एलपीएलको इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड

कैलालीको धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को इन्स्योरेन्स पार्टनर अजोड इन्स्योरेन्स लिमिटेड रहने भएको छ ।

विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगको इन्स्योरेन्स पार्टनरको रूपमा सुनधारा काठमाडौँमा प्रधान कार्यालय रहेको अजोड इन्स्योरेन्स रहने भएको हो ।

प्रतियोगितामा इन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि शाहीले विद्यालय स्तरीय उमेर समूहको क्रीकेट खेललाई प्रवर्द्धन गर्ने र देशव्यापी बनाउने अभियानमा सहकार्य गरे भन्दै अजोड इन्स्योरेन्स लिमिटेड प्रति आभार प्रकट गरे ।

अजोड इन्स्योरेन्सले स्वास्थ्य पारिवारिक बिमा मार्फत सामान्य रोग देखि घातक रोगहरूसम्मको उपचारार्थ बिमीतहरूलाई सहयोग गर्दै आएको छ ।

प्रतियोगिताको यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङ्लिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसै गरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् ।

लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy