सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा

२०७७ आश्विन २२, बिहीबार ०७:५६

नोभेम्बर २१ देखि श्रीलंकामा सुरु हुने पहिलो संस्करणको लंका प्रिमियर लिग टि-२० को ड्राफ्टमा दुई नेपाली खेलाडी सन्दिप लामिछानेसंगै सुनम गौतमले पनि स्थान पाएका छन्।

नोभेम्बर २१ देखि सुरु हुने लिगको ‘खेलाडी ड्राफ्ट’ अक्टोबर ९ तारिख, शुक्रबार आयोजना हुनेछ। यस अघि नोभेम्बर १४ देखि सुरु हुने बताईएको लिग नोभेम्बर १० सम्म चल्ने आईपीएलमा सहभागी हुने खेलाडीहरुलाई मध्यनजर राखेर सारीएको हो। १५ दिन चल्ने प्रतियोगितामा कुल २३ खेल खेलिनेछ। लिगको आयोजना श्रीलंका क्रिकेट बोर्डले गर्दैछ जसको व्यवस्थापन द आईपीजी ग्रुपले गरिरहेको छ।

कोलोम्बो लायन्स, दम्बुल्ला हक्स, गाले ग्ल्याडीएटर्स, जाफ्ना कोब्राज र क्यान्डी टस्कर्स गरि लिगमा ५ टिमहरु सहभागी रहेका छन् जसको नाम श्रीलंकाको बिभिन्न सहरबाट राखिएको छ। ५ टिमको आइकन खेलाडीहरु लासिथ मालिंगा, एन्जेलो म्याथुज, थिसारा पारेरा, दासुन शनाका र कुशल परेरा रहेका छन्।

विकेटनेपाललाई प्राप्त भएको खेलाडीहरुको ड्राफ्टको सूचीमा श्रीलंका बाहिरका २ सय ७१ जना खेलाडीहरु रहेका छन्। यस्तै श्रीलंकाका कुल १६५ खेलाडीहरु गरि कुल ४३६ जना खेलाडीहरु ड्राफ्टमा सूचिकृत छन्। १२ टेस्ट राष्ट्र बाहेक ड्राफ्टमा नेपालका सहित, क्यानडा, स्कटल्याण्ड, हंगकंग, नेदरल्याण्ड, ओमानका खेलाडीहरु पनि रहेका छन्। भारतका समेत ९ जना खेलाडीहरु ड्राफ्टमा छन्।

ड्राफ्टको ३० औं नम्बरमा सुनम गौतम रहेका छन् भने १०३ औं नम्बरमा सन्दिप लामिछाने रहेका छन्।

खेलाडीहरुलाई क्लासिक, डायमण्ड, गोल्ड, इमर्जिंग र आइकन गरि वर्गीकरण गरिएको छ जसको मूल्य १५ हजार डलर देखि ६० हजार डलरसम्म रहेको छ।

सन्दिप ‘डायमण्ड’ श्रेणीमा रहेका छन् जसको मूल्य ५० हजार देखि ५९,९९९ डलर रहेको छ। यो श्रेणीमा सन्दिपसंगै बंगलादेशका मुस्फिक्कुर रहिम, इंग्ल्यान्डका रभी बोपारा, पाकिस्तानका मोहम्मद हफिज र शोयब मलिक, वेस्टइन्डिजका डेरेन सामी, इंग्ल्यान्डका लुक राइट जस्ता खेलाडीहरु रहेका छन्।

यस्तै सुनम गौतम ‘क्लासिक’ श्रेणीमा रहेका छन् जसको मूल्य १५ हजार देखि २४,९९९ डलर रहेको छ। यो सूचीमा अफगानिस्तानका नजिबुल्लाह जद्रान, गुल्बदीन नैब, अस्घर अफ्घान, स्कटल्याण्डका कायल कोट्जर, हंगकंगका बाबर हयात, एजाज खान, भारतका प्रभिन ताम्बे, प्रज्ञान ओझा र मनप्रित गोनी, जिम्बाब्वेका सिङ विलियम्स र क्रेग इर्भिन जस्ता खेलाडीहरु रहेका छन्।

सहभागी ५ टिमले ड्राफ्टबाट ६ जना श्रीलंका बाहिरका खेलाडीहरु लिन पाउनेछन्।

पहिलो पटक विदेशी टि-२० लिगको ड्राफ्टमा स्थान बनाएका सुनम गौतमले विकेटनेपालसंग कुरा गर्दै उत्साह व्यक्त गरेका छन्। उनि एजेन्टमार्फत ड्राफ्टमा नामांकित भएका गौतमको सन्दिप लामिछानेसंगै एकै टिममा खेले चाहना रहेको छ-

“ड्राफ्टमा मौका पाउदा खुसि लागेको छ। सन्दिप लामिछानेसंगै एकै टिममा खेल्ने इच्छा रहेको छ।” उनले बताए।

सन्दिप विदेशी टि-२० लिगमा छनौट हुने कुरा नौलो छैन तर पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका गौतमलाई टिमहरुले कतिको महत्व दिनेछन् हेर्नलायक हुनेछ। यस अघि सन्दिप बाहेक विदेशी लिगहरुमा सोमपाल कामि र पारस खड्काले मात्र मौका पाएका छन्। सोमपाल गत सिजन ग्लोबल टि-२० लिग तथा पारस युएई टि-१० लिगमा छनौट भएका थिए।

को हुन् सुनम गौतम 

गत महिना पूर्व अस्ट्रेलियन क्रिकेटर स्टुवार्ट म्याकगिलले बिग ब्यास खेल्नलायक खेलाडी भन्दै टिमहरुलाई लिन सिफारिस गरेपछि चर्चामा आएका सुनम लामो समय देखि अस्ट्रेलियाको घरेलु क्रिकेटमा सक्रिय छन्।

गौतम अलराउण्डर हुन् जो दायाँ हाते माथिल्लो क्रमका ब्याट्सम्यान हुन् भने अफस्पिन बलिंग गर्ने गर्छन्। उनि विशेष गरि आफ्नो ‘दुसरा’ बलको लागि चर्चित छन्। उनको दुसरा देखेर पूर्व अस्ट्रेलियन क्रिकेटर म्याकगिल प्रभावित भएका थिए। म्याकगिलले सुनमको दुसरा देखेपछि दुसरा बलका जन्मदाता सक्लेन मुस्ताक पछि उत्कृस्ट दुसरा बलर भनेर तारिफ गरेका थिए। एक प्रदर्शनी खेलको दौरान एकै टिममा रहेको बेला म्याकगिलले अभ्यासको क्रममा सुनमको बल पहिलो पटक देखेका थिए।

“मैले म्याचमा वहाँले भने जस्तै बलिंग गरे। मैले बलिंग गर्दा म्याकगिलले अम्पायरको नजिक आए तथा बिभिन्न साइडबाट नियालेर हेर्नु भयो। बलिंग गरिसकेपछि वहाँले मेरो दुसरा सक्लेन मुस्ताक पछि देखेको सबैभन्दा राम्रो दुसरा भन्दै तारिफ गर्नुभयो।” गौतम बताउछन्। त्यसपछि म्याकगिलले ट्वीटरमा गौतमको खुलेर तारिफ गरेका थिए।

नेपालको १७ वर्ष मुनि र १९ वर्ष मुनि राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका गौतम २०१२ मा नेपाली राष्ट्रिय टिमको बन्दसत्रमा रहेका थिए। बन्दसत्रमा रहेको बेला उनि नेपाल छोडेर अस्ट्रेलिया पुगेका थिए। उनले सन् २००५ मा नेपालको यु-१७ टिमबाट खेलेका थिए भने २००७ मा नेपाली यु-१९ टिममा स्थान बनाएका थिए। उनले २००९ मा मेरेलेबोन क्रिकेट क्लबको नेपाल भ्रमणमा नेपाल क्रिकेट संघ-११ बाट समेत खेलेका थिए।

अस्ट्रेलिया पुगेपछि त्यहाँ अस्ट्रेलियाको भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजबाट पहिलो लेभेलको क्रिकेट खेल्ने सुनम ४ वर्ष त्यहाँ खेलेपछि गत वर्ष देखि साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेट खेल्दै आएका छन्। त्यहाँ उनि ‘साउथर्न डिस्ट्रिक’ क्लब देखि खेल्दै आएका छन्। टिमको प्रशिक्षक वेस्टइन्डिजका पूर्व स्टार क्रिकेटर कार्ल हुपर रहेका छन्।हुपरले वेस्टइन्डिजकको लागि १०२ टेस्ट र २२७ वानडे खेलेका थिए।

सुनम खेल्ने साउथ अस्ट्रेलिया प्रिमियर क्रिकेटमा एडम जाम्पा, ट्राभीस हेड, केन रिचर्डसन जस्ता खेलाडीहरु समेत खेल्ने गरेका छन्।

Sunam Gautam ( Photo Source – Sunam Facebook )

२ वर्ष अघि सुनमले भिक्टोरियन प्रिमियर लिग क्रिकेटमा ग्रिन्भेल कंगारुजबाट शतक बनाउदै अस्ट्रेलियाको घरेलु क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका थिए। त्यसैवर्ष उनलाई बिग ब्यास टिम मेलबर्न स्टार्सले ट्रायलको लागि बोलाएको थियो।

गौतम नेपालमा हुने प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग जस्ता प्रतियोगिताहरुमा सहभागी हुँदै आएका छन्। अस्ट्रेलियाको पीआर पाइसकेका गौतमले नेपालको लागि खेल्ने चाहना रहेकोले त्यहाँको नागरिकता भने लिएका छैनन्।

“मेरो पहिलो प्राथमिकता नेपालनै हो म नेपालको लागि खेल्न चाहन्छु। म अस्ट्रेलियामा लगातार खेल्दै आएको छु र नेपालले यहाँको जस्तै कन्डीसन भएको देशहरुमा खेल्न जाँदा म उपयुक्त खेलाडी हुनसक्छु। अस्ट्रेलियाको नागरिक हुने योग्यता भएता पनि नेपालको लागि खेल्ने मेरो चाहना हुँदा पीआर पाए पनि नागरिकता भने लिएको छैन।” विकेटनेपालसंग गत महिना कुराकानीमा गौतमले बताएका थिए।

बिग ब्यास टिममा लिन स्टुवार्ट म्याकगिलको सिफारिसले सुनम उत्साहित

IPL : अन्तिम-११ मा मौका कुरीरहेका ६ ठूला खेलाडीहरु

‘युनिभर्स बोस’ गेलले कहिले पाउनेछन् मौका ? ब्याटिंग प्रशिक्षक जाफरले दिए अपडेट

सहज थिएन स्टोक्सको युएई यात्रा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy