एलपीएल : अंकित सुबेदीले बिष्फोटक ब्याटिंग गर्दा व्हाइट हाउसको जित

२०७५ मंसिर २, आईतवार १९:३३

धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिगमा आइतवार सम्पन्न खेलमा हिमालयन व्हाइट हाउस स्कुल र लिटिल बुद्धले जित दर्ता गरेका छन्। जितसंगै दुबै टोलि सेमिफाइनल प्रवेश गरेका छन्।

प्रतियोगिता अन्तर्गत दिनको पहिलो खेलमा लिटल बुद्ध क्रिकेट एकेडेमीले मोक्षदा स्कुल काठमाडौंमाथि ८२ रनको जित दर्ता गर्यो। यस्तै आइतवारनै सम्पन्न दोस्रो खेलमा हिमालयन व्हाइट हाउस काठमाडौंले कैलाली मोडल स्कुलमाथि ११० रनको फराकिलो जित निकाल्न सफल भयो। आइतवार पराजित बनेका दुबै टोलि प्रतियोगिताबाट बाहिरिएका छन्।

आइतवार सम्पन्न पहिलो खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको लिटिल बुद्ध एकेडेमीले निर्धारति २० ओभरमा ७ विकेट गुमाएर १७८ रनको योगफल तयार गरेको थियो। लिटिल बुद्धको इनिंगमा रोशन साउद र सुशील खड्काले समान ४६-४६ रनको योगदान गरेका थिए। यस्तै खेलको प्लेयर अफ द म्याच चुनिएका हेमन्त कार्कीले ३० र नारायण जोशीले ब्यक्तिगत १८ रन जोडेका थिए।

मोक्षदाको बलिंगतर्फ सुबोध ढुंगेलले सर्वाधिक ३ विकेट हात पारेका थिए। यस्तै बिपिन खत्री र रोशन पुलामी मगरको नाममा समान १-१ विकेट रहेको थियो।

जवाफमा १७९ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको मोक्षदा स्कुलले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा ८१ रन मात्र जोड्न सक्यो। मोक्षदाको चेजमा सन्दिप बिष्टले सर्वाधिक ३४ रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहेन। यस्तै रोशन पुलामी मगरले अविजित २५ रन जोडे।

लिटिल बुद्धको बलिंगतर्फ बिबेक यादव र रोचक ऐरले समान २-२ विकेट चट्काए। यस्तै हेमन्त धामी र हेमन्त कार्कीको नाममा सामना १-१ विकेट रह्यो।

अंकित सुबेदीको बिष्फोटक ब्याटिंगमा हिमालयन वाईट हाउसको जित :

प्रतियोगिता अन्तर्गत आइतवारको दोस्रो खेलमा काठमाडौंको हिमालयन व्हाइट हाउस स्कुलले कैलालीको कैलाली मोडल स्कुलमाथी ११० रनको सहज जित दर्ता गर्यो। वाईट हाउसको जितमा बिष्फोटक ब्याटिंग गर्दै ७६ रन जोडेका अंकित सुबेदी प्लेयर अफ दि म्याच घोषित भए।

टस जितेर ब्याटिंगमा उत्रिएको व्हाइट हाउसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन जोडेको थियो। व्हाइट हाउसको इनिंगमा    अंकित सुबेदीले सर्वाधिक ७६ रन (४३ बल, १० चौका, २ छक्का) तथा फिर्दोश अन्सारीले सर्वाधिक ३२ रनको योगदान गरेका थिए।

अंकित सुबेदी ( फाइल फोटो )

कैलाली मोडलको बलिंगतर्फ कैलाश खत्रीले सर्वाधिक ३ विकेट हात पारेका थिए। यस्तै अजय बिष्ट र सुबोध ऐरको नाममा समान १-१ विकेट रहेको थियो।

जवाफमा १७० रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको कैलाली मोडल निर्धारित २० ओभरमा ९ विकेट गुमाउंदै ६९ रनमा रोकियो। उसको चेजमा सुबाश ऐरले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

वाईट हाउसको बलिंगमा फिर्दोश अन्सारी, अमृत सिंह र सुशान्त सिंहले समान २-२ विकेट हात पारे।

आइतवारको खेलहरु संगै प्रतियोगिताको सेमिफाइनल समिकरण समेत पुरा भएको छ। सोमबारहुने अन्तिम-४ का खेलहरुमा सिदार्थ शिशुसदन, लिटिल फ्लावर स्कुल, लिटिल बुद्ध एकेडेमी र हिमालयन वाईट हाउस भिड्ने छन्। प्रतियोगिताको फाइनल  खेल मङ्सिर ४ गते खेलिनेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy