दाम्बुला भाइकिंग तथा ८:१५ बजे सुरु हुने खेलमा गाले ग्ल्याडीएटर्स र कोलोम्बो किंग्सले प्रतिस्पर्धा गर्नेछन्।

कोलोम्बोले पहिलो खेलमा क्यान्डीलाई सुपर ओभरमा पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy